तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह



भक्तपुर, ७ चैत

वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा आगामी तीन महिनाभित्र सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालन गर्न प्रतिनिधिसभा र स्थानीय तहका जनप्रतिनिधिले आग्रह गर्नुभएको छ ।

भक्तपुर अस्पतालले आइसियु सञ्चालनमा चासो नदिएपछि जिल्ला समन्वय समिति भक्तपुरले आज अस्पतालमा आयोजना गरेको छलफल कार्यक्रममा जनप्रतिनिधिले कुनै पनि हालतमा आइसियु सेवा सञ्चालन गर्न अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई निर्देशन दिएको हो ।

एकसय तेह्र वर्ष पुरानो भक्तपुर अस्पतालमा आइसियु सञ्चालनका लागि तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा तत्कालीन अस्पताल व्यवथापन समितिका अध्यक्ष एवं वर्तमान जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको पहलमा रु एक करोड ५० लाखको प्राविधिक सामान ल्याए पनि ती सामान अहिले थन्किएर बसेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आगामी तीन महिनाभित्र आइसियु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“सरकारी अस्पतालमा आइसियु नहुँदा निजीमा बिरामी रिफर गर्ने र त्यहाँबाट कमिसन खाने प्रवित्ति बढ्दो छ, निजीमा बिरामी रिफर हुँदा दोहोरो मारमा बिरामी पर्ने गरेका छन्, त्यसैले आगामी तीन महिनाभित्र आइसियु चलाउनुहोस् ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र र सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतल सो अस्पतालमा आइसियु सञ्चालनका लागि योजनासहित नगरपालिकामा आए सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आइसियु सेवा सञ्चालनका लागि आएको सामाग्रीको सदुपयोग गरेर सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

शून्यबाट सेवा शुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले धेरै प्रगति गरेपनि भक्तपुर अस्पताल खस्किदै गएको उहाँको भनाइ थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटाले आइसियु सञ्चालनका लागि बनाइएको पूर्वाधार कामै नलाग्ने भएकाले काम नभएको जनाउनुभयो ।

उहाँले भन्नुभयो–“एक त आइसियु कक्ष पनि काम छैन, अर्कोतर्फ आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति छैन, रिक्समा आइसियु सञ्चालन गर्न सकिदैन, बरु उच्च उपचार कक्ष चलाउन सकिन्छ ।” (रासस)

प्रतिक्रिया दिनुहोस्