जनप्रतिनिधिको एकवर्ष :रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने



११ जेठ २०७५, चितवन

चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ ।

जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गरेका थिए।

एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ ।

विहीवार सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै नगरप्रमुख वनले भने, “नगर अब विकासमा अगाडि बढ्छ, नतिजामुखी काम हुन्छ ।”

रत्ननगरलाई कस्तो बनाउने भनेर स्वदेशी तथा विदेशी विज्ञसँग नगरपालिकाले छलफल गरिरहेको उनले बताए । नगरप्रमुख वनका अनुसार पर्यटकीय नगर भएकाले रत्ननगरमा ‘कल्चरल भिलेज’(साँस्कृतिक ग्राम) निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । विभिन्न जातजातिका घर निर्माण गरेर आएका पर्यटकले कुन घरमा बस्न चाहन्छन् त्यहाँ राख्न सकिने गरी कल्चरल (साँस्कृतिक) घर बनाउने नगरपालिकाले अघि सारेको छ ।

अहिलेसम्म ६० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको भन्दै नगरप्रमुख वनले अझै बाँकि २०० बिगाहा जग्गा भएकाले सबै खोजेर संरक्षण गर्ने बताएका थिए ।

सभाहल, रंगशाला, सिटीहल, आधुनिक बसपार्क र स्मार्ट सिटी, शीतभण्डार निर्माणमा समेत नगरपालिका अघि बढेको वनको दाबी छ । नगरपालिकाका हरेक सेवा सूचना प्रविधिमैत्री बनाउन लागेको भन्दै उनले अब ‘पेपरलेस’ (कागजबिना नै कामकाज हुने) नगर बनाउने दाबी गरेका थिए ।

नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सर्वसाधारणको सुझाव र आवश्यकताअनुसार विकासका कार्यक्रम अघि बढ्ने प्रतिबद्धता जनाएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्