साइकलयात्री पुष्करको सम्मानमा राज्यले एक थुङ्गा फूल समेत खर्चेन (भिडियो सहित)



१७ जेठ २०७५, काठमाडौं

मागेरै साइकलमा संसार घुमेका पुष्कर शाह दोलखाको मकैबारीमा जन्मिएका हुन् । सानैमा बुवा गुमाएका उनी जुजुले फेसबुकमा भनेझैं मागेरै संसारलाई जिते । भारतीय सेनामा कार्यरत रहँदा बुवाको निधनले उनको बाल्यकाल आम नेपालीे बालक झैं अभावबिच आमाको लालनपालनमा हुर्कियो ।

उच्च शिक्षा हासिल गरी प्रतिष्ठित पेशा अंगाल्ने सोच बनाएका पुष्करलाई फलामे ढोका मानिने एसएलसीको नतिजाले आश्चर्य चकित बनायो । उनी हाँस्दै भन्छन्,‘मेरो सर्टिफिकेट गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने खालको छ । किनकि मुश्किलले सातै ओटा विषयमा मेरो ३२ मात्रै आयो ।’ मेरो शैक्षिक प्रमाण पत्रले अरु विषय पढ्ने ल्याकत नराखेपछि शिक्षक नै बन्ने योजना बनाए ।

साथीसङ्गतले पिउन सिकेका पुष्कर काठमाडौँ पढाईका क्रममा साथीभाईसँग रमाइलोका लागि भट्टीमा जाने गर्थे । भट्टीबाट नै पुष्करले विश्व भ्रमण गर्ने योजना सुनाउँदा साथीहरुले जाँडको तालमा पुष्करे बौलायो भनेको समेत बताउँछन् ।

भट्टीमा आएको विश्व घुम्ने उनको योजना भित्रभित्रै दृढ बन्दै गयो, सोही दृढताका कारण उनले शिक्षक बन्ने रुचि नै बदले । संसार घुमेर फर्केपछि बिएड उतीर्ण गरेका सर्टिफिकेटको केही काम नहुने निश्कर्ष निकालेर आफूले प्राप्त गरेका सबै सर्टिफिकेट च्यातेर फालिदिए ।

क्याम्पस पढ्दै गर्दा ०४६ को जनआन्दोलनमा गोली खाएर धन्न बाँचेका थिए पुष्कर । देशको अस्थिर राजनीति र निरंकुश शासनको दमनले उनी आफैं हिंसाका विरोधी भए । विश्वभर शान्ति हुनुपर्छ त्यसको लागि आफूले साईकल यात्राको माध्यमलाई नै उपयुक्त ठम्याए । यही दृढताले ‘शान्तिका लागि विश्व साइकल यात्रा’ तय भयो ।

गौरीशंकर हिमाल पारीको संसार नदेखेकी आमाले उनलाई साईकल यात्राको लागि पठाउने कुरा सजिलो थिएन् । आमालाई फकाउनकै लागि काठमाडौं छोडी गाउँमा गएर आमासँगै १ बर्ष विताए । आमाको मन न हो ! पुष्करको दृढ अठोटको अगाडि आमा गलिन् र एक बर्षपछि विश्व घुम्ने अनुमति दिईन् ।

विश्व साईकल यात्राको पहिलो दिन आमाबाट आशिर्वाद र एक सय रुपैंया बाटो खर्च लिएर दोलखाबाट नायिका शर्मिला मल्लले किनिदिएको साईकल हाक्दै ५५ किमि पार गरी सिन्धुपाल्चोकको खाडीचौरमा बास बसे ।

पुष्करको विश्व यात्राको सपना संसारका हजारौं बस्तीहरु छिचोल्दै १५० देशका भूमिमा तितामिठा अनुभूति संगाल्दै टुङ्गियो । विश्वका सातै आश्चर्यलाई देख्ने र छुने मौका पाएका उनी संसारकै लामो नाईल नदीको पानी पिउँदा पनि तृप्त नभएर, विश्वकै सर्वाेच्च शिखर सगरमाथा भन्दा अग्लो भई ४५ मिनेट विताउँदै करिब ११ वर्षको विश्व साइकल यात्रालाई टुङ्गयाए ।

भ्रमणको सिलसिलामा ३८ भाषाका २००० भन्दा बढी पत्रपत्रिकामा आफैं छापिएको प्रमाण उनीसँगै संग्रहित छ । त्यतिमात्र होइन सयौं टेलिभिजन र रेडियोमा अन्तरवार्ता दिएका पुष्करले आफ्नो यात्राको बारेमा संयुक्त राष्ट्रसंघको रेडियोमा २ पटक सम्म अन्तरवार्ता दिन पाए । उनी भन्छन्, ‘सम्भवत सबैभन्दा बढी भाषाका संचारमाध्यममा छाउने म एकमात्र नेपाली हुँ ।’

विश्व भ्रमणमा उनका अविस्मरणीय भेटघाटमध्ये प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारी र महिला आरोही जुनको ताइवेसँग बिताएका क्षणहरु, बेलायती महारानी एलिजावेथ अनि सयौं देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग उनीहरुकै देशमा गरेका भेटहरु यात्राका प्रेरणादायी स्रोत मान्छन् ।

उनी थप्छन्,‘न्युजिल्याण्डको अकल्याण्डमा साइकल चोरी भएको समाचार त्यहाँको राष्ट्रिय टेलिभिजनमा प्रशारण भएपछि सर एडमण्ड हिलारी आफैंले सम्पर्क गरे । हिलारीसँगको भेटमा उनले बोलेको नेपाली भाषा र आँगनदेखि चुलोसम्म प्रयोग भएका नेपाली सामग्रीहरु देख्दा पुष्करलाई नेपालीकै घरमा भएको अनुभूति भयो ।’

वीपी कोइराला र पारिजातको काल्पनिक यौनिकता पचाउने नेपाली समाजले विश्व भ्रमणपछि आफूले लेखेको ‘संसारलाई पाँच फन्को’ किताबमा समेटिएका वास्तविक यौनिकताका कथाहरु नपचाएको देख्दा अचम्म मान्छन् । साइकलमै विश्व घुमेका पुष्करले भ्रमणपछि नेपाल फर्किएर बुलेट बाइक चढे । देख्नेहरुले हिजोसम्म साइकलमा हिड्ने पुष्कर आज बुलेट चढ्ने भएछ भन्दै कुरा काट्न थाले । उनलाई लाग्यो, ‘साईकल नै मेरो पहिचान हो, म साइकल नै चढ्छु ।’ उनको साइकले जीवनप्रति मान्छेहरुले फेरी भन्न थाले,‘विचरा ! साइकलमा  विश्व घुमेको पुष्कर अहिले पनि साइकलमै रहेछ !’ विश्व बुझेका पुष्करलाई आफ्नै समाजको दृष्टिकोणप्रति आश्चर्य लाग्छ ।

जीवनप्रति आफ्नै दृष्टिकोण राख्ने पुष्कर भन्छन्, ‘चाँहे बिनोद चौधरी, पूर्वराजा ज्ञानेन्द्र वा पुष्कर शाह नै किन नहोस् हरेकको भेट साँझमा एक पाउ चामलसँग हुनेगर्छ ।’

यात्रामा युरोपियन देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरु साइकलमै हिडेको देखेका पुष्करले नेपालमा साईकललाई निम्न वर्गको साधन मान्ने गरेको बुझेका छन् । उनी हाँस्दै थप्छन्,‘मोटरसाईकल हुँदै गाडी र विलासी गाडीमा गुड्नेहरु आफ्नो पेट र शरीरमा बोसो बढाएर डाक्टर कहाँ पुग्छन् । डाक्टरको सल्लाह बमोजिम हेल्थ क्लब धाउने उनीहरुलाई क्लबको प्रशिक्षकले साइकलमै जिम गराएर फेरी साइकलमै फर्काउँछन् ।’ आखिर जीवन साइकल नै त हो !

पुष्कर अहिले दोलखामा बहिरा स्कूल चलाईरहेका छन् । ‘पुष्कर दाईको साइकल पसल’ खोल्ने उनको योजना आर्थिक अभावले पुरा हुन सकेको छैन । ‘संसारलाई पाँच फन्को’ मा समेट्न नसकिएका उनका कथाहरु अर्काे पुस्तकमा समेट्न लेखाईमै व्यस्त छन् अहिले उनी ।

धनाढ्यहरुसँग धेरै मोटरहरु भएझैं पुष्करसँग पनि ७ ओटा साइकल छन् । आम बुझाईभन्दा फरक रहेका उनका साइकलहरुमा विश्वकै महङ्गो फरारी साइकल समेत छ । फरारीको मुल्य ६ लाख रुपैंया पर्छ जुन उनी दैनिकजसो प्रयोग गर्छन् ।

रमाईला पुष्करका गहकिला धारणा

रक्सी कतिको पिउनुहुन्छ भन्ने प्रश्नमा खुलेर भन्छन्, ‘म सामाजिक जडिया हुँ, कसरी भने म रक्सी खाएर कसैलाई अपशब्द बोल्दिन, असर पुर्याउदिन, अर्काको कठालो समात्दिन, धेर खाएर हिलो सुत्दिन ।’

वियरका पारखी पुष्करले संसारका १८३० थरीका बियर चाखेको अनुभव सुनाए । उनी हाँस्दै भन्छन्,‘जसले बियर खाएन त्यसले जीवनमा एउटा चीज खानै पाएन ।’

विश्वका हजारौं हजार मानिसका जीवनशैली आफैंले देखेका र भोगेका पुष्कर जीवन के हो भन्ने प्रश्नमा ‘वर्तमान नै जीवन हो’ अर्थात Live in the moment भन्छन् ।

जीवनको देखाई र भोगाईबाट आनन्द लिने पुष्कर, कसैले सम्मान गर्ला र पुरस्कार देला भन्ने आशाले संसार नघुमेको बताउँछन् । तपाईलाई राज्यबाट केही आशा छैन भन्ने प्रश्नमा ‘हलो जोत्न गएको गोरुले त फर्केपछि घाँस पाउने अपेक्षा गर्छ भने म त मानिस हुँ । उनी गम्भीर हुँदै थप्छन् ‘मसँग राजनीतिक रङ नलाग्नु नै मेरो दुर्भाग्य हो ।’ तर आमाको काखमा बसेर देशको माटोमा बाँच्नुको मजै बेग्लै छ ।

विश्व घुमेका पुष्करलाई सयौं देशका सरकार प्रमुखहरुले सम्मान गरे । नेपाल राष्ट्रको राष्ट्रिय झण्डा बोकेर संसारलाई चिनाएका पुष्करलाई राज्यले अहिलेसम्म फूलको थुङ्गा समेत उपहार दिएको छैन ।

नयाँ संविधान बन्ने क्रममा चन्द्र सूर्य अंकित झण्डा फेर्ने आवाजले सबैभन्दा बढी पुष्करलाई दुखायो । उनी भन्छन्,‘सबैभन्दा धेरै राष्ट्रिय झण्डा बोकेर संसारलाई चिनाउने व्यक्ति सायद मै हुँ, झण्डा फेरिए सबैभन्दा बढी मलाई नै दुख्छ । उनले त्यो बेला बीबीसीका रबीन्द्र मिश्रलाई अन्तरवार्तामै यी कुरा बताएका थिए ।

उनको गम्भीरतामा हामीले प्रश्न गर्याै, यदि तपाई सरकार प्रमुख हुने हो भने पुष्कर जस्तो युवालाई के जिम्मेवारी दिनुहुन्थ्यो ? उनी हाँस्दै भन्छन्,‘म देशको पर्यटन मन्त्री बनाउथे ।’ यद्यपी सरकारले नागरिकता दिएर आफ्नो दायित्व पुरा गरेकोमा उनको कुनै गुनासो छैन ।

सारंगगेट्टीका फाँटहरु देखि इन्डिज पर्वतमालासम्म, कंगोका घना जंगलदेखि सुडानको बालुवाको भुमिसम्म, मृत सागरदेखि सगरमाथासम्म पटक–पटक मृत्युलाई छक्काएका पुष्कर शाहको संघर्षले हामीलाई प्रेरणा मात्र दिदैन् जीवन जिउने कलापनि सिकाउछ !

पुष्कर शाह एक साइकलयात्री र पर्वतारोही मात्र पनि हैनन् । उनी संसारभरिको पानी पिएर, संसारभरिको माटोको सुगन्ध बोकेर केहि मिनेट सगरमाथाभन्दा अग्लो बनेका जिउँदो इतिहास हुन् । संसारमा असफलता भन्ने कुरा केहिपनि छैन भन्ने प्रेरणादायी पुष्कर शाहको रोमाञ्चक कथालाई देशले बेच्न सक्नुपर्छ कि पर्दैन ?

राज्यको एक रुपैयाँ खर्च नगरी  साइकलको पाङ्ग्रामाथि जीवनका सुन्दर बैंशहरु घुमाउँदै नेपाल भन्ने देशलाई विश्व मानचित्रमा चिनाई हिड्ने विश्व विजेता साइकलेलाई राज्यले एक थुंगा फूल दिनुपर्छ कि पर्दैन ?

 

प्रतिक्रिया दिनुहोस्