शिखर वार्ता पूर्वनिर्धारित मितिमै हुने ट्रम्पको दाबी



१२ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पूर्वनिर्धारित समयमै वार्ता हुनसक्ने बताएका छन् । यसअघि उनले आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता अकस्मात स्थगित भएको घोषणा गरेका थिए ।

निर्धारित गरिएको भेटवार्ता अचानक स्थगित गरेको घोषणा गरेको भोलिपल्टै सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी र उत्तर कोरियाली पक्षबीच हाल छलफल चलिरहेकाले सोही मितिमा पनि वार्ता हुनसक्ने बताएका हुन ।

उनले उत्तर कोरियासँग छलफल चलिरहेकाले के हुन्छ भन्न नसकिने भन्दै जुन १२ तारिखमै पनि शिखर वार्ता हुनसक्ने बताए । अमेरिकाले वार्ता स्थगित गरेको घोषणालगत्तै उत्तर कोरियाले भने ट्रम्पसँग जुनसुकै समयमा वार्ताका लागि तयार रहेको जनाएको थियो ।

उत्तर कोरियाली उपविदेशमन्त्री किम क्वाई ग्वानले एक विज्ञप्तिमार्फत् ट्रम्पको निर्णय निकै पश्चातापपूर्ण भएको बताए । उत्तर कोरियाले शिखर बैठक स्थगित गर्ने ट्रम्पको निर्णयप्रति दुःखसमेत व्यक्त गरेको छ ।

ट्रम्पले ‘अथाह आतंक र खुला सत्रुता’का कारण वार्ता स्थगित गरेको जनाएका थिए । तर, पछि उनले उत्तर कोरियाले जारी गरेको विज्ञप्ति निकै सकारात्मक भएको बताए ।यसैबीच शिखर बैठक स्थगन गर्ने निर्णय गरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षीहरुले संसद्मा चर्को आलोचना गरेका छन् ।

डेमोक्र्याटिक दलका नेता न्यान्सी पेलोसीले उत्तर कोरियासँग ट्रम्पले गम्भीर रुपमा व्यवहार गर्न नसकेको आरोप लगाए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्