हजारौंको सहभागीता सहित युवा संघ नेपालको २८ औं स्थापना दिवस सम्पन्न



०२ जेठ २०७५, काठमाडौं

हजारौंको सहभागीता सहित युवा संघ नेपालको २८ औं स्थापना दिवस सम्पन्न भएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा दिउँसो १:०० बजेबाट शुरु भएको कार्यक्रममा युवाहरुको उपस्थिती उल्लेख्य मात्रामा रहेको थियो । कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघको ब्यानर सहितको ड्रोन उडाएर उद्घाटन गरेका थिए ।

उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले यतिखेर युवा संघको संस्थापक अध्यक्ष देशको प्रधानमन्त्री छ त्यसैले अबको नेपाल भनेको समृद्ध नेपाल र सुखी नेपाली हो । यसका लागि आवश्यक पूर्वाधारहरु तयार भई काम शुरु भईसकेको जनाए ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवा संघ प्रगतिशील, लोकतान्त्रिक र प्रगतिशिल सङ्गठन भएको हुँदा यसबाट सबैले आश गरेको भन्दै देशको हितमा काम गर्न आव्हान गरे । युवाहरूको संलग्नता बिना अब नेपालमा समाजवादको कल्पना पनि गर्न नसकिने बताए । त्यस्तै एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेसम्म हामीले नेपाली मान र शानलाई जोगाउँदै विश्व सामु शिर ठाडो पारेर बाँच्न सफल छौं । अब हामीसामु मुलुक संचालनको दायित्व आएको छ । जसको लागि हाम्रो पार्टी एमालेलाई युवाहरुको आवश्यक छ, त्यो आवश्यकता पुरा गर्न युवा संघको साथ र सहयोगले मात्र सम्भब हुने जनाए ।

रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले युवा संघ भनेको एमालेको बिचार बोक्ने युवाहरुको समूह भएको हुँदा सबै युवाहरुको पिरमर्का र समस्याहरुलाई बुझेर सधैं अगाडि बढ्न सुझाव दिए । एमाले सचिव तथा श्रम मन्त्री गोकर्ण बिष्टले युवाहरूको मेरुदण्ड युवा संघले आउदो २९ औं स्थापना दिवस मनाउँदै गर्दा आयोजक कमिटीको रुपमा नभई पूर्ण कमिटीको हैसियतमा मनाउन सफल होस् भन्दै शुभकामना दिए ।

उक्त कार्यक्रममा विभिन्न झाँकी सहित राष्ट्रिय स्तरका जनवादी कलाकारहरुको सांस्कृतिक कार्यक्रम पनि रहेको थियो । युवाहरुले राष्ट्रिय सभा गृह भरिभराउ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्