‘यस्तो लोग्ने कसैको नहोस्’



काठमाडौं, 1३ वैशाख

बिर्तामोड नगरपालिका ५ की रञ्जिता साह ९२५० लाई त्रासले गाँजिरहन्छ । डरलाग्दो सपनाबाट ब्युझिँए झै उनी बारम्बार झस्किन्छिन् । घरको कौसीमा जाँदा कहाली लाग्छ ।

मृत्युको मुखबाट बाँचेर आएको पछिल्ला डेढ वर्षका हरेक दिन मात्र होइन, बिहे गरेको केहि महिना पछिदेखिका समेतगरि पछिल्लो ५ वर्ष उनले आँशुको घुट्कासँगै बिताएकी छिन् । भन्छिन्, ‘मेरो जत्तिको कठोर र अपराधी लोग्ने अरु कसैको नहोस् ।’

छोरो राजविर सुतिरहेको त्यो रात पनि धर्मेन्द्रले उनलाई माइतबाट बाह्र लाख रुपैयाँ मागेर ल्याउन दबाब दिँदै पिटे । रक्सीले मातेर आएको बलियो युवक श्रीमतीलाई पिट्दा पिट्दै थाक्यो र केहिबेर निदायो ।

केहीबेर पछि ब्युझिँएर तीन महिनाकी गर्भवती श्रीमतीलाई फेरि झम्टियो, पिट्यो । रक्ताम्य हुनेगरि भित्तामा अनुहार ठोक्काइरह्यो । रञ्जिताको एउटा दाँत झरिसकेको थियो ।

पल्लो कोठामा युरो कप फुटबल हरिरहेका छिमेकी डेरावाललाई अर्को कोठामा के भइरहेको छ, पत्तै भएन । ‘उसले मलाई थुक्दै, अझै पिट्दै दुवै हातले उठायो’ बोन सिमेन्टले हड्डीको आकार दिइएको टाउको थाम्दै उनले भनिन्, ‘मर् भन्दै उसले मलाई तेस्रो तल्लाको कौसीबाट भुँईमा फ्याँक्यो, ब्युझिँदा म टिचिङ हस्पिटलको बेडमा थिएँ ।’

घटना मितिः २०७३ असार २६ गते
समय : रातको २ः३० बजे
स्थानः गोकर्णेश्वर नगरपालिका ७, काठमाडौं

जमिनमा केहि गह्रौं वस्तु झरेको आवाजले भुँईतल्ला र वल्लो पल्लो घरका मान्छेको निद्रा भङ्ग गरायो ।

खल्याङ् वल्याङ् मान्छे बोलेको आवाज युरोकप हेरिरहेका डेरावाल अभिषेक घोरासैनी र उनका साथीहरुको कानसम्म पनि पुग्यो । झट्पट् ओर्लिए ।

उनीहरुसँगै धर्मेन्द्र पनि ओर्लिए । उनले श्रीमती चिप्लिएर लडि भनेर भिडलाई भन्यो । भिडको कसैले खबर गरेपछि प्रहरी आइसकेको थियो ।

हतारहतार उपचारको लागि रञ्जितालाई काठमाडौं मेडिकल कलेज जोरपाटी लगियो । टाउको फुटेर रगत बगिरहेको थियो । नाक र मुखबाट फिँज आइरहेको थियो । रगतले रञ्जिताको जीउको धेरै र उनी खसालिएको भुँईंको केहि भाग भिजेको थियो ।

केहि घण्टा नेपाल मेडिकल कलेजमा आपत्कालिन उपचार गरेपछि बिहान ४ बजेतिर शिक्षण अस्पताल महाराजगञ्ज लगियो । सघन उपचार कक्षमा भर्ना गरियो ।

टाउकाको एक भागको हड्डीको शल्यक्रिया गरियो । तीन दिनपछि रञ्जिताको होस आयो । होस आँउदा लोग्न धर्मेन्द्र पनि साथै थिए । उसले अस्पतालको शय्यामै प्रहरीकहाँ उजुरी गरे वा हल्ला गरे बच्चा ९अढाई वर्षको राजविर० लाई मारिदिन्छु भनेर रञ्जिताको कानको छेउमै मुख लगेर धम्क्याँँउथ्यो ।

अरुले देख्दा सिकिस्त श्रीमतीलाई जाउलो पनि खुवाईरहेको हुन्थ्यो । झापाको विर्तामोडबाट रञ्जिताका बाबु नथुनीप्रसाद शाह पनि आइसकेका थिए । छोरीको हालत देखेर भक्कानिएका उनले ज्वाईं धर्मेन्द्रलाई हप्काए ।

कालको मुखमा पुगेकी रञ्जितालाई उजुरीमा गए छोरो राजविरलाई मारिदिने धम्कीले अरु त्रास बढायो । यहि डरले उनी उजुरीमा गइनन् । उजुरी नपरेकोले घटनाको प्रहरीले पनि अनुसन्धान र कारबाही अघि बढाएन ।

उपचारपछि धर्मेन्द्रले श्रीमती रञ्जितासँग माफी मागे । रञ्जितालाई केहि सहज होला भन्ने लाग्दै गयो । परिवारको स्विकृती विना फेसबुकको माध्यमबाट सम्पर्कमा आएर प्रेम विवाह गरेकोेले रञ्जिता धेरै कुरा माइतीमा सुनाउन पनि सक्दिनथिन् । उनीहरुले परिवारको अनुमती विना २०६९ असोज १४ गते विहे गरेका थिए ।

विहेदेखिकै निहुँ दाइजो

प्रेम विवाह गरेको केहि महिना नबित्दै धर्मेन्द्रको घरमा दाइजो नल्याएको भन्दै रञ्जितामाथि खप्की शुरु भएको थियो । ससुरा महाविर र सासु लिलादेबीले १५ लाख दाइजो नल्याए नागरिकता नबनाइदिने बताए । सासुले दाइजो ल्याउन दबाब दिँदै एकदिन आगोले हात पोलिदिएकी थिइन् ।

त्यो दिन बच्चा च्यापेर भाग्दै झापा कमल गाउँपालिकाबाट विहान ५ बजे माइत विर्तामोड पुगिन् । आफन्तहरुको विचमा आगामी दिनमा मिलेर बस्ने भन्दै रञ्जिता झापाको शिवगञ्जस्थित घरै फर्किइन् ।

धर्मेन्द्र व्यापार गर्न भन्दै काठमाडौं आए । रञ्जिताले दाइजो नल्याएको निहुँमा घरमा गाली खाइरहनु पथ्र्यो । जे सुकै होस् भन्दै उनी लोग्नेको साथ जान्छु भनी काठमाडौं आइन् ।

पीडा गुम्स्याएर बाँच्नु पर्ने उनको विवशता थियो । मधु गुट्खाको व्यापारी लोग्ने धर्मेन्द्र राति अबेर कोठामा आँउथे र दाइजो ल्याइनस् भन्दै झर्कोफर्को गरिरहन्थे । धर्मेन्द्र कुनै कुनै दिन खबर नगरी अन्तै बास पनि बस्ने गर्दथे ।

छिमेकी डेराका मानिस र साथीहरुसँग ‘मेरी श्रीमती मरेको दिन खसी काटेर भोज खुवाँउछु’ भन्ने गरेको रञ्जिताले सुनेकी थिईन् । यहि क्रममा २६ असार २०७३ को रात त्यो घटना भएको थियो ।

दोस्रोपटक शल्यक्रियापछि रञ्जिता
टाउकोमा पहिलो पटक शल्यक्रिया गरेको ठाउँमा बोन सिमेन्ट भरेर टुटेको हड्डीको आकार दिनेगरि दोस्रो शल्यक्रिया गर्नु अघि नै उनी छोरो राजविरलाई लिएर बिर्तामोड माइती गइन् ।

शिवगञ्ज घरबाट केहि आफन्तहरुले रञ्जितालाई बोलाँउने पनि गर्दथे । दाइजो नल्याएको भन्दै सासु, ससुराको समेत हप्कीदप्की र पिटाई खाएकी उनलाई लोग्नेको घर कालकोठरी जस्तै लाग्थ्यो, गइनन् । घटनाको ६ महिनापछि २०७३ पुष १४ गते माइतीमै उनको दोस्रो बच्चा जन्मियो ।

दोस्रोपटक उनको टाउकाको शल्यक्रिया २०७४ पुष १९ गते शिक्षण अस्पताल महाराजगञ्जमा भयो । यसपटकको शल्यक्रियाबाट उनको टाउकाको एक भागमा बोन सिमेन्ट सेट गरियो ।

अहिले उनी दुई छोराहरु लिएर झापाको विर्तामोड माइतीमा बसेकी छिन् । करिब करिब कालको मुखबाट फर्किएकी उनलाई टाउको भारी हुन्छ, दुखिरहन्छ र रिँगटा लाग्छ ।

‘यति सानै उमेरमा यति धेरै दुख पाएँ’ बच्चाहरु तिर हेर्दै उनले भनिन्, ‘मलाई निदाएकै ठाँउमा मरिरहेकी हुन्छु जस्तो डर लाग्छ र ऐठन हुन्छ ।’

छोराहरु राजविर र कर्मविरलाई लिएर झापा विर्तामोड ५ स्थित माईती घरमा बसेकी रञ्जिता

न्यायको लडाईंमा ढिला
रञ्जिताको टाउकाको दुईपटकको शल्यक्रिया र सुत्केरी स्याहारमा समेत गरि करिव पाँचलाख रुपैयाँ माइतीबाट खर्च भइसकेको छ । अहिलेको बसाई पनि माइतीमै छ ।

उनलाईलाई मृत्युको मुखमा पुगुञ्जेल चरम यातना दिने उनका लोग्ने धर्मेन्द्र काठमाडौंमा डेरा सरीसरी बस्दथे । रञ्जितालार्ई न्यायको लडाईं लड्ने इच्छा जाग्यो ।

२०७४ मंसिर ८ मै वारिसनामा दिएर काठमाडौं जिल्ला अदालतमा मानाचामलको मुद्दा हालिन् । र, २०७४ माघ १४ गते अंश मुद्धा दायर गरेकी छिन् । धर्मेन्द्र अहिले फरार छन् । रञ्जितालाई अस्पताल भर्ना गरेको दिन लिएको १४ हजार रुपैयाँ मध्ये ५ हजार समेत छिमेकी डेराका अभिषेकले पाएका छैनन् ।

केहि वर्ष छेउको कोठामा बसेका अभिषेकलाई दाइजोको निहुँमा धर्मेन्द्रले श्रीमतीलाई पिट्ने गरेको थाहा थियो । भन्छन्, ‘उनीहरुबीच राम्रो भएको मैले थाहा पाईन् ।’

‘मुद्दा अघि बढेको छ, ढिलो चाँडो रञ्जिताले न्याय पाँउछिन्’ उनको मुद्दा हेरिरहेका वकिल सुनिलरञ्जन सिंह भन्छन्, ‘बारम्बार गम्भीर यातना पाएर पनि न्यायको ढोकामा आउन ढिलो गर्नु चाहिँ यहाँ दुःखद कुरा हो ।’ रञ्जिता भने लोग्नेको डरले अदालतसम्म ढिलो पुगेको बताउँछिन् ।

‘उजुरीमा कम जान्छन्’
रञ्जिता साह घटनाको १७ महिनापछि बल्ल अदालतको ढोका ढक्ढक्याउन पुगिन् । त्यो पनि अंश लिनको लागि । उनले वर्षौंसम्म दाईजोको निहुँमा श्रीमान र परिवारबाट यातना पाउँदा पनि दाईजोको निहुँमा हिंसा भयो भनेर प्रहरीमा गइनन् ।

नेपाल प्रहरीमा पछिल्लो ३ वर्षमा घरेलु हिंसाका करिब ३० हजार उजुरी दर्ता भएका छन् । यस्ता उजुरी वर्षेनी बढिरहेका छन् ।

तर, घरेलु हिंसाका घटनाका पीडितहरु उजुरीमा अझैपनि कम आउने गरेको अधिकारकर्मीहरुको भनाई रहेको छ ।

परिवारको मुली पुरुषलाई मान्ने गरिएको कारण मुली विरुद्द उजुरीमा जान कठिनाई भइरहेको राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापक विमला खडका बताँउछिन् ।

‘घरेलु हिंसाको उजुरी एकदमै कठिन छ’ खड्का भन्छिन्, ‘महिलाको आर्थिक आत्मनिर्भरता र निर्णय क्षमता नबढुन्जेल पीडित महिलाहरु हिंसा सहन बाध्य हुने अवस्था रहन्छ ।’

–महिलाखबरबाट

प्रतिक्रिया दिनुहोस्