ग्रामीण महिलामा बढ्दो कम्प्युटर आकर्षण



२७ बैशाख २०७५, बैतडी

जिल्लाको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटकी सीता बिष्ट कम्प्युटर कस्तो होला भनेर सोच्थिन् । तर, अचेल आफ्नै हातले कम्प्युटर चलाउन पाएपछि उनी निकै खुसी भएकी छन् । ‘कम्प्युटरमा कसरी काम गर्छन् होला भन्ने सोच्थेँ । तर, आफैंले कम्प्युटर चलाउन पाउँदा निकै खुसी लागेको छ ।

’ उनले भनिन्, ‘गाउँमै कम्प्युटरमा शिक्षा पाएपछि हामी ग्रामीण क्षेत्रका महिलाले पनि कम्प्युटर सिक्न पाएका छौं । यसको उपयोगिताबारे बल्ल थाहा पायौं ।’

दोगडाकेदार गाउँपालिका-३ कै पार्वती महर कक्षा १२ पास गरेर घरमै बसेकी थिइन् । घरधन्दा चलाइरहेकी उनी गाउँमै कम्प्युटर पनि सिक्न थालेकी छन् । ‘बाहिर गएर कम्प्युटर सिक्न सक्ने अवस्था थिएन । हाम्रा आमाबुबाले त कम्प्युटर कस्तो हुन्छ भन्ने समेत देखेका थिएनन् । हामीलाई पनि त्यस्तै थियो । तर, गाउँमै कम्प्युटर कक्षा चलेपछि म जस्ता ग्रामीण क्षेत्रका महिलालाई सजिलो भएको छ । ’उनले भनिन्, ‘गाउँमै कम्प्युटर सिक्न पाएपछि निकै खुसी लागेको छ । कम्प्युटर सिकेपछि गाउँमै केही रोजगारी पनि पाइएला भन्ने आशा छ ।’

महिला बालबालिका मन्त्रालयको सहयोगमा वातावरण संरक्षण तथा सामुदायिक विकास संघले कम्प्युटर तालिम सञ्चालन गरेपछि दोगडाकेदार गाउँपालिकाका २ वडाका २३ महिलाले कम्प्युटर सिकिरहेका छन् ।

ग्रामीण क्षेत्रका महिलाको कम्प्युटर शिक्षामा पहुँच पुर्याउन गाउँमै तालिम सञ्चालन गरिएको वातावरण संरक्षण तथा सामुदायिक विकास संघका अध्यक्ष घनश्याम भट्टले बताए ।

गाउँमै कम्प्युटर सिक्न पाएपछि आफूहरूलाई खुसी लागेको दोगडाकेदार गाउँपालिका-७ की सरस्वती कार्कीले बताइन् । गाउँमा कम्प्युटर तालिम सञ्चालन भएपछि ग्रामीण महिलाको आकर्षण बढेको प्रशिक्षक दीपेन्द्र कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्