किन भारत दुखी राष्ट्र बन्याे ?



काठमाडौं १४ वैशाख: विश्वले यस वर्षको २० मार्चमा ‘खुसणी दिवस’ मनायो । संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार भारत विश्वका अत्यन्तै बेखुसी राष्ट्रको सूचीमा परेको छ । विश्वका १ सय ५५ राष्ट्रमा खुसीका सूचक मापन गरेर तयार पारिएको रिपोर्टमा भारत १ सय २२ औँ स्थानमा परेको छ ।

यति मात्र हैन, दक्षिण एसियाको सबैभन्दा बेखुसी राष्ट्र भारत बनेको छ । अवस्था यति खराब देखिएको छ कि भारतपछिको सूचीमा अफ्रिकाका अति विपन्न राष्ट्रको नाम सूचीकृत छन् ।

कतिले खुसी पनि मापन गर्न सकिन्छ र भन्ने तर्क पनि गर्छन् । केही सानो दायराको नमुनाका आधारमा संयुक्त राष्ट्रसंघले कसरी खुसी मापन गर्छ भन्ने तर्क अर्काथरीको हुन सक्छ ।

तर, व्यवस्थित रूपमा छानिएका केही मापदण्डका आधारमा कुनै देशको खुसीलाई मापन गरिन्छ । यसका लागि संयुक्त राष्ट्रसंघले ६ वटा आधार तय गरेको छ ।

प्रतिव्यक्ति आय, स्वस्थ जीवन आयु, स्वतन्त्रता, विश्वास, सामाजिक सहयोग र परोपकारका आधारमा देशविशेषको खुसी मापन गरिँदै आएको छ ।

यो विधि तर्कपूर्ण र विधिसंगत छ । यसर्थ आलोचकले यसमा विधिलाई लिएर समस्या देखाउनुको औचित्य छैन । यसो भए खुसी राष्ट्रको सूचीमा भारत कहाँ उभिएको छ त ? भारतको प्रतिव्यक्ति आय पर्याप्त छैन ।

सन् २०१७ मा २ सय देशमध्ये भारत १ सय २६औँ स्थानमा प¥यो । विश्वमा द्रुतगतिमा वृद्धि भइरहेको अर्थतन्त्रका लागि यो लज्जास्पद अवस्था हो । राष्ट्रसंघका अनुसार बेरोजगारी र गुणस्तरहीन कामको कारण भारत बेखुसी देशको सूचीमा परेको छ ।

नागरिकको दुःखलाई कम गर्न हामीले धेरै उपाय नअपनाएको पनि होइन । तर, देशको खुसीलाई आर्थिक सुधृढीकरणसँग मात्र जोडेर बुझ्न सकिन्न । गएका दुई दशकयता चीनले प्रतिव्यक्ति आयमा उल्लेख्य वृद्धि गरेको छ ।

यद्यपि, विश्वास, स्वतन्त्रता र उदारीकरणका सन्दर्भमा सकारात्मक कदम नचलाएका कारण चीनको खुसी सूचकांक माथि उठ्न सकेको छैन ।

अर्कातर्फ, भ्रष्टाचारका कारण भारतीय समाजमा विश्वासको खडेरी छ । कर्मचारीतन्त्र तथा राजनीतिज्ञको व्यवहारका कारण राज्यप्रति नागरिकको विश्वासमा ह्रास आएको हो । कानुन कार्यान्वयनमा उदासीनता तथा कर संकलनमा भएको मनोमानीका कारण पनि यस्तो हुन पुग्यो ।

समाजमा व्याप्त असमानताले भारतको छविमा नकारात्मक छाप छाडेको छ । प्रजातन्त्र कागजमा मात्र सीमित छ । उच्च वर्गले स्वतन्त्रता र आर्थिक तथा सामाजिक सुविधा उपभोग गरिरहेका छन् ।

धार्मिक तथा लैंगिक अल्पसंख्यक समुदायले बिरलै मात्र स्वतन्त्रताको स्वाद चाख्न पाएका छन् । विपन्न तथा पिछडिएको समुदायले आफ्नो रोजाइअनुसार उनीहरूले जीवन चलाउन पाएका छैनन् ।

चुनावको वेला भोट तान्ने चुनावी नारामा मात्र उनीहरू सीमित छन् । यी नागरिकलाई स्वतन्त्र, सहज र सुरक्षित जीवनको प्रत्याभूति दिन सरकार असफल हुनु पनि बेखुसीको परिचय नै हो ।

भारतीयहरू उदार तथा मनकारी छैनन् । केही अपवादबाहेक समाज परोपकारी कार्यमा भारतको आँकडा सन्तोषजनक छैन । आफू मात्र धन जम्मा गर्ने र आफ्नो सम्पत्तिको केही अंश अरूलाई बाँड्ने कार्यमा खासै चासो नराखिनु दुःखद पक्ष हो ।

विश्वका ठूला परोपकारी व्यक्तित्व तथा समाजसेवी भारत आएर यहाँका अर्बपतिलाई समाजसेवाबारे पाठ सिकाउनुपर्ने अवस्था छ ।

सामाजिक सहायतामा विकसित देश भारतभन्दा निकै अगाडि छन् । हामीकहाँ अझै पनि सामाजिक सुरक्षाको अवधारणा वास्तविकतामा बदलिन सकेको छैन । किसानले सामना गरिरहेका दुःख र आर्थिक समस्यालाई उदाहरणका रूपमा लिन सकिन्छ ।

यसर्थ, भारतको ठूलो जनसंख्याले अझै पनि सामाजिक सुरक्षाको अनुभूति गर्न नपाउनुले पनि हामी बेखुसी देशको सूचीमा पर्नुको अर्को प्रमुख कारण हो ।

स्वास्थ्य र जीवन आयुको सन्दर्भमा हामी मध्य स्थानमा छौँ । विगत केही वर्षयतादेखि मानव आयु वृद्धिका लागि भारतमा धेरै प्रयास भएका छन् । गत एक दशकमा हामीले हाम्रो औसत आयुलाई ६२ वर्षबाट ६७ मा पु¥याएका छौँ ।

तर, धेरै उदीयमान देशको औसत आयु ७५ वर्षभन्दा बढी पुगिसकेको अवस्थामा हामी खुसी भइहाल्ने कारण छैन । विश्वस्तरमा हेर्दा, स्वास्थ्य क्षेत्रमा भारतको आँकडा पनि सुखद छैन ।

मानिसले पर्याप्त रकम आर्जन गर्न सक्दैनन्, क्षमता तथा रुचिअनुरूपको काम पाउँदैनन्, आफ्नो स्वास्थ्यप्रति चिन्तित भइरहनुपर्छ, राज्य ताथ अरूलाई विश्वास गर्न सक्दैनन्, चाहनाअनुरूप जीवन बाँच्न पाउँदैनन् अनि परेको खण्डमा राज्यको साथ पाउँदैनन् भने त्यस्तो देशलाई बेखुसी राष्ट्र नभनेर के भन्ने ? यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्