बुनपा ११ पैंयुटारमा १९ हजार लिटर अवैध मदिरा नष्ट



०६ जेठ २०७५, काठमाडौँ

आज विहान महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी प्रभाग कपन, बुनपा ११ का जनप्रतिनिधिहरुको संयुक्त प्रयासमा कपन पैंयुटारमा संचालित १० वटा टहराबाट उत्पादित ४००० लिटर तयारी मदिरा र १५००० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी विहान करिव ७ बजे कपन पैंयुटारमा ढल निर्माण सम्बन्धीको बैठकमा सहभागी हुन पैंयुटार पुगेका थिए । बैठक नजिकैको भिरालो जग्गामा टिनले छाएको मान्छे नबस्ने दश वटा छाप्रोबाट धुवाँको ठुलो मुस्लो देखेपछि अधिकारीले स्थानीयसँग सोधखोज गरे । स्थानीयको जानकारीपछि प्रत्येक छाप्रोमा ठूलो मात्रामा अवैध मदिरा उत्पादन र विक्रि वितरण हुने गरेको बुझे । तत्काल उनले स्थानीय प्रहरी प्रशासन र सञ्चारकर्मीलाई खबर गरे ।

वडाध्यक्ष अधिकारीले फोन गरेको छोटो समयमा महानगरीय प्रहरी प्रभाग कपनका इन्चार्ज प्रहरी निरीक्षक देव बहादुर कुँवर सहितको टोली घटनास्थल पुगे । स्थलगत निरीक्षणको क्रममा कुँवरले ठूलो मात्रामा मदिरा उत्पादन भएको बुझेपछि महानगरीय प्रहरी वृत्त बौद्धका ईन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम कुमार राईलाई खबर गरे । खबर पश्चात तत्काल घटनास्थल पुगेका राईले मुचुल्का उठाई जनप्रतिनिधि, स्थानीयवासीको रोहवरमा लामो समयदेखि अवैध रुपमा उत्पादित मदिरा नष्ट गराएका थिए ।

परिवर्तन खबरसँगको कुराकानीमा डिएसपी राईले अवैध रुपमा उत्पादन गरिएका घरेलु मदिरा नियन्त्रणको लागि प्रहरी कार्ययोजना बनाई अघि बढ्ने जानकारी दिँदै नष्ट गरिएका स्थानबाट पुनः मदिरा उत्पादन नहोस् भनी नियमित रुपमा अनुगमन गरिने बताए । प्रहरीको एकल प्रयासले मात्र नियन्त्रण सम्भव नहुने हुँदा जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा यस्ता अवैध उत्पादन, विक्रि वितरण नियन्त्रण गर्ने जनाए ।

    

प्रतिक्रिया दिनुहोस्