नेपाल बाहिरको नेपाल



काठमाडौं, १७ वैशाख २०७५

नेपाली जनसंख्याको धेरै श्रमशक्ति भएका युवा उमेरका साठी लाख भन्दा बढी नेपाली आमाका सपुतहरु विदेशी भूमिमा रगत र पसिना बगाईरहेका छन् । सूचना, प्रविधि र ग्लोबलाइजेसनको कारणले विश्वका सम्पन्न मानिएका देशहरुमा समेत ठूलो संख्यामा नेपालीहरु बसोबास गरिरहेका छन् ।

अमेरिका, नयाँ पुस्ताको पहिलो अध्ययन गन्तब्य मानिन्छ । अहिले अध्ययन, डिभी, व्यवसाय वा लुकिछिपी गरेर भएपनि त्यहाँ बसोबास गर्ने प्रवासी नेपालीहरुको संख्या चारलाख भन्दा बढी पुगिसकेको अनुमान गरिन्छ । ज्ञान, सिप र क्षमताले भरिएका नेपालीहरु अति व्यस्त जीवनमा पनि आफ्नो पेशा, व्यवसायबाट समय बचाएर नेपाली संस्कार, संस्कृति र पहिचान फैलाउन दिनरात खटिरहेका हुन्छन् ।

अमेरिकावासी नेपालीभाषीहरु जागिर, ब्यापार र समाजसेवाको माध्यामले त लामो समयदेखि क्रियाशील छन् । पछिल्लो दशक पत्रकारिता मार्फत नेपाली भाषा र संस्कृति फैलाउन समेत महत्वपूर्ण योगदान निर्वाह गरिरहेका छन् ।

नेपाली समुदायले नेपालीका लागि गरेका सामाजिक, साँस्कृतिक र राजनीतिक गतिविधि मात्र नभएर नेपाल भित्रै हुने समसामयिक गतिविधिहरु समेत समेटेर दर्जनौं पत्रिकाहरु प्रकाशन भैरहेका छन् ।

आज हामी नेपाली समुदायबाट अमेरिकाको विभिन्न राज्यहरुमा प्रकाशन भै रहेका पत्रिकाहरु र तिनले समेट्ने विषयबस्तुमा केन्द्रित भै रहेका छौं ।

नेपाली पोस्ट डट कम, वासिंङटन डीसी

नेपाली पोष्ट डट कम २००१ देखि अमेरिकामा बसोबास गर्ने व्यावसायिक नेपाली पत्रकारहरुद्वारा प्रकाशित पहिलो विचार तथा समाचारमूलक नेपाली भाषाको अनलाईन पत्रिका हो । नेपाली पोष्टले अमेरिका लगायत संसारका विभिन्न भागमा छरिएर रहेका नेपालीहरुका विभिन्न गतिविधि तथा नेपाली भाषा साहित्य र संस्कृतिलाई समेत जिवन्त राख्न मद्दत मिलोस् भन्ने उद्देश्यले संचालन गरिएको जानकारी दिईएको छ । यो पत्रिका स्वयंसेवी रुपमा संचालन भैरहेको समेत बताईएको छ ।

खसोखास डट कम, न्युओर्क

खसोखास अमेरिकाको न्युओर्क राज्यबाट प्रकाशन हुने पहिलो नेपाली साप्ताहिक पत्रिका हो । अहिले नेपाली र अँग्रेजी भाषामा अनलाईन संस्करण संचालन गरेको पत्रिकाले साप्ताहिक छापा पत्रिका पनि निरन्तर प्रकाशन गरिरहेको छ । खसोखासलाई २०१५ मै द न्यु ओर्क सिटी पोष्टले अमेरिकामा संचालित १० लोकप्रिय नेपाली पत्रिकाको रुपमा उल्लेख गरेको छ । 

ई-नेप्लिज डट कम, भर्जिनिया  

ई-नेप्लिज डट कमले अमेरिकामा रहेका नेपालीहरुद्वारा संचालित कार्यक्रमलाई मुख्य रुपमा प्रकाशित गर्दै आएको छ । नेपालमा भएका ठूला तथा महत्वपूर्ण घटनाक्रमहरुलाई समेत समेट्ने गरिएको प्रकाशकले बताएका छन् । नेपाली र अँग्रेजी दुवै भाषामा समाचार प्रकाशन गर्दै आएको ई-नेप्लिजलाई २०१५ मै द न्यु ओर्क सिटी पोष्टले  अमेरिकामा संचालित १० लोकप्रिय नेपाली पत्रिकाको रुपमा उल्लेख गरेको छ ।

युएस नेपाल डट कम, न्युओर्क

युएस नेपाल डट कम अमेरिकाको न्युओर्क राज्यबाट प्रकाशन हुने पुरानो मध्यको लोकप्रिय अनलाईन पत्रिका हो । सामाजिक तथा समसामयिक गतिविधि पत्रिकाले समेट्ने गरेको पाईन्छ । यसले सुचना र जागरणलाई बढी समेट्ने गर्दछ । युएस नेपाल डट कमलाई २०१५ मै द न्यु ओर्क सिटी पोष्टले  अमेरिकामा संचालित १० लोकप्रिय नेपाली पत्रिकाको रुपमा उल्लेख गरेको छ ।      

विश्व न्युज डट कम, टेक्सास

विश्व न्युज डट कमले अमेरिकामा बस्ने नेपाली तथा नेपाली संघसंस्थाका गतिविधिहरुमा बढी केन्द्रित रहँदै आएको छ । पाठकको चाहनालाई ध्यान दिएर नेपालका समसामयिक विषयबस्तु समेत समेट्ने गरेको बताईन्छ । यो अनलाईनको विश्व सन्देश साप्ताहिक छापापत्रिका न्युओर्क र टेक्सासमा समेत लोकप्रिय मानिन्छ ।

 एभरेष्ट टाईम्स डट कम, न्युओर्क 

एभरेस्ट टाइम्स २००८ देखि न्युयोर्कबाट प्रकाशन शुरु भएको पाक्षिक पत्रिका हो । अहिले यो पत्रिका अनलाईन र छापा दुवै संस्करण संचालन भै रहेको छ । अमेरिकामा नेपाली भाषा, संस्कृति तथा साहित्यको विकासमा टेवा पुर्‍याउने मुल उद्देश्यले यो पत्रिका प्रकाशन गरिएको संचालकको दावी छ ।

खसखस डट कम

खसखस डट कम अमेरिकाबाट प्रकाशन हुने सम्भवत: पहिलो विशुद्ध नेपाली साहित्यिक पत्रिका हो । नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संचालकको दावी छ ।  यो अनलाईन अमेरिकाभर साहित्यानुरागीहरुले सबैभन्दा बढी रुचाएको अनलाईन समेत मानिन्छ ।

हिमाली पोष्ट डट कम, क्यालीफोर्निया

हिमाली पोष्ट डट कम क्यालीफोर्निया राज्यबाट प्रकाशन लोकप्रिय अनलाईन पत्रिका हो । अमेरिकामा बसोबास गर्ने नेपाली गतिविधि सहित समसामयिक विषयमा नेपालका समाचारहरु समेत प्रकाशन गरिरहेको संचालकले बताएका छन् । छोटो समयमा हिमाली पोष्टको लोकप्रियता अमेरिकाभरि फैलिदै गएको पाठक प्रतिक्रिया छ ।

नेपाल २४ आवर डट कम, क्यालीफोर्निया

अमेरिकाको क्यालीफोर्निया राज्यबाट अँग्रेजी र नेपाली भाषामा प्रकाशन हुने अनलाईन अमेरिकाभरि लोकप्रिय मानिन्छ । व्यवसायिक रुपमा संचालित यो अनलाईन नेपाल र अमेरिकाबाट निरन्तर अपडेट भै रहने संचालकले बताएका छन् ।

 टेक्सास नेपाल डट कम, टेक्सास

टेक्सास नेपाल डट कम अमेरिकाको टेक्सास राज्यबाट प्रकाशन हुने पहिलो अँग्रेजी अनलाईन पत्रिका हो । अँग्रेजीभाषी नेपालीहरुलाई केन्द्रित गरेर प्रकाशित टेक्सास नेपालले नेपालमा भएका ताजा घटनाक्रमहरु समेत समेट्ने गरेको छ ।

 द नेपाल टुडे डट कम

द नेपाल टुडे अनलाईनले अमेरिकामा बसोवास गर्ने नेपालीहरु र तिनीहरुले गर्ने गतिविधिलाई मुख्य रुपमा केन्द्रित गर्दै आएको छ । पाठकहरुको रुचिलाई ध्यानमा केन्द्रित भएर अहिले नेपाली घटनाक्रमहरुलाई समेत समेट्न थालेको पाईन्छ ।

बिआरटी नेपाल डट कम, कोलोराडो

अमेरिकाको कोलोराडो राज्यबाट प्रकाशन हुने बीआरटीनेपाल डट कम प्रवासी नेपाली गतिविधिमा केन्द्रित भै संचालन भैरहेको छ । यो अनलाईनले नेपालमा हुने समसामयिक गतिविधिलाई पनि प्रकाशन गर्दै आएको छ ।

ग्लोब नेपाल डट कम, बाल्टिमोर

नेपाली समुदायको घना बस्ति रहेको बाल्टिमोर क्षेत्रमा स्थापित ग्लोबल नेपाल सो क्षेत्रको लोकप्रिय नेपाली अनलाईन पत्रिका हो । बाल्टिमोर आसपासका गतिविधि बढी केन्द्रित हुने पत्रिकाले नेपालका समसामयिक गतिविधि समेत समेट्ने गरेको बताईन्छ । अनलाईन पत्रिकाको साथै साप्ताहिक नेपाली रेडियो कार्यक्रम नेपालमंच समेत संचालन भैरहेको जानकारी प्राप्त भएको छ ।

यसको साथै नेपाल मदर डट कम, खुल्लामंच डट कम लगायतका अनलाईन पत्रिकाहरु समेत संचालनमा छन् । हाम्रो छोटो अनुसन्धानले अरु पनि धेरै पत्रिकाहरुको नाम छुट्न गएमा आउँदा दिनहरुमा समेट्ने जानकारी गराउन चाहन्छौँ ।

नेपाल बाहिरको नेपालमा हामी नेपाली भूमिमा जन्मिएर नेपाल, नेपाली संस्कृति, साहित्य र विकासको लागि योगदान पुर्याउने संघसंस्था तथा उनीहरुका सफलताका कथाहरु समेट्ने प्रयासमा छौँ । विश्वभर छरिएर रहेका प्रवासी नेपाली तथा नेपाली भाषीहरुको साझा चौतारी बनाउने अभियानमा सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्