तारे होटलमा समेत पिउने पानीमा लापरवाही



११ जेठ २०७५, काठमाडौँ

ललितपुरको पुल्चोकस्थित होटल हिमालय, राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रम सवैभन्दा धेरै आयोजना गर्ने होटलमा पर्दछ । आज विहान एसिएन डिजास्टर प्रिपियर्डनेस सेन्टरद्वारा आयोजित क्षति/जोखिम न्यूनिकरण सम्बन्धी कार्याशालामा सहभागी भई पानी पिउन जाँदा होटलका कर्मचारीले पिउने पानीमा गरेको लापरवाही देखे । होटलका कर्मचारीले निर्धक्कसँग एउटा कम्पनीबाट उत्पादित जारको पानी अर्काे कम्पनीको १ लिटरको बोतलमा भरिरहेका थिए । होटलमा आज विहानमात्रै ३ ओटा फरक–फरक राष्ट्रिय स्तरका कार्यक्रम भईरहेका थिए । आयोजकसँग शिल प्याक पानीको पैसा लिएर जारको पानी भरी हजारौं सेवाग्राहीको विश्वासमा होटलले घात गरेको देखिन्छ ।

सामान्यतया कुनैपनि कम्पनीले १ लिटर बोतलको पानी प्रयोगपछि बोतल पुनः प्रयोग गर्न मिल्दैन । सानातिना रेष्टुरेण्ट तथा होटलहरुमा यसो भई हालेपनि सामान्य मान्न सकिन्छ । तर उपत्यकाकै प्रख्यात मानिने होटल हिमालयले एक्वा हन्ड्रेडको बोतलमा स्प्रिङ ड्यु जारको पानी भरेर गृह मन्त्रालय समेतका उच्च पदस्थ सरकारी कर्मचारी र विदेशी दातृ निकायका प्रमुखहरुलाई समेत खुलेआम वितरण गरिरहेको देखियो ।

यसबारे होटल हिमालयकी सहायक व्यवस्थापक संजिता आचार्यसँग कुरा गर्दा उनले यसलाई सामान्य रुपमा लिइन् । हामी दुइटै पानी कम्पनीबाट उत्पादित एक्वा हन्ड्रेड र स्प्रिङ ड्यु जारको पानी प्रयोग गर्छाै । जुन खाली हुन्छ, त्यही प्रयोग गर्छाै । २–४ चोटी प्रयोग गर्ने हो यसमा आश्चर्य मान्ने के छ र ?

आचार्यले भनिन् हामीले आयोजकलाई पहिले नै सोधेका हुन्छौं । सिल प्याक पानी प्रयोग गर्ने कि रिफिल पानी ? तर कार्यक्रम आयोजक मध्येका एडीपीसीका कार्यक्रम व्यवस्थापक मान बहादुर थापाले कार्यक्रम शुरु हुनुभन्दा अगाडि अक्वा हन्ड्रेड नै हो भनेर प्रश्न गर्दा होटल कर्मचारीले यो डबल शुद्धिकरण गरिएको पानी हो भनी बताएको थापाले बताए । थापाले समेत सिल प्याक पानी नै मगाएको दावी गरे ।

केही मिनेट अन्तरमै भएको संवादमा आचार्यले दुईवटा झुट बोलेको पाएपछि कार्यक्रममा सहभागी प्राक्टिकल एक्सनका दीननाथ भण्डारीले सिल प्याक पानीको पैसा लिएर जारको पानी रिफिल गरेर दिनु महा फट्याई भएको बताए ।

व्यवस्थापक आचार्यसँगको कुरापछि हामीले एक्वा हन्ड्रेड कम्पनीमा फोन गरी वितरण प्रमुख मनहरी केसीसँग कुरा गरेका थियौं । कु्राकानीको क्रममा केसीले भने, ‘एउटा कम्पनीको बोतलमा अर्काे कम्पनीको पानी प्रयोग गर्नु होटलको फट्याई हो । हामी यस विषयमा होटल हिमालयको व्यवस्थापकसँग कुरा गर्छाै ।’ साथै उनले आफ्नो कम्पनीबाट उत्पादित जारको पानी होटल हिमालयले प्रयोग नगर्ने समेत बताए ।

यस विषयमा थप जानकारी लिन स्प्रिङ ड्यु कम्पनीमा सम्पर्क गर्दा स्टक म्यानेजर विन्दा घिमिरेले होटल हिमालयले त्यस्तो गर्नै नसक्ने बताईन् । हामीले यसको कारण सोध्दा यो होटल हिमालयको व्यवस्थापकीय कमजोरी रहेको उनले बताईन् ।

केही समय पश्चात स्प्रिङ ड्यु कम्पनीका मेकानिकल ईन्जिनियरले हामीलाई सम्पर्क गरी आफ्नो पानीको गुणस्तर राम्रो रहेको बताए । हाम्रो जिज्ञासा स्प्रिङ ड्युको गुणस्तरमा नभई यसको दुरुपयोग हो भन्दा उनले भने,‘पानीको बोतल पुनः प्रयोग गर्नु नै हुँदैन । अझ एउटा कम्पनीको बोतलमा अर्काे कम्पनीको पानी राख्नु होटल व्यवस्थापनको लापरवाही हो ।’

आम नेपालीहरुले पानीको गुणस्तरमा खासै ध्यान दिएको पाइदैन । अशुद्ध पानीको प्रयोग नै सयौं रोगहरुको कारण हो भन्ने बुझ्नु जरुरी छ । साना लगानीका स्थानीय होटलदेखि ठूला तारे होटलसम्मले दिने सेवामा गुणस्तर पुगेको हुनैपर्छ । अझ अन्तराष्ट्रिय पर्यटकले मन पराएका ठूला तारे होटलहरु गुणस्तरप्रति सचेत हुनु जरुरी छ । होटल हिमालयले पिउने पानीमा गरेको लापरवाहीले ठूला र महङ्गा होटलप्रति समेत आशंका उत्पन्न गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्