संसार घुम्न पैसा होइन हिम्मत चाहिन्छ : पुष्कर शाह



एक सय रुपैयाँ लिएर १५० देश घुम्ने पुष्कर शाहसँग अन्तरङ्ग

काठमाडौं, ८ वैशाख २०७५ ।

पुष्कर शाह । एउटा हिम्मतिलो नेपाली युवक, जोे आमाले दिएको १०० रmपियाँ लिएर साइकलको भरमा संसारका १५० देश घुम्न सफल भए । हिम्मत, आत्मविश्वास, लक्ष्य र साधनाका त्रिवेणी हुन्–उनी । संसार घुमेर मात्र पुगेन उनलाई, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको टुप्पो नै टेक्न मन लाग्यो । सगरमाथा चढे, सफल पनि भए । एउटा महान् लक्ष्य हासिल गरे । पुस्तक पनि प्रकाशन गरे । पुस्तक पढिसकेपछि पाठकहरुले पुष्करलाई एक पाटोबाट चिने, रसिक पुष्कर, युवा पुष्कर, अलिअलि पिउनका सौखिन अनि हृदय खोलेर देखाउन लाज नमान्ने पुष्कर । अनेक बिम्ब बने पुष्करका । अहिले के गर्दैछन् त पुष्कर ? हामीलाई खुल्दुली लागेपछि भलाकुसारी गर्न समय मिलाएर उनको बासस्थान हाँडीगाउँ पुग्यौं ।

भाटभटेनी सुपर स्टोर टङ्गालबाट पूर्व मोडिएपछि हाँडीगाउँतिर लाग्नासाथ केही अगाडि एउटा गल्ली उत्तरतर्फ मोडिएर कम्पाउन्डवाला घरमा टुङ्गिन्छ । हामी विश्व साइकल यात्री पुष्कर शाहलाई खोज्दै त्यही घरको कम्पाउन्डभित्र पस्छौँ । पस्नासाथ जिङरिङ्ग ठडिएका कपाल पालेका एक युवा भेटिन्छन् अति विन्दास मुडमा चउरमा घुम्दै गरेका ।

म लेखक पनि त हैन, म त घुमन्ते हुँ, टिपोट हो–त्यो मेरो । पुस्तक अर्कैले बनाइदियो । त्यतिबेला अलि बढी हाइलाइट गरिदिएछन्–यो कुरालाई । केही शीर्षक मलाई पनि चित्त बुझेको छैन । तर, हेर्नुस् त संसारलाई कम्युनिष्टको गौरव भनेर चिनाउने क्युवाको हालत ! त्यो त मेरो पुस्तकले देखाउँछ नि ! संसार घुम्दा पाउने दुःख र हन्डर हेर्नुस् त ! त्यहाँ यी कुरा पनि त छन् । नेपाली दूतावासका व्यवहार हेर्नुस् त, ती कसरी काम गर्छन् ? त्यसको चित्र पनि त छ । ती चाहिँ नहेर्ने अनि खालि पुष्करले युवती, यौन, रक्सीको कुरा गर्यो भन्ने ?

‘पुष्कर शाह बस्ने घर यही हो ?’ हामी सोध्छौँ ।
‘हो । मै हुँ पुष्कर शाह ।’ सहज उत्तर आउँछ तिनै युवाबाट । म आश्चर्यमा पर्छु ।
म परिचयका लागि हात बढाउँछु । उनी स्वाभाविक स्वागत मुद्रामा उभिएर हात मिलाउँछन्–सहृदयी भावका साथ । मलाई लाग्छ, उनी मसँग पहिल्यै परिचित भइसकेका आफन्त हुन् । अति स्वाभाविक आफन्तभाव जगाउन सफल हुन्छन्–उनी ।


‘अनि गाई खै त ?’ मसँगै गएका ध्रुवजी प्रश्न गर्छन् । हामी गाई बाँध्ने गोठतिर आँखा लगाउँछौँ । गोठ ठूलै छ । घरको कम्पाउन्ड पनि निकै फराकिलो छ । ध्रुवजीले भेटघाटका लागि समय माग्दा उनले गाईको दूध खानेगरी बिहानै आउनुस् भनेका रहेछन् । त्यही कारण थियो ध्रुवजीको त्यो प्रश्न ।
‘गाई तपाईंलाई पर्खेर बसिरन्छ ? गइसक्यो चर्न ।’ उनी उत्तर दिन्छन् अनौपचारिक पारामा ।

मलाई लागेको थियो, १०० रुपियाँ खर्च लिएर विश्वका १५० देश घुम्ने त्यो हिरो सामान्य मानिसजस्तो कहाँ होला र ! तर उनी गाईको स्याहारमा रमाउँदा रहेछन्, अनि साइकलका त प्रेमी छँदै छन् ।
हरियो चउरमा घुम्दाघुम्दै हामी चिटिक्क परेको दुईतले घरको बाहिरी भर्याङका खुट्किला चढ्न थाल्छौँ । केही खुट्किला चढेर बरन्डामा उभिन नपाउँदै पुष्कर भित्र पस्छन्–हामीलाई अगुवाइ गर्दै । भित्र ठूलो हल छ, हलसँग जोडिएको किचेन अनि पूर्वपट्टि सामान राख्ने र आवश्यक परे सुत्न मिल्ने एउटा कोठा छ । त्यहाँ अनेक सामान छन्, भुइँभरि, र्याकभरि अनि दराजभरि ।

‘संसारको समाज जस्तो छ मेरो घुमन्ते डायरी पनि त्यस्तै छ । अफ्रिकाको आतङ्क, दक्षिण अमेरिकाको तस्करी, लागू पदार्थ र त्रास, अमेरिकाको भव्यतासँगै मानमूल्यको ह्रास, युरोपका मानिसको सभ्यता, ठूलो मन तर सानो कमाइ भएका मानिसको व्यवहार पनि त त्यहाँ छन् नि ! ती कुराको त चर्चै छैन मानिसलाई । युवतीको सुन्दरताभित्र गन्हाउने काखी र अर्को चिज….पनि त हुन्छ नि ! फूलको सुन्दरता पो हेर्नुपर्छ, काँडा चियाउने ?’

विश्वका १५० देश, केही संस्था र नगरका झण्डाले सजिसजाउ छन्–हलका भित्ता र भर्याङ । एकाछेउको र्याकमा संसारभर डुल्दा बटुलेका, उपहार पाएका सामग्रीहरु छन् । त्यहाँ कुनै देशका ढुङ्गा छन् त कुनै देशका हस्तकला । अलिपर छ, बियर र ह्वीस्कीका बिर्काको थुप्रो ।

‘म जस्तै कुनै सन्काहा भेटियो भने यसैमा एउटा पुस्तक लेख्ला । तपाईं पनि लेखक हो, हेर्नुस् केही जन्मिन सक्छ ।’ म बियर र अन्य पेयपदार्थका बोतलको थुप्रो नियाल्छु र सोच्छु, ‘कसरी सम्हालेर ल्यायो यतिका धेरै बिर्काहरु ?

बिनाबित्थाका बिर्काको भारी बोकेर संसार चहार्न के मन लागेको होला यो मान्छेलाई ! कति बोक्न सकेको होला भारी पनि !’ मनमनै सोच्दै पुष्करतिर फर्कन्छु र थप्छु— ‘तपाईंले त बोतलका बिर्कालाई पनि संसार डुलाउनु भो हगि !’
‘संसार घुमेको केही न केही चिनो त लिएर फर्कनै पर्यो । अनि नबोकेर के गर्नु ! यिनैले त हो मलाई संसार घुमाको । ऊ त्यो बिचराले बोक्यो ।’ साइकलतिर संकेत गरे उनले । भित्तामा अडेस लागेर पुष्करतिरै फर्किरहेको साइकल हामीलाई हेरिरहेको थियो । भाषा जान्दो हो त उसले पनि केही अवश्य भन्थ्यो होला–पुष्करले जस्तै ।
‘यो नखाने हो भने काँ संसार घुम्न सकिन्छ ? संसारको भाषा नै यही रहेछ । केही नबुझ्ने पनि यसको भाषा बुझिहाल्दो रहेछ । अनि त …..’ सहज तर रसिक उत्तर दिन्छन्–पुष्कर ।
‘विश्व भ्रमण गर्ने तपाईंको योजना पनि त यसैबाट शुरु भएको रहेछ नि !’ म थप्छु उभिएरै ।

‘हो नि ! यसलाई साथी बनाउन जाने साथी हुन्छ, नजाने आफैंमाथि हुन्छ ।’ ठट्टा गर्छन् पुष्कर । हुन पनि पुष्करले साथीभाइसँगको जमघटमा रमाइला पेयसँगै घोषणा गरेका थिए–विश्व घुम्ने योजना । न उनीसँग संसार घुम्ने पैसा थियो न चिनजान र सहयोगी–सञ्जाल । यही त थियो उनको साथी ।
कुराकानी गर्दागर्दै हलको एकाछेउमा ओछ्याइएका मकैको खोस्टाका पिरातिर देखाउँदै हामीलाई बस्न सङ्केत गर्छन्–पुष्कर । पुष्करकी आमाले बुन्नुभएको रहेछ ती पिरा दोलखामै । उनी भन्छन्–हामी बस्छौँ तिनै खोस्टाका पिरामा । मलाई जन्मथलो सम्झाउँछन् ती पिराले । परालको गुन्द्री र पिरा नै गाउँका गलैँचा र सोफा हुन्–अतिथीका लागि ।

‘संसारलाई पाँच फन्को लगाउँदा जीवनले चाहिँ कति फन्को लगायो पुष्करजी ?’ म उनको पुस्तकतिर मोड्न खोज्छु पुष्करलाई ।
‘संसार बुझ्ने हो भने घुम्नुजस्तो ठूलो कुरा केही रहेनछ । म त अझ साइकल गुडाएर विश्व घुमेको मान्छे । यसमा घुम्नुको मज्जा नै अर्को । तर हिम्मत चाहिन्छ, तेसै त काँ सकिन्छ र !’
‘यति रसिक हुँनुहुँदो रहेछ र पो पुस्तकमा पनि रसिक कुरा नै बढी लेख्नु भा’को रछ । अनि त्यो सउना बाथमा गाकोलाई चैँ किन सम्भोग भनेको नि ! केटी, रक्सी र यौनकै बढी चर्चा गर्नुभएछ नि पुस्तकमा त ! के संसार घुम्दा त्यही मात्र देखियो त ?’ म अलि गहिरिन्छु–पुस्तकका बारेमा ।

‘मान्छेलाई तान्ने त्यै कुरा रछन्, म त फेरि साइकलमा घुम्ने मान्छे । रक्सीको पनि सौखिन । संसार घुम्दा चाहेको कुरा गर्नै पाइएन भने किन घुम्नु !’ पुष्कर संवादमा रस भर्छन्, अलि गम्भीर हुन्छन् र थप्छन्— ‘मान्छेको दिमागमा सबैभन्दा बढी त यौन नै घुम्दो र’छ । मैले संसार घुम्दा देखेका त्यति धेरै कुरा लेखेको छु तर जसले पनि पुस्तकैभरि त्यही मात्र छ जस्तो गरी प्रश्न गर्छन् । केही शीर्षक अनावश्यक भएका छन्, त्यो हो । म लेखक पनि त हैन, म त घुमन्ते हुँ, टिपोट हो–त्यो मेरो । पुस्तक अर्कैले बनाइदियो । त्यतिबेला अलि बढी हाइलाइट गरिदिएछन्–यो कुरालाई । केही शीर्षक मलाई पनि चित्त बुझेको छैन । तर, हेर्नुस् त संसारलाई कम्युनिष्टको गौरव भनेर चिनाउने क्युवाको हालत ! त्यो त मेरो पुस्तकले देखाउँछ नि ! संसार घुम्दा पाउने दुःख र हन्डर हेर्नुस् त ! त्यहाँ यी कुरा पनि त छन् । नेपाली दूतावासका व्यवहार हेर्नुस् त, ती कसरी काम गर्छन् ? त्यसको चित्र पनि त छ । ती चाहिँ नहेर्ने अनि खालि पुष्करले युवती, यौन, रक्सीको कुरा गर्यो भन्ने ? जम्मा ९ प्रतिशत त्यस्ता शीर्षक छन्, करिब पाँच प्रतिशत त्यस्ता कुरा होलान् । बाँकी ? युवतीको पैताला देखिँदा तिघ्रा चियाउने आँखा हुन्–ती । मान्छेको मनमै त्यै छ त म के गरुँ ?’ पुष्करको गम्भीरता बढ्दै जान्छ । पुस्तकमा गहिरिँदै जान्छौँ–हामी ।

‘संसारको समाज जस्तो छ मेरो घुमन्ते डायरी पनि त्यस्तै छ । अफ्रिकाको आतङ्क, दक्षिण अमेरिकाको तस्करी, लागू पदार्थ र त्रास, अमेरिकाको भव्यतासँगै मानमूल्यको ह्रास, युरोपका मानिसको सभ्यता, ठूलो मन तर सानो कमाइ भएका मानिसको व्यवहार पनि त त्यहाँ छन् नि ! ती कुराको त चर्चै छैन मानिसलाई । युवतीको सुन्दरताभित्र गन्हाउने काखी र अर्को चिज….पनि त हुन्छ नि ! फूलको सुन्दरता पो हेर्नुपर्छ, काँडा चियाउने ?’ मलाई उल्टै प्रश्न गर्न तम्सिन्छन्–लेखक पुष्कर ।

‘संसार घुम्दा तपाईंलाई लागेको सबैभन्दा मन छुने कुरा चाहिँ के हो पुष्कर जी ?’ म प्रश्न थप्छु पुष्करको घुमन्ते अनुभव खोतल्न ।
‘संसारमा सबैभन्दा ठूलो कुरा रहेछ इच्छाशक्ति अनि व्यवस्थापन वा सिस्टम । यी दुईटा कुराले मात्रै मान्छे विकासतिर लाग्दो र’छ । देशको पनि त्यही हो । धनी हुनलाई, संसार घुम्नलाई जे गर्नलाई पनि इच्छाशक्ति चाहिँदो रहेछ । मसँग धन भएर संसार घुमेको होइन, इच्छाशक्तिले घुमेको हुँ । हाम्रो देश साह्रै चाँडो विकास हुनसक्छ तर इच्छाशक्ति भएको नेता पाएनौँ–हामीले ।’ स्तब्ध पार्छन् पुष्कर मनमा लागेका कुरा पोख्तापोख्तै ।

‘तपाईलाई घुम्दा सहयोग गर्ने र आश्रय दिने धेरै मानिस त महिला नै भेटिएछन् ! किन यस्तो भो होला ? तपाईं अलि खाइलाग्दो युवक भएर हो ?’ म अलिकति रसिक प्रश्नतिर मोड्छु–हल्का बनाउन ।
‘त्यो पनि होला । तर, अर्को कुरा देख्छु म यसमा ।’

‘के कुरा ?’
‘महिलाहरुको हृदय पुरुषकोभन्दा अलि कोमल हुन्छ । चाहे हाम्रो देशमा होेस् वा अरु देशमा मानिसको भावना उस्तै हो । सहयोग गरिहालौँ भन्ने भावना पुरुषमाभन्दा महिलामा बढी पाएँ मैले । अर्को छिटफुट चाहिँ तपाईंले भनेजस्तो विपरित लिङ्गप्रतिको आकर्षण पनि होला ।’ पुष्कर हल्का हुन्छन् ।

‘अफ्रिकाकी कालीदेखि थाइल्यान्डमा भेटिएकी अमेरिकी युवती डायना, हङकङ, युरोप जताततैका युवतीले म तिमीसँग विहा गर्छु, सँगै बसौँ भन्दा मन पग्लेन ?’ भावनात्मक प्रश्न थियो मेरो ।
‘पन्ध्रवटाजति प्रस्ताव आए त्यस्ता । धेरैले रात बिताउन आग्रह पनि गरे । केही घटना मेरो पुस्तकमै छन् । ती चाहिँ टार्नै नसक्ने अवस्थामा भएका हुन् । कतिलाई टारेँ । हङकङमा भेटिएकी त्यो केटीले त साह्रै मरिहत्ते नै गरेकी थिई । अफ्रिकाकी त्यो काली केटी त झन् हुरुक्कै गर्थी । हुँदाहुँदा कङ्गोकी राजकुमारीले पनि त्यति धेरै माया गरी । तर मेरो मिशन त संसारका केटी बटुल्ने हैन नि ! म त संसार हेर्न र घुम्न पो गएको थिएँ त ! म यसरी सम्झन्थेँ आफूलाई र उनीहरुबाट छुट्टिन्थेँ ।’

त्यसरी माया गर्ने मानिसबाट छुट्टिएर दुःख पाउँदा तपाईंको मनले ती माया गर्नेहरुलाई झलझली सम्झेन ?’
‘मान्छे हो भावना त भैहाल्छ नि, तर त्योभन्दा ठूलो मेरो मिशन थियो । म हराउन होइन विजयको लागि हिँडेको थिएँ । यसरी पनि संसार घुम्न सकिन्छ भन्ने देखाउन हिँडेको थिएँ । त्यसले मलाई भावनामा बग्न दिएन ।’ पुष्कर गम्भीर उत्तर दिन्छन् हामीलाई ।

‘तपाईंले संसारका धेरै पत्रिकाहरुमा अन्तर्वार्ता दिनुभयो । कैयौँ देशका मन्त्री, कतिपय नगरका मेयरहरु भेट्नुभयो, न्युयोर्कका मेयर, बेलायतकी महानीजस्ता बिरलै भेट्न पाइने व्यक्तित्वसँग भेट्ने र फोटो खिच्ने अवसर पाउनु भयो । ती गौरवशाली क्षणका संस्मरणहरु तपाईंको पुस्तकमा समेटिएको देखिएन । महात्मा गान्धीजस्तालाई औपचारिक पोसाक लगाएर मात्र भेट्न आऊ भनेको महात्मा गान्धी स्वयम्ले लेखेका छन् । तपाईंले त साधारण र अनौपचारिक पोसाकमै महारानी एलिजावेथलाई भेट्न र फोटो खिचाउन पाउनुभएको रहेछ । ती संस्मरणहरु तपाईंको पुस्तकमा किन छुटे ?’
‘ती पनि टिपेको छु । पहिलो पुस्तकमा प्रकाशकले जे खोजे, जे भेटे, त्यही छापे । अब अर्को संस्मरण आउँछ, तपाईंले भनेजस्ता कुरा समेटेर । त्यसका लागि अलि समय लाग्ला । करिब १० वर्ष संसार घुम्दा देखेको र भोगेको कुरा एउटै पुस्तकमा कसरी समेट्नु !’

म हराउन होइन विजयको लागि हिँडेको थिएँ । यसरी पनि संसार घुम्न सकिन्छ भन्ने देखाउन हिँडेको थिएँ । त्यसले मलाई भावनामा बग्न दिएन ।’

‘संसार घुम्दा सबैभन्दा सुन्दर लागेको देश र सम्झिरहने ठाउँ चाहिँ …?’ घुमन्ते अनुभवतिर मोडियौँ हामी ।
‘संसारको सबैभन्दा सुन्दर देश हो–स्वीटजरल्यान्ड । त्यहाँको सुन्दरता केही मानवनिर्मित छ, केही प्राकृतिक । देश यसरी विकास गर्न सकिन्छ है भन्ने सिकाउँछ स्वीटजरल्यान्डले । त्यसपछि मलाई साह्रै राम्रो लागेको हुन्–पेरु, बोलिभिया । मानिसहरु पनि असाध्यै मजाका । हेर्दा पनि नेपालीजस्तै । म जाँडको सौखिन । पेरुमा बसेर कोदोको जाँड खाँदा उनीहरुको भाषा नबुझे पनि भावनाले म आफन्त भएको थिएँ । मलाई ती ठाउँ घुम्दा नेपालै घुमेजस्तो लागेको थियो । रंग, व्यवहार, आत्मीयताले ती देश आज पनि सम्झिरहन्छु । त्यसपछिको राम्रो, प्राकृतिक सुन्दरताले भरिएको, मौसमी विविधता, स्रोत र साधन सबैले सुन्दर र धनी देश हो हाम्रो तर के गर्नु…..।’ निःशब्द हुँदै हामीलाई हेर्छन–पुष्कर ।
विश्व घुमेर फर्केको साइकले घुमन्तेका आँखा डबडबाउँछन् । शायद उनको मनले देशको सुन्दरता, श्रोत र गरिबी अनि संसारको विकास नियालेकाले होला मन अमिलो भएको अनुभव भयो–हामीलाई । हाम्रा आँखा पनि रसिला बनाइदिए उनले । सन्नाटामै रोकियौँ–हामी ।

कुराकानीकै बीचमा पुष्कर जुरुक्क उठे, पानी तताए र इलामेली ग्रीन टी हालेको तातो पानीको ठूलो कप लिएर हामीछेउ राख्तै पीरामा बसे । हाम्रो कुराकानी फेरि अघि बढ्यो उनका समसामयिक गतिविधितिर । पुष्कर अहिले विश्व साइकल यात्री प्रतिष्ठानबाट संसारभरका साइकल यात्रीलाई नेपाल चिनाउने, घुम्न प्रेरित गर्ने काम गरिरहेको संस्थाका जिम्मेवार सदस्य छन् । हप्ताको एक दिन शनिवार साइकल यात्री प्रतिष्ठानलाई समय दिन्छन् । दोलखाको जिरीमा बहिराहरु पढाउने स्कूल सञ्चालन गरिहेका छन् । जुन स्कूलले बहिराहरुलाई शिक्षा दिने र बाँच्न समर्थ बनाउने सीप प्रदान गर्छ । काठमाडौँमा बसेका छन्, व्यापार–व्यवसाय त केही छैन तर उनीसँग संसारलाई माया गर्नसक्ने मुटु छ । त्यही मुटुको धड्कन बाँडेर उनी एउटा प्रचारक, घुमन्ते अनि नेपाललाई विश्वका १५० देशसँग चिनाउने अवैतनिक र स्वयम्सेवी दूतको रुपमा काम गरिरहेका छन् ।

‘तपाईंले संसार घुम्नुभयो, धेरै साइकल यात्रीहरु तपाईंसँग सम्पर्कमा छन्, तपाईंका कारण कतिपय घुमन्तेहरु नेपाल आउँछन् । तपाईंलाई नेपाल पर्यटन बोर्डले पर्यटनदूत बनाएको छ कि छैन ?’– हामी सरकारी चासोतिर मोडियौं ।
‘किन चाहियो, यो दूतसुतको कुरा ? मलाई देशले एउटा नागरिकता दिएकै छ । गौरवसाथ म यो देशको नागरिक हुँ भन्न पाएकै छु । संसार घुम्न मन लागे हरियो पासपोर्ट दिएकै छ देशले । मलाई योभन्दा ठूलो चिनारी के चाहियो र ? संसारमा देश नभएका मानिसहरु, नागरिकता र पासपोर्ट नभएका मानिसहरुको पीडा हेर्नुस् त ! यो चिनारी कम महत्वको छैन । देशको चिनारीविहीन हुँदाका ती भुटानीहरु सम्झनुस्–कति बिजोक छ ! बाँकी रह्यो देशको कुरा, देशलाई चाहिएको भए एकदिन खोजी होला । मैले सकेको गर्दैछु । तपाईंले भनेको कुरा भइदिए मेरो जिम्मेवारी अझै बढ्ने थियो ।’ हामी फेरि स्तब्ध हुन्छौँ–पुष्करका शब्दले । उनको उत्तरमा बारम्बार हृदय छेड्ने शब्द हुन्छन् ।
संसारका १५० देशमा नेपालको झण्डा बोकी १० वर्ष भन्दा बढी समय विताएको युवालाई यो देशले पर्यटन दूत बनाउन किन चुकेको ? किन गर्न नसकेको यति सानो निर्णय ? प्रश्नैप्रश्न उठिरहे मेरो मनमा । हामीले यति कुराकानी गरिसक्ता, पुष्करले दुई पटक हाम्रो ग्रीन टीमा पानी थप्न भ्याइसकेका थिए ।

पुष्करको सादगीपन, सोच्ने तरिका र वार्ता गर्ने रसिक तरिका देखेर मनमनै भन्यौँ, पुष्कर तिमी जसरी साइकलमा कुनै आवरण नराखी घुम्छौ त्यसरी नै तिमी हृदय खोलेर देखाउन सक्छौ । कति पारदर्शी र खुला यी पुष्कर ! खुला हुनसक्नु मै त छ महानता ! सानो मन भएकाहरु आफ्नै छो धौधौ हुन्छन्–धन्य पुष्कर, रसिक पुष्कर !

पुष्कर अहिले विश्व साइकल यात्री प्रतिष्ठानबाट संसारभरका साइकल यात्रीलाई नेपाल चिनाउने, घुम्न प्रेरित गर्ने काम गरिरहेको संस्थाका जिम्मेवार सदस्य छन् । हप्ताको एक दिन शनिवार साइकल यात्री प्रतिष्ठानलाई समय दिन्छन् । दोलखाको जिरीमा बहिराहरु पढाउने स्कूल सञ्चालन गरिहेका छन् । जुन स्कूलले बहिराहरुलाई शिक्षा दिने र बाँच्न समर्थ बनाउने सीप प्रदान गर्छ । काठमाडौँमा बसेका छन्, व्यापार–व्यवसाय त केही छैन तर उनीसँग संसारलाई माया गर्नसक्ने मुटु छ । त्यही मुटुको धड्कन बाँडेर उनी एउटा प्रचारक, घुमन्ते अनि नेपाललाई विश्वका १५० देशसँग चिनाउने अवैतनिक र स्वयम्सेवी दूतको रुपमा काम गरिरहेका छन् ।

हामी खुला हाँसोहाँसेर तस्बीर खिच्दै उनको निवासबाट बिदा हुन्छौँ । बाहिरसम्म आएर हामीलाई बिदा गर्छन्–पुष्कर निश्छल मुस्कानमा । अन्तिममा उनी थप्छन्– ‘मलाई बनाउने म हैन, यही समाज र विश्वका कमलो हृदय भएका मानिस हुन् । म त एउटा फक्कड घुमन्ते । तर मजति समृद्ध मानिस शायदै होलान्–संसारमा । यो म बसेको घर मेरो होइन तर मलाई यहाँ बस्न र खान कुनै रोकटोक छैन । घुम्न चाहँदा साइकल र पासपोर्ट छँदै छ । माया गर्ने र हेरविचार गर्नेहरु संसारभरि नै छन् । योभन्दा बढी के चाहिन्छ–मान्छेलाई ? तपाईं जुनसुकै बेला यहाँ आउन सक्नुहन्छ । अहिले बिदा । बाई ।’

(परिवर्तनकर्मी ध्रुव प्रसाद घिमिरे र कार्यकारी सम्पादक धीर भण्डारीले गर्नुभएको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्