तनाव कम गर्न आध्यात्मिक अभ्यास



काठमाडौँ, ७ चैत

कालीमाटीस्थित काठमाडौँ इञ्जिनीयरिङ कलेजकासञ्चालक, प्राध्यापक र कर्मचारीको कार्यकुशलतालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले आध्यात्मिक अभ्याससहितको तालीम कार्यक्रम आयोजना गरिएको छ ।

तीनदिने योग, प्राणायाम र ध्यानसहितको तालीमको संस्थामा काम गर्दा कार्यसम्पादनलाई चुस्त बनाउने सीप प्रदान गर्ने लक्ष्य रहेको थियो ।

काम गर्दा उत्पन्न तनावको व्यवस्थापन गर्न नसक्दा लक्षित प्रतिफल प्राप्ति हुँदैन । कार्यशालामा ‘आर्ट अफ लिभिङ’मा आबद्ध निभा प्रधानले कलेजका सञ्चालक, प्राध्यापक र कर्मचारीलाई आफ्नो काम र जीवनलाई कसरी व्यवस्थित गर्ने, मनलाई कसरी स्थिर राख्ने, तनावबाट मुक्त भएर कसरी काम गर्ने, आफ्नो विचार कसरी प्रष्ट रुपमा व्यक्त गर्नेलगायत विषयमा तालीम दिनुभयो ।

सो अवसरमा कलेजका प्राचार्य चाँद रानाले व्यक्तिलाई हृदयदेखि धन्यवाद दिँदा उसमा पनि ऊर्जा बढ्ने र आफूमा पनि प्रफुल्लता आउने अनुभव सँगालेको सुनाउँदै तालीम लिएपछि चाहे जे काम पनि गर्नसक्छु भन्ने आँट आएको बताउनुभयो ।

कार्यक्रममा सहभागी इञ्जिनीयर प्रा डा दिनेशकुमार शर्माले तनावका बेलामा श्वास छिटोछिटो चल्ने र शरीरमा कडापन पनि बढ्दै जाने भएकाले व्यायामद्वारा शरीर लचिलो र लामो गहिरो श्वासप्रश्वासको अभ्यास गर्दा स्वतः कम हुने आफ्नो अनुभव सुनाउनुभयो ।

इ राजन लामा, सरस्वती थापालगायतले शरीर र मन दुवैलाई व्यवस्थित गरेर सकारात्मक ढंगले काम गर्ने तौरतरीकाका लागि आध्यात्मिक अभ्यास गर्नुपर्ने विचार राख्नुभयो । आइतबारदेखि शुरु भएको तालीममा १०० जनाको सहभागिता थियो । कलेजले १० वर्षदेखि लगातार योगको विशेष कक्षासमेत सञ्चालन गर्दै आएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्