दुर्गमका विद्यालयमा विद्यार्थी भर्ना शून्य



बाजुरा, १३ वैशाख

देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तर्गत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ ।

विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म पनि एक जना विद्यार्थी भर्ना भएका छैनन् । गत शैक्षिक सत्रमा ११० विद्यार्थी रहेको उक्त विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नहुनुको कारण कुनै पनि शिक्षक विद्यालयमा नहुनु अभिभावकको गुनासो छ ।

गाउँमा विद्यार्थी भर्ना अभियान चलिरहे पनि प्रधानाध्यापक नेत्रप्रसाद ज्ञवाली आफ्नी छोरी भर्ना गराउन काठमाडौँ गएका र अन्य शिक्षक पनि वाार्षिक परीक्षा सञ्चालन गरेदेखि विद्यालयमा हाजिर हुन नआउँदा विद्यार्थीले भर्ना हुन नपाएको अभिभावकले बताएका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाकै पुडेनीमा रहेको पुगेली आधारभूत विद्यालयमा पनि विद्यार्थी भर्ना संख्या शून्य नै छ ।  कक्षा दुईसम्म सञ्चालन रहेको उक्त विद्यालयमा एक जना प्रधानाध्यापक नरजंग कार्की र कार्यालय सहयोग सहयोगी शीतल बुढा गरी दुई जना मात्र छन् ।

फयालगाउँको विन्दा शैनी आधारभूत विद्यालयमा पनि अहिलेसम्म जम्मा १४ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयले पाठ्यपुस्तकसमेत लिएका छैनन् भने विद्यार्थी भर्ना संख्या पनि निकै न्यून रहेको पाइएको छ । त्यस्तै रुपाली आधारभूत विद्यालयमा हालसम्म ८६ जना भर्ना भएको शिक्षक दुर्गबहादुर सिंहले बताउनुभएको छ ।

एक सय ५० विद्यार्थी रहेको उक्त विद्यालयमा पनि भर्ना संख्या सन्तोषजनक भने देखिँदैन । उक्त विद्यालयका शिक्षक नभएको र पाठ्यपुस्तक पनि नलगिएको स्थानीय अभिभावकको गुनासो छ । नयाँ शैक्षिक सत्रको १० दिन बितिसक्दा पनि उक्त विद्यालयमा हालसम्म एक जना विद्यार्थी भर्ना नभएको र शिक्षक विद्यालयमा उपस्थित नभएको भेटिएपछि गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले यस्तो राष्ट्रिय महत्वपूर्ण अभियानमा सहभागी नहुने शिक्षकलाई तुरुन्त कारबाही गर्ने बताउनुभएको छ ।

गाउँपालिकाले कक्षा सञ्चालनका लागि अनुमति लिएका तर शिक्षक नभएका कतिपय विद्यालयलाई एकीकृत गरेर लैजाने योजना रहेको अध्यक्ष शाहीले बताउनुभयो ।

त्यसैगरी सोही गाउँपालिका–२ मा प्रायः विद्यालयमा अभिभावकले आफैँ पैसा उठाएर शिक्षकलाई तलब खुवाउँदै आइरहेका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यालय खोल्न अनुमति दिने र शिक्षकको व्यवस्थापन नगर्ने परिपाटीले अहिले विद्यालयका शिक्षकलाई गाउँबाट रकम उठाएर तलब खुवाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।

न अभिभावकलाई भार भइरहेको छ न्यूनतम तलबमा शिक्षकले पनि राम्रोसँग काम नगरी रहेको पाइएपछि गाउँपालिका अध्यक्षले विद्यालयलाई एकीकृत गर्दै लैजाने स्वामीकार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीको भनाइ छ ।

विद्यालयको अनुगमनका क्रममा अध्यक्ष शाहीले विद्यालयमा हाजिर नभएका शिक्षकका फाइल गाउँपालिकामा ल्याई कारबाही गर्ने उहाँले राससलाई जानकारी दिनुभएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्