सन्तपुर स्थित दलित बस्ती पर्यटकीय आकर्षणको केन्द्र बन्दै



रौतहट, ७ चैत

रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्ती आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि बस्ती र्हेन आउने संख्या दिनहु जसो बाक्लो हुदै गएको छ ।

त्यस्तै, विपन्न समुदाय नयाँ घरमा बस्न पाएपछि स्वर्गमा बस्न पाएकोमा खुसी छन् । कयौ वर्ष देखि छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् ।

वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली लाई भगवान् मान्ने गरेका छन् । देशका ठूलाठूला नेता तथा कलाकार बस्तीमा आइरहेकोमा स्थानीय दलित स्वर्ग हेर्न आएको मान्न थालेका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर बस्ती हस्तान्तरण गरेका धुर्मुसले ४७ वटा घर, एउटा प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर, भ्युटावर लगायतका ५० भन्दा बढी संरचना निर्माण गरेका थिए ।

बस्तीमा निमाण गरिएका संरचना भूकम्प प्रतिरोधी, वातावरणमैत्री, अपांगमैत्री, सरकारी मामपदण्ड अनुसारका छन् । दुईतले घरका तल दुई कोठा र माथि दुई कोठा छन् भने शौचालय घरभित्रै छ ।

उक्त नमुना बस्तीमा विद्यालय, मन्दिर, सामुदायिक भवन समेत रहेको छ । बस्ती २६१ श्रमिकले दिनरात परिश्रम गरेर तयार पारेका हुन् । सबै घरमा रातो रङ लगाइएकाले टाढैबाट उक्त बस्ती आकर्षक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्