शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा



२८ जेठ २०७५, सिङ्गापुर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुगेका छन् ।

उनीहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

शिखर वार्तामा सहभागिताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिङ्गापुरतर्फ लागेदेखि नै विश्वका मिडियाले उनीहरुको समाचारलाई बडो प्राथमिकता दिएका छन् । त्यसपछि उनी सिङ्गापुर पुगेपछि यो ठूलो समाचार बनेको छ ।

यस वार्ताका अर्का प्रमुख पात्रका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परेका छन् । उनी पनि आइतबार नै सिङ्गापुर पुगेका थिए ।

उनीहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय बढी केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ, यद्यपि दुवै तर्फबाट वार्ताको एजेण्डा भने आएको छैन ।

यही नै प्रमुख मुद्दा हुनेछ भन्ने अनुमान धेरैलाई छ । जसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शान्तिका लागि ‘एक पटकको प्रयास’ भनेका छन् । पहिलो प्रयासले नै धेरै कुरा देखाउने उनको पहिल्यै देखिको भनाई आएको छ ।

कोरियाली प्रायद्वीपमा हाल युद्धविराम छ । लामो समयदेखि घोषणा गरिएको यो युद्धविरामलाई दिगो रुपमा नै शान्तिमा परिणत गर्ने प्रयत्न अमेरिकाको हुने पनि उनको भनाई आएको छ ।

उनले त्यहाँ पुगेपछि सिङ्गापुरको प्रसंशा गरेका थिए । यदि सम्मेलन सफल भयो भने दुई नेतालाई भेट गराउने सिङ्गापुरको प्रयास ठूलो र ऐतिहासिक बन्नेछ उनले भनेका छन् ।

उता अमेरिकी राष्ट्रपति ट्रम्प पनि क्यानाडामा जारी रहेको औद्योगिक राष्ट्रहरूको समूह जी–७ को बैठकमा सहभागी भएर आइतबार नै सिङ्गापुर आईपुगेका छन् ।

उनलाई स्वागत गर्न सिङ्गापुर वरिष्ठ अधिकारीहरु विमानस्थल पुगेका थिए । सिङ्गापुर अवतरण गरेपछिको अति संक्षिप्त कुराकानीमा ट्रम्पले सम्मेलनले कोरियाली प्रायद्धीप र सिंगो संसारलाई नै सकारात्मक सन्देश दिएको बताए ।

दुई नेतालाई फरक होटलमा राखिएको छ भने उनीहरुको बसाई वरिपरिको सुरक्षा नगरको अरु क्षेत्रको भन्दा थप र निकै नै कडा पारिएको अधिकारीहरुले बताएका छन् ।

उनीहरुबीचको महत्वपूर्ण शिखर वार्ता जुन १२ अर्थात् भोलि मङ्गलबार हुनेछ । वार्ताको सम्पूर्ण तयारी पूरा भएको सिङ्गापुर, अमेरिका र उत्तर कोरियाले बताएका छन् ।

उत्तर कोरियाको ‘सिङ्गापुर एजेण्डातयार

यसैबीच यस शिखर वार्ताका लागि उत्तर कोरियाले ‘सिङ्गापुर एजेण्डा’ तयार पारिएको जनाएको छ । तर सो एजेण्डामा के छ भन्ने बारेमा भने उसले केही बताएको छैन ।

तर सो एजेण्डामा विशेषतः उत्तर कोरियाले गर्दै आएको आणविक क्षेप्यास्त्रको उत्पादन र यसको परीक्षणको बारेमा समेटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्