अब गीत बजाए वापत सार्वजानिक गाडीले रोयल्टी तिर्नुपर्ने



काठमाडौं, १८ चैत

सार्वजनिक गाडीमा गीत बजाए वापतको रोयल्टी नतिरे अब गाडीको नवीकरण र रुट इजाजतको प्रमाणपत्र नै नपाइने भएको छ । यातायात व्यवस्था विभागले आइतबार जारी गरेको व्यवस्थापन कार्यविधि निर्देशिकाले गाडीमा गीत संगीत बजाए वापतको रोयल्टी नतिरेसम्म रुट इजाजत नदिने प्रावधान राखेको छ ।

निर्देशिकाका बाटो इजाजतसम्बन्धी व्यवस्थाको २९ नम्बर बुँदामा बाटो इजाजत पाउन र नवीकरण गर्न संगीत रोयल्टी चुक्ता गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ । अब संगीत रोयल्टी नतिरेसम्म संगीत रोयल्टी संकलन समाजले प्रमाणपत्र नै दिनेछैन र प्रमाणपत्र नलिएसम्म गाडीको वाटोको इजाजतपत्र नै नवीकरण हुनेछैन ।
‘सार्वजनिक गाडीको संगीत रोयल्टीको प्रमाण चुक्ता नगरेसम्म रुट इजाजतको प्रमाणपत्र नै नदिने व्यवस्था हामीले कार्यविधिमा गरेका छौं’, यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भन्नुभयो, ‘यो कुरा पहिले नै अरु कानुनमा उल्लेख भए पनि अब रोयल्टी चुक्ताको प्रमाण पेश नगरेसम्म गाडीको नवीकरण नै नहुने गरी कानुन कार्यान्वयन हुन्छ ।’

प्रतिलिपि अधिकार २०५९ ले नै जुन सार्वजनिक ठाउँ या गाडीमा गीत बजाइन्छ त्यसले गीत संगीत बजाएवापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।

कुन गाडीले कति तिर्नुपर्छ ?
यो नियम सार्वजनिक गाडीमा मात्रै लागु हुनेछ । निजी गाडीले गीत बजाएवापत रोयल्टी तिर्नुपर्ने छैन् । रोयल्टी संकलन समाजको महासचिव महेश खड्काका अनुसार गाडी अनुसार फरक फरक दरमा गीत संगीत रोयल्टी शुल्क तिर्नुपर्नेछ ।

ठूला बस – वार्षिक २ हजार रुपैयाँ
मिनी बस – वार्षिक १४ सय रुपैयाँ
ट्याक्सी, माइक्रो, जीप, हायस – वार्षिक १ हजार रुपैयाँ
ट्रक तथा ट्यांकर – वार्षिक १२ सय
मिनी ट्रक – वार्षिक १ हजार
पिकअप गाडी – वार्षिक ९ सय
तिनपांग्रे टेम्पो – वार्षिक ८ सय

गाडीले तिरेको पैसा कसरी कलाकारको हातमा पुग्छ त ?
यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयमा रोयल्टी समाजका प्रतिनिधि बसेर पैसा उठाउने छन् । सार्वजनिक गाडीले जहाँबाट गीत डाउनलोड गरेर बजाए पनि या गीत नै नबजाइ रेडियो बजाए पनि रोयल्टी तिर्नैपर्ने समाजले जनाएको छ । देशभरी रहेका २ लाख सार्वजनिक गाडीबाट वार्षिक २० करोड रुपैयाँ उठ्ने र त्यो पैसा कलाकारलाई बाँडिने रोयल्टी संकलन समाजको महासचिव महेश खड्काले जानकारी दिनुभयो ।

‘अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर युट्युवलाई आधार बनाउँछौं, रेडियो टिभीमा बजेका गीत, मेला महोत्वसमा बजेका गीत, आरविटी, सदस्यता अनि पुराना गायक आदीको आधारमा हामीले उठेको रोयल्टी वितरण गर्छौ ।’ प्रस्तोता समाजको अध्यक्ष तुलसी पराजुलीले भन्नुभयो ।

कलाकारलाई न्याय हुने दिन आए : कलाकार
पहिले क्यासेट र डिभिडी विक्रि हुँदा कलाकारले गीत संगीतबाट पनि पैसा कमाउँथे । तर पेनड्राइभ र मोबाइलको जमाना आएपछि भने कलाकारले गीत गाउने तर पैसा नपाउने अवस्था आयो । एक ठाउँबाट गीत बाहिरिएपछि क्षणभरमै करोडौं मोबाइल र पेनड्राइभ अनि सामाजिक सञ्जालमा पुगिहाल्छ । कलाकार अहिले बाँच्ने भनेको कन्सर्ट, महोत्सव र सांगीतिक कार्यक्रमबाटै हो । धेरै कलाकारले त कलाकारितालाई फुर्सदको समयमा राखेर अन्य काम गर्छन । तर अब भने कलाकारलाई केही राहत हुने कलाकारहरु बताउँछन् ।

‘नेपालको संगीत इतिहासमै पहिलोपटक सार्वजनिक गाडीमा गीत बजाएवापत रोयल्टी तिर्नुपर्ने कार्यविधि बनेको छ, यो हाम्रो लागि निकै नै खुसीको कुरा हो’, संगीत रोयल्टी संकलन समाजको महासचिव महेश खड्काले भन्नुभयो, ‘यसले निर्माता गायक गायीकालगायतलाई खुशी दिएको छ, धेरै पैसा तिर्न पर्दैन दिनमा १ कप चिया खाने पैसा जोगाए मात्रै पुग्छ र कलाकारलाई न्याय हुन्छ ।’

वर्षमा २० करोड रुपैयाँ भन्दा धेरै संगित रोयल्टी उठ्ने अनुमान गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रस्तोता समाजको अध्यक्ष तुलसी पराजुलीले भन्नुभयो, ‘हामीले राज्यसँग धेरै अनुरोध गर्‍यौं, हारगुहार गर्‍यौं, विभागमा यातायात व्यवसायीहरुसँग धेरैपटक बस्यौं, तर माग सुनुवाइ भएको थिएन अहिले निर्देशिका मै आयो, अब यातायात व्यवस्था विभाग अन्तरगतका ३१ वटै कार्यालयमा हाम्रा प्रतिनिधि बस्नेछन र रोयल्टी उठाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्