त्याग, बलिदान र हजारौं रक्तविजबाट जन्मेको गणतन्त्र



१५ जेठ २०७५, काठमाडौं

प्रिय  गणतन्त्र

देवकी कार्की

कालको त्यो क्षीण जनआशा, अपेक्षा र भरोषाका बाबजुद सामन्ती व्यवस्था भित्रभित्रै तिमी गर्भमा हुर्कदै गर्दा दिन दुईगुना रात चौगुना जनताको नजरमा बेथिति, बिसङ्गती, भ्रष्टाचार, पछौटेपन र अन्यायपूर्ण सामाजिक संरचना तथा विभेदकारी राज्य ब्यबस्था जस्ता अनेक इल्ज एन्ड इभिल्जको अचूक औषधी तथा सुशासनको लागि रामवाण सम्झेर तिम्रो कल्पनामा बसेका हजारौं चेतनशील जनसमुदायको भरोषा बन्दै गईरहेका थियौ । सशक्त र हृष्टपुष्ट गणतन्त्र जन्माउने हेतु हरेक बस्ती र गाउँबाट तिम्रो सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै एक छाक अधुरो पेट खाएर आफ्नो जीवन उत्सर्ग गर्न पछि परेनन्–तिम्रा पुर्खाहरु ! बलिदानीको लाइनमा लामबद्ध भएर पनि तिमीलाई सकुशल जन्माउने सदिच्छा स्वरुप तिम्रो व्यग्र पर्खाइमा बसिरहेका बस्तीहरुमा जग्मगाएका जन सशक्तिकरण अभियान वा सचेतनामूलक जनसम्पर्कहरु जति थिए–केबल तिम्रो आगमनको सुन्दर प्रतीक्षामा । अझ भनौं तिमी हुर्कदै गरेको गर्भ लाई पर्खिरहेका प्रत्येक जनता, वर्ग, समुदाय, बस्ती अनि कैयन शुभेच्छुक बाहिरी जगत ।
तिम्रो नाम उच्चारण गर्दा मात्र कत्तिको सातो उड्ने गथ्र्याे, तिम्रो पक्षमा बहस र वकालत गर्नु कति कष्टपूर्ण थियो तिमी पनि अनुमान गर्न सक्छौं, यति अबुझ पनि छैनौं पक्कै । सोच्न मिलेन सोचियो, सैद्धान्तिक व्यवहारिक कठिनाई र सामन्ती संस्कार भित्र जकडिएको यस भूमिमा तिम्रो सकुशल अवतरण  र पालनपोषणको अठोटका साथ बिजारोपण भयो । जन्मभूमिको विकास र रक्षार्थ तिमी नै एक सार्थक समाधान हौ भन्ने चेतना जन मानसमा भर्दै तिम्रा लागि रित्तिएका कोखहरु, पुछिएका सिउँदोहरु, उजाडिएका जीवन तरङ्ग र उमङ्गहरु अनि गुमाइएका मातृवात्सल्यहरुको लाम देख्यौं भने पक्कै पनि एकछिन कण्ठाबरोधको सामना गर्नैपर्ने हुनसक्छ ।

तिम्रो बिजारोपणको सुँईको पाएको तत्कालिन शासकको सात्तोपुत्लो उडी, होसहवास गुमाउँदै गर्भ तुहाउने कसरतमा तल्लिन रह्यो । देश विदेशसम्म तिम्रो बारे गलत सन्देश प्रबाहित गर्न उद्दत रह्यो । तिम्रो आगमनको डर यतिसम्म बढेर गयो कि तत्कालिन शासक वर्गले तिम्रो वकालत गर्ने, तिम्रो पक्षमा बोल्ने, बिचार प्रकट गर्नेदेखि तिम्रो आगमनलाई सहज रुपमा लिनेहरु अराजक, देशद्रोही, आतंकवादी जस्ता अनेकौं मुद्दामा अति उत्पीडन गर्याे–जति वर्णन गर्दा नि नपुग्ला सायद शब्दाभावको कारण ।

हजारौं हजारको बलिदानी, बेपत्ता, घाइते अपाङ्ग र पिडितको योगदान, प्रयत्न र समर्पणको उपज हौ–तिमी । किसान, दलित, गरिब, सुकुम्बासी, हलिया, अल्पसंख्यक, पिछडिएका बर्ग, महिला अनि मूलधारमा आउन नसकेकाहरुको आशाको दियो भएर तिमी जन्मिदा सामन्तवादको अन्तिम कालो रातमा हामी सम्पूर्ण मुक्तिकामी जनताको आगनमा दीपावली मनाएको अझैं ताजै छ । त्यो दियो छ साक्षी, त्यो आँगन अनि ती झ्याउँकिरीको झ्याउँझ्याउँ जसले मुक्तिको दीपावलीमा मंगल धुन गाएर सामन्तवादको अन्तिम संस्कार गराएका थिए ।

गर्भरक्षाको खातिर प्रसब बेदनामा उत्सर्ग गरिएका हजारौ जीवनहरुकामाँझ रक्तबिजबाट जन्मेको प्यारो गणतन्त्र ! आज तिमी १० वर्ष पुग्नैलाग्दा तिमीसामु सानो गुनासो छ । ति जनता जसले तिमिलाई यहाँसम्म ल्याईपुर्याए उनीहरु जहाँको त्यही छन् तर आज तिमीलाई गर्भमै तुहाउन खोज्नेहरु तिमी माथि अधिकार जमाउँदैछन । हिजो तिम्रो नामोच्चारणमा अपवित्रता भेट्नेहरु आज तिमीसँगको साइनो यति नजिक बनाउँदैछन् कि मानौं तिमी उनकै सन्तान हौं । जसले तिम्रा हरेक पाइलामा काँडा रोपेर गन्तव्यहीन बनाउने चेस्टा गरेका थिए तिनै आज तिम्रो उत्तराधिकारी, जीवनरक्षक, पालनकर्ता, हिमायती वा ठेकेदार बनेको देख्दा हिजोका ती महानतम त्याग र बलिदानी गर्ने तिम्रा पूर्खाको, वास्तविक जीवन श्रष्टाको मनमा शंका र भय उत्पन्न भएको छ ।

शंका पनि किन नहोस गणतन्त्र ! एक बर्ग दलाली र तस्करीको पैंइताला चाट्दै अभिजात वर्गको भलाईमा तल्लीन भएर सत्तामा टिकिरहने प्रपन्चमा हुन्छ अर्कोतिर एक वर्ग दुई छाक हातमुख जोड्न हातका रेखाहरु मेटिन्जेल पसिना पोखिरहेको छ । तालुमा एकाध कपाल रहुन्जेल ज्यान भन्दा गरुङ्गो भारी मुनि पिल्छिएको छ । गरिबी र भोकमरीले आकाश छोएको छ ।  महङ्गीको भारले जनाताको टाउको उठ्नै नसक्ने गरी थिचिएको छ । बिचौलिया र कालाबजारीले यथेष्ट राजनीतिक संरक्षण पाएका छन् । बेरोजगारीले सिमा नाघेको छ । राजनीतिको उपल्लो तहमा आफन्त नहुनेहरुको निधारमा खाडीको घाम, पिडा र अपमान छ । तस्करी र दलालीले युवाहरु विदेशी भूमिमा बेच्न र ठग्न राजनीतिक खोलमा खुलेयाम छुट पाएका छन् । आर्थिक स्रोतको वितरण यति डरलाग्दो र भयानक बनेकोे छ कि एक वर्गको वैवाहिक वार्षिकोत्सव वा जन्मदिनको नाममा भ्रष्ट जमातको नग्न नाँचमा करोडौं खर्च हुँदै गर्दा त्यहीं नाँचको कोलाहल सहन गर्दै होटेल बाहिर पेटीमा पेट मुसार्दै सिङ्गो रात भोको बस्ने अर्को  वर्गलाई कसले बुझिदिने ? सामाजिक न्याय त  हात्तीको देखावटी दाँत बनेको छ । समावेशीकरणको नाममा आफ्ना र पैसावालाको लागि ठाउँ प्रशस्त बनाइएको छ । जातीय र साम्प्रदायिकका नाममा राजनीति गर्दै स्थानीय एलाइटहरुको दलाली र ठेकेदारीको बर्चस्व छ । वर्गीय मुक्तिको कुरा उठाउने झिनो संख्यामा छ एक बृत्त । तर त्यसको पँहुच न्यून छ । कर्मचारीतन्त्रको बेथिति सुन्नै नसकिने छ । न्यायालयको बारेमा कसले बुझिदिने ? न्याय समेत बिकाउको बस्तु बनेको छ । नेताहरुमा राजनीतिक इमान्दारीता देखिन छाडेको छ । राज्य कमजोर बन्दै गएको छ । सिमा अतिक्रमित छ, बिदेशी हस्तक्षेप बढ्दो छ । समाधानका उपायबारे खोजी र जानकारी गर्ने  कोही छैनन् । खोजी गर्नेहरुलाई उचित स्थान छैन । समग्रमा भन्दा तिम्रो भलो चाहने भन्दा तिम्रो नाममा गरिने दलाली र छलछाम धेरै छ ।

तिमी त बुझ्ने भै सक्यौ गणतन्त्र ! अब त एक दशक काटिसकेपछी त थाहा पाउँछौ होला, अपनत्व भनेको के हो ? आखिर अपनत्व हुनलाई त कुनै कुरामा आफ्नो लगानी हुनुपर्छ नि ! सुखदुखको भोगाईसँगै आँसु, हाँसो, त्याग र तपस्याको कुरा आउँछ होला नि हैन र ? हेर न यहाँ त जसको कुनै लगानी, त्याग र प्रयत्न थिएन, तिम्रो नाम जसले सुन्न चाहेन, जसले गर्भ तुहाउन खोज्यो, जसले जन्मिदै घाँटी निमोठ्न खोज्यो, जसले तिम्रो खेदो खन्दै मृत्युवरणको कल्पनामा रमिरह्यो–आज तिमीलाई त्यसले नै आफ्नो दाबी गर्छ । अधिकार जमाउन खोज्छ अनि जो सच्चा मनले तिम्रो भलो चिताउँछ, जसको त्याग र बलिदानीबाट तिमीले जीवन प्राप्ती गर्याे, उसैलाई कमजोर बनाइएको छ । देशी बिदेशी तत्वबाट खुईलाउने काम भएको छ । आफूले जन्माएको गणतन्त्रमा खुलेयाम आफ्नो माया दर्शाउन पाउँदैन, उसैले किनारा लगाएको छ ।

अब तिमी नै भन गणतन्त्र तिम्रो लामो आयुमा कसरी विश्वास राखुँ ? कसरी म तिम्रो अभिष्ट पूरा हुनेमा ढुक्क बनुँ ? अनेकन प्रपन्च र षड्यन्त्रमूलक ढङ्गले तिमीसामु अनेक चोट, विपत् र प्रहारहरु आईपर्न सक्छन् । जीवन हत्याउने दुश्साहस र दुश्प्रयास हुनसक्छन् ।

हरेकलाई छिचोल्दै अघि बढ्नु अनि सर्बहारा वर्गको बलिदान र त्यागलाई नबिर्सी सदासदा उनीहरुको हितमा काम गर्नु । बलियो बन्नु, सामाजिक कुरिती र कुसंस्कारका बिरुद्ध ससक्त बन्नु । भ्रष्टाचारलाई निमिट्यान्न बनाउनु र जनताको आशा र भरोषाको गुण र ऋण तिर्नु । दीर्घजीवि भव गणतन्त्र, लाखांै वर्ष जीवित रहनु तिमीलाई ११ औं जन्मदिनको शुभकामना !

प्रतिक्रिया दिनुहोस्