जापानमा नेपाली लोकसंगीतलाई फैलाउँदै लोकगायक माधव सिग्देल



०९ जेठ २०७५, फुकुओका, जापान

बुवा नरनाथ सिग्देल र आमा चिनमाया सिग्देलका कोखबाट वि.स. २०४७ साल माघ २ गते तनहुँको भिमाद नगरपालिका १ किहुँ वारिकोटमा जन्मिएका लोकगायक माधव सिग्देल परिवारका सवैभन्दा कान्छा सदस्य हुन् । ३ दीदी र १ दाजुपछिका सिग्देल स्कुले जीवनदेखि नै लोकगीत गुनगुनाउने तथा गाउँघरका भजन किर्तनमा सहभागी हुने गर्दथे ।

पढाईको सिलसिलामा २०६३ को एसएलसीपछि चितवन आएका सिग्देल एफएमबाट प्रसारित हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा भाग लिई पुरस्कार जित्ने गर्दथे । अक्सफोर्ड कलेज, गैंडाकोट नवलपरासीबाट २०६६ मा +2 सकेर स्नातक पढ्न काठमाडौँको सरस्वती क्याम्पसमा भर्ना भएका लोकगायक सिग्देल क्याम्पसमा हुने विभिन्न कार्यक्रमहरुमा गीत गाउने गर्दथे । सोही क्रममा उनको भेट चर्चित लोकगायक पशुपति शर्मासँग हुन पुग्यो । लोक गायक शर्मासँगको भेटले कला क्षेत्रका अग्रज व्यक्तिहरुसँग घुलमिल हुने मौका मिलेका सिग्देललाई मानिसहरु शर्मा सँगै हिडेको देख्दा दाजुभाई भन्ने गर्दथे । लोकगायक पशुपति शर्माका धेरै भिडियोहरुमा सिग्देलाई सँगै देख्न सकिन्छ ।

२०६९ सालमा पहिलो गीत रेकर्ड गराएका लोकगायक सिग्देल बिबिएस सके लगत्तै विद्यार्थी भिषामा जापान आएका हुँन् । परदेशमा रहेर नेपाली गीत संगीतलाई निरन्तरता दिईरहेका सिग्देले जापानमा हुने नेपाली सांगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाई सवैको मन जित्न सफल भएका छन् ।

हाल फुकुओकाको सबैभन्दा पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको वर्तमान उपाध्यक्ष रहेका गायक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–जापान शाखाका सहसचिव पनि हुन् ।

जापान आएपछि सानीआमाका छोरा गायक पुरुषोत्तम सिग्देलको सबैभन्दा बढी साथ र सहयोग पाएका लोकगायक माधव सिग्देलसँग परिवर्तन खबरका जापान संवाददाता रमण पहाडीले गरेको कुराकानी :

तपाईको पहिलो एल्बम कुन हो ?
ntc/ncell को सिमले झन् झन् माया बढायो यिनै दुईटा सिमले केमा व्यस्त छौं र अचेल फोन गर्दिनौं तिम्ले…

अग्रज कलाकारसँग भेट हुँदा कस्तो सहयोग पाउनुभयो ?
सुरुमा पशुपति शर्मा दाईसंग भेट हुदा एकदमै खुशी भए त्यस लगत्तै राजु ढकाल, देवी घर्ती, मंजु पौडेल, रमेशराज भट्टराई दाई लगायत धेरै अग्रजसंग घुलमिल हुनाले मलाई सजिलो भयो मलाई अग्रज कलाकार दाई/दीदीहरू सबैले माया गर्नुहुन्छ खुसी लाग्छ ।

गीत संगीत के जस्तो लाग्छ ?
गीत संगीत भएन भने मान्छे अपुरो हुन्छ हरेक पलको साथी गीत संगीत नै हो ।

तपाईलाई गित संगीतमा घरबाट कत्तिको सपोर्ट छ ?
एकदमै छ परदेशमा भए पनि बुवा आमा मेरो गीत सुनेपछि छोरा घरमै भए जस्तो लाग्छ भन्नु हुन्छ । दाईदीदी सबैले सपोर्ट गर्नुहुन्छ । सवैको माया र सहयोग देख्दा खुशी लाग्छ ।

जापानबाट कसरी गीत रेकर्ड शुरू गर्नुभयो ?
मेरो सानीआमाको छोरा पुरुषोत्तम सिग्देल दाईको साथले फुकुओकाको स्टुडियोमा पहिलो पटक पन्चेबाजा सहितको गीत रेकर्ड गराउन सफल भए । पुरुषोतम दाईको निर्देशनमा सो गीतको भिडियो पनि गरे सफल भयो त्यसैलाई निरन्तरता दिईरहेको छु ।

तपाईलाई पशुपति शर्माको जस्तै स्वर छ भन्छन् कसरी त्यस्तो भएको होला ?
दाईको जस्तो त कहाँ हुन्छ र ! दाई मेरो गुरु भएकोले वहाँको संगतले हल्का टोन चै मिल्छ ।

अहिलेसम्म कति र कुन कुन गीत गाउनु भयो ?
ntc/ncell को सिमले, बिहेमा नौमती, नरोई भन्छ घामले, गैरा बारी फुल फुल्यो, खै मादल एताले, जुरेली चरी, बाबा को गीत आदि इत्यादि ।

अब कुन–कुन गीतको तयारीमा हुनुहुन्छ ?
परार साल पोहोर साल जस्तै यसपालीको तीजमा पनि नचाउने खालको तीज कोशेलीको तयारीमा लाग्दैछु ।

अन्तमा आफ्ना दर्शक श्रोतालाई के भन्न चाहनुहुन्छ ?
दर्शक श्रोता मेरो भगवान हुनुहुन्छ । मलाई जसरी यहाँ सम्म साथ दिनु भएको छ अझै माया र साथको अपेक्षा गर्दछु । भविष्यमा नयाँ–नयाँ कोशेली पस्कनेछु । वहाँहरुले माया गरिदिनु हुन्छ भन्नेमा ढुक्क छु । जापानवासी नेपाली तथा फुकुओकावासी दाजुभाई दीदी बैनीहरुका साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शक श्रोताहरूमा धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्