भिमढुङ्गाको ऐतिहासिक परिचय



२३ वैशाख २०७५, काठमाडौं

डा. उत्तम खनाल

राजधानी शहरको कोलाहल देखि सीतापाईला–धार्के सडक खण्ड हुँदै करिव ६ कि.मि. को दुरी पश्चिम तर्फमा अवस्थित छ सुन्दर गाउँ भिमढुङ्गा । यसै ठाउँमा रहेको छ भिमसेनको ऐतिकासिक मन्दिर । मौलिक पहिचान र संस्कृतिले भरिपूर्ण यस ठाउँ दहचोक कालुपाण्डे स्मारक र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज ऐन डाँडाको विच भू–भागमा रहेकाले ऐतिहासिक महत्व दर्शाउदै प्राकृतिक छटासँग खेलिरहेको अनुभव हुन्छ यहाँ पुग्ने जो कोहिका लागि  । भिमढुङ्गा आफैमा प्राचिन एवं पुरातात्विक महत्वले भरिपूर्ण स्थान हो तर यति हुँदाहुँदै पनि यो ठाउँको बारेमा सबैलाई जानकारी नहुन सक्छ । यसो हुनुमा यहाँका स्थानिय व्यक्तिको सक्रियता चासोका साथ नउठ्नु पनि हो ।

यो ठाउँ साविक भिमढुङ्गा गा.वि.स मा पर्थ्यो । राज्यको पुन संरचनानुसार हाल यस स्थान काठमाडौंं जिल्ला नागार्जुन नगरपालिका वडा नं ८, संघिय निर्वाचन क्षेत्र नं ९ प्रदेश ख अन्तर्गत पर्छ । साविक ईचंगुनारायण, सीतापाईला, रामकोट, भिमढुङ्गा र स्युचाटार गाविसहरु मिलेर बनेको नागार्जुन नगरपालिकामा रहेका १० वटा वडाहरु मध्ये प्राचिन महत्व रहेको यो वडा नं ८ जुन भिमढुङ्गा नामले परिचित छ । पृथ्वीनारायण शाहको गोरखा दरबार देखि काठमाडौं जिल्ला अर्थात राजधानी शहर हनुमानढोका दरबारमा दशै घरमा भित्राउने फूलपाति यहि भिमढुङ्गाको बाटो भई आउने र भिमसेन मन्दिरमा परिक्रमा गराई लैजाने प्रचलन अहिले पनि जिवितै छ ।

कसरी उत्पत्ति भयो त भिमढुङ्गाको भिमसेन मन्दिर ?

भिमढुङ्गा त्यसै भनिएको छैन । यस ठाउँको नाम भिमढुङ्गा रहनुमा पनि भिमसेनको मन्दिर र उनले चढ्ने गरेको ऐतिहासिक ढुङ्गाद्वारा निर्मित डुङ्गासँग जोडिएको किंवदन्तिलाई लिन सकिन्छ । प्रचलित किंवदन्ति र जनश्रुतिलाई आधार मानेर हेर्दा भिमढुङ्गा र भिमसेन विचको रोचक कहानी जीवितै छ । द्वापर युगमा पाण्डुका छोरा पाँच पाण्डब मध्ये माईलो भाई भिमसेन अत्यन्तै वलवान थिए । उनमा हजार मत्ता हात्तिको वल थियो रे तथापि यिनी आफ्ना दाजु युधिस्टिरका कुरालाई सिरोधार्य गर्ने हुँदा रिसाए पनि आफ्नो वललाई कावुमा लिने गरेका थिए । राज्य हरण, वनवास र गुप्तवास यिनका लागि सहज थिएन । निष्टा र धर्ममा बाच्न सिकेका भिमसेन वल हुँदाहुँदै आफ्नै अगाडी द्रोपतिको सभामा वस्त्रहरण गरेको दृष्य उनको जीवनमा मुटुको खिल बनी रह्यो । तैपनि तत्काल दुर्योधनलाई केहि गर्न खोज्दा दाजुका कारण रोकिन परेको घटनाले उनको आत्मा विक्षिप्त भयो र भड्किन थाल्यो । यहि कारण आत्म शान्तिका लागि उनी एक दिन हिमालय पर्वततिर लागे । रिसको ज्वाला साम्य नहुँदा गति र मतिले काम गदैन भने झैं बाटो विराउँदै नेपाल खाल्डोतिर उकालो लागेछन् ।

बाटो हिड्ने क्रममा एक दिन अगाडी जाँदाजाँदै एउटा ठुलो दहमा पुगे । दल विशाल थियो । उनी त्यहि रोकिन चाहेनन् । पुनः अगाडी बढ्ने दृढताका साथ डुङ्गामा सवार हुने विचार गरे । त्यो दह अरु कुनै नभएर काठमाडौं उपत्यकाको दह थियो,(जहाँ अहिले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला पर्छ) । उनलाई चानचुने डुङ्गाले भार थेग्न सक्ने थिएन । त्यस कारण भिमसेनले आफ्नो ढुङ्गाद्वारा निर्मित डुङ्गामा सवार भै दहको चारैतिर डुलिरहने गर्न थाले । कहिलेकाही दह बाहिर के रहेछ भनेर घुम्दै जाँदा एकदिन उनको भेट सुप्रभा नगरका दानव राजाकी छोरी प्रभावतीसँग भयो । उनीसँगको पहिलो भेटमै भिमसेनको माया प्रेम गाँसियो । उनी साझ पख दहतिर फर्कर्दै गरे पनि उनको ध्यान पर्वत उक्लने तर्फ लागेन बरु प्रभावतीसँग भेट्ने ईच्छा जागेर आयो । उता प्रभावती पनि भिमसेनको मायामा लिप्त भईन । दुबैको गाढा पिरतिले गर्दा माया साटासाट गर्ने ईच्छा जागृत भयो । फलस्वरुप एक दिन भिमसेनलाई कामसरले पिडा पुर्याएपछि त्यसठाउँबाट अनेत्र गई विहार गर्ने अठोट गरी नागार्जुन डाँडाको फेदमा पुगे । सुन्दर ताल, वरिपरि हरियाली छटाहरु भरिभराउ हुनु र अर्कातिर सुन्दर प्रेमीको जोडी एकबाट अर्को छुटिन सक्ने अवस्थामा  रहेनन् । प्रभावतीसँगको प्रेममा चुर्लुम्मै डुब्दै  वाहिर निस्कन नसक्ने स्थितिमा पुगेका भिमसेन एकदिन आफूले चढेको ढुङ्गाको डुङ्गा तालको छेउ अर्थात नागार्जुन डाँडाको फेदमा राखी प्रेम लिालामा भासिए । केहि क्षणको आनन्द पश्चात तालको छेउमा राखेको डुङ्गा चढेर जाने विचारले अगाडी बढे तर पुरै बाहुवल लगाएर तान्दा पनि डुङ्गा बाहिर आएन र त्यहि भाँसियो । यस्तो अचम्म देखेपछि आश्चर्य चकित हुदै आफ्नो प्रेमिकालाई समेत वेवास्था गरी भिमसेन तत्कालै गायव भए तथापि उनको मनले प्रभावतीलाई भने विर्सन सकेन । (भनिन्छ, त्यही पल मञ्जुश्रीद्वारा आफ्नो हातमा रहेको खड्गले चोभारको डाँडा काटी काठमाडौं उपत्यका दहको पानी बाहिर निकासा गरेका थिए रे) ! यस्तो चमत्कारी पूर्ण परिघटना घटेपछि त्यस दिन देखि भिमसेन डुङ्गमा सवार भै उक्त ठाउँमा घुम्न जान छाडे ।

भोलिपल्ट देखि प्रभावती प्रेमको पिडामा पागल हुँदै भिमसेनको खोजि कार्यमा लागिन । राजा दानासुरले आफ्नी छोरी गायव भएपछि खोजिका लागि सारा सैनिक परिचालन गरे । जहाँ तहिँ खोजे तर पत्ता लगाउन नसकि हार मानेर दरबार तिर फर्किए । उता भिमसेनलाई कहिँ पाउन नसकेर हारमानी प्रभावतीले रानीवनको फेदमा बसेर प्राण त्यागी मृत्यू बरण गर्ने निधोमा पुगिन । तर अकस्मात त्यहि रात प्रभावतीले यस्तो सपना देखिन, “प्रिय ! तिमी प्राण त्याग नगर” म त्यहि डाँडाको फेदमा अरुले नदेखुन भनेर गायव भएको छु ,तिमी हरेक रात मलाई भेट्न सक्नेछौं, मैले तिमीलाई विर्सन सकेको छैन ।” त्यसपछि हरेक रात प्रभावती आफ्नो प्रेमी भिमसेनलाई भेट्न जान्थिन्  । रातभरी दुबैको भलाखुसारी हुन्थ्यो र विहानी पख झिसमिसेमा पुनः भेट्ने बाचा गरी प्रभावती त्यस ठाउँबाट गायब हुन्थिन् । यो कुराको चाल कसैले पाउन सकेनन् । उनका सन्तान पनि जन्मिए तर वलवान हुनाले त्यहाँ बसेनन् ।  भिमसेनले विक्षिप्त भएको वेलामा पाएको प्रेमलाई आफ्नो अविष्मरणिय प्रेमक्रिडाको स्थल बनाउनु उचित ठानेर स्वयम् मन्दिरका रुपमा उत्पत्ति हुने ईच्छा प्रकट गरेकाले  त्यस ठाउँमा अकस्मात मन्दिर उत्पत्ति भयो । त्यस मन्दिरलाई भिमसेन मन्दिर भनेर चिनियो ।

के छ त त्यसको ऐतिहासिक महत्व ?

महाभारतमा पनि लेखिएको छ कि भिमसेन ज्यादै वलवान थिए । उनको हजार हात्ति बराबरको वल थियो । सायद त्यसै कारणले पनि होला आफ्नो भार थेग्न जलक्रिडाको समयमा भिमसेनले सधैं ढुङ्गाको डुङ्गा चढेर सवार गर्दथे । उनले खेल्ने गरेको ढुङ्गाद्वारा निर्मित गुच्चा हाल काठमाडौंको भिमसेन गोलामा देख्न सकिन्छ । भिमसेनको डुङ्गा गायब भएको स्थानपछि अपभ्रंस हुँदै भिमढुङ्गाका नामले नामाकरण हुन गयो । भिमढुङ्गाको यो भिमसेन मन्दिर अर्को ऐतिहासिक कारणले पनि महत्वपूर्ण छ । त्यो के हो भने गोरखा दरबार र हनुमानढोका दरबार बिचको ऐतिहासिक सम्बन्ध जोड्ने सेतु । नेपालीहरुको महान चाड दशैको पावन अवसरमा हनुमानढोका दरबारमा भित्र्याउने फूलपाति गोरखा दरबारबाट जीवनपुर हुँदै भिमढुङ्गाको यसै भिमसेन मन्दिरलाई विधिवत दाँया तर्फबाट परिक्रमा गराउँदै सोहि दिन ब्राम्हणद्वारा जमलसम्म पुर्याईन्छ । जमलबाट गुरुजु पल्टनको बाजागाजा सहित हनुमानढोका दरबारमा साईत पारेर बिधिवत फूलपाति भित्र्याउने चलन अझै पनि कायमै छ । हनुमानढोका दरबारमा फूलपाती भित्रिएपछि सर्वसाधारणले आ–आफ्नो घर घरमा परम्परानुसार फूलपाती भित्र्याएर हरेक बर्ष दशैलाई स्वागत गर्दछन् । उक्त मन्दि नजिकै एउटा मौलो पनि छ । पहिला सो स्थानमा कोतघर थियो रे जहाँ जमरा पनि राखिने थियो भन्ने सुनिन्छ तर अहिले त्यस ठाउँमा दशैमा जमरा राखिदैन । हरेक वर्ष दशैमा मौलो पूजा चाही वडा कार्यालयले गर्दै आएको छ ।

यो ठाउँ गोरखा जिल्लाको माता मनकामना मन्दिर दर्शनको काठमाडौं उपत्यकाको पश्चिमद्वार हुनाले पनि यहाँको धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट भिमसेनको मन्दिरलाई अझ बढी महत्व दिनु पर्ने देखिन्छ । विभिन्न रुपहरु मध्ये दोलखाको भिमसेनलाई जति महत्वका साथ शक्तिसालि मानिन्छ, त्यसको दोस्रो शक्ति स्वरुप भिमढुङ्गाको भिमसेनलाई मान्ने गरिएको तथ्य जीवितै छ । नेवारी समुदायको अत्यन्तै प्रभावशाली शक्तिसम्पन्न देवताका रुपमा भिमसेनलाई मानिने हुँदा यहाँको मौलिक नेवारी परम्परा र संस्कृतिले समाजमा बेग्लै पहिचान बनाएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हो हरेक वर्ष भिमाएकादशीका दिन चलाईने भिमसेन जात्रा । नेवार समुदायले भिमाएकादशीको दिन भिमढुङ्गाको उक्त भिमसेनलाई विधिवत रथारोहण गरी त्यसको ठिक भोलिपल्ट द्धादशिका दिन भिमेश्वर जात्रा गर्र्नु यहाँको अर्को स्थानिय संस्कृतक पक्ष रहेको पाईन्छ । यिनै संभावनालाई पर्यटकिय विकासमा रुपान्तरण गर्दै सांस्कृतिक उत्थानका लागि काम गर्न कृयासिल स्थानिय भिमढुङ्गा पर्या–पर्यटन विकास समितिले प्रचारप्रसार गर्ने योजना अगाडी सारेको भएपनि वजेट अभावमा ति कामहरु पुरा हुन सकेका छैनन् । हालको समयमा उक्त समिति प्राय निस्कृय जस्तै भैसकेको छ ।

यहाँबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन सजिलैसँग गर्न सकिन्छ । भिमढुङ्गाबाट धादिङ्ग, नुवाकोट लगायत गोरखा जिल्ला पनि यहाँबाट देख्न सकिन्छ । यसका साथै अलि माथि दहचोक डाँडाको कालुपाण्डे स्मारक, स्विट्जरल्याण्ड पार्क लगायत गोरखाको मनकामना मन्दिर स्पष्ट देख्न सकिन्छ । यस ठाउँबाट नजिकै रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको ग्रेटवाल शैलीमा निर्मित ऐन डाँडाको रस्वासदन गर्दैे गणेश हिमालको दृष्यलाई क्यामरामा कैद गर्न पाउनु,  थाप्ले लामागाउँमा बसेर सूर्याेदय र सूर्यास्तलाई नजिकैबाट लुकामारी खेल्न पाउनु, पन्ध्र मिटरको गुफाभित्र रहेको  गुप्तेश्वर महादेवको आलिंकन गर्दै रमाउन पाउनु यस स्थानको अर्को परिचय पनि हो ।

ऐतिहासिक घटनाक्रमबाट उत्पत्ति भै प्राचिन धरोहरको रुपमा रहेको भिमढुङ्गा पर्यटकिय नगरीमा रहेको भिमसेन मन्दिरलाई वि.सं २०७२ सालको भूकम्पले तहस नहस बनायो । मन्दिर वरपर रहेको जमिन भासिएको देखिन्छ । साथै मन्दिर वरपर रहेका धेरैजसो वस्तु तथा सार्वजनिक भू–भागहरु विभिन्न कारणले मासिदै गएका पनि छन् । यसलाई तत्काल जिर्णोद्धार नगर्ने हो भने कुनै पनि समयमा यो मन्दिर कहाँ थियो भन्दै खोज्नु पर्ने अवस्थामा पुगेको जस्तो देखिन्छ तथापि नेवार सम्प्रदायको महर्जन गुठीद्वारा मन्दिर संरक्षणमा केहि चासो देखाए तापनि त्यसले सफलता पाएको देखिदैन । स्थानिय तहको विकास गर्ने कामको जिम्मेवारी पाएको नागार्जुन नगरपालिकाले मन्दिरको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार तथा पर्यटकिय विकासमा त्यति ध्यान पुर्याउन सकेको छैन ? हुन त मन्दिर निर्माण समितिले केहि काम गरेको छ तर यो प्राचिन महत्व रहेको स्थान हुनाले त्यसलाई सामान्य मानिन्छ । अबका दिनमा निर्वाचित प्रतिनिधि यस वडाले पनि पाएको हुँदा वडाध्यक्ष शुक्र वहादुर तामाङ्गले थप चासो दिनुपर्ने देखिन्छ, साथै समाजका अग्रणी व्यक्तिको पनि साथ र सहयोग लिन भुल्नु हुँदैन ।

आन्तरिक रुपमा पर्या–पर्यटन विकासका लागि भिमसेन मन्दिरको मौलिक पहिचान जोगाई राख्न सबैले योगदान दिनैपर्छ । अब नागार्जुन नगरपालिकाले पनि भिमढुङ्गाको पर्यटन विकासका लागि गुरु योजना बनाउन ढिलाई गर्नु हुँदैन साथै यस कार्यमा स्थानिय बौद्धिक जमातको संलग्नता र रायलाई समावेश गर्नैपर्छ । यदि यि कार्य गर्न सके नागार्जुन नगरपालिकाको सान र गौरवका रुपमा भिमढुङ्गा स्थापित हुनेमा कुनै दुविधा रहदैन । यस स्थानको विकास र परिचयलाई चिनारीका रुपमा अगाडी बढाउन स्थापित भिमढुङ्गा पर्या–पर्यटन विकस समितिले भूकम्प पश्चात निष्कृय अवस्थामा रहेकाले पुन सक्रियताका साथ काम गर्नु सबैका लागि हितकर छ । तत् पश्चात मात्र यस ठाउँको पर्यटक विकासले गति लिन सक्छ र यसको प्रचुर संभावना बाहिर उजागर हुन्छ । अन्यथा यो ठाउँ ईतिहासको किंवदन्ति झै भएर विलय हुन समय लाग्दैन । नागार्जुन नगरपालिकाले यस्ता अमुल्य निधिको संरक्षण र जगेर्णा गर्ने काममा निष्कृयता दर्शाउनु स्वयमका लागि पनि अहित छ ।

प्रतिक्रिया दिनुहोस्