तीन राप्रपा मिलाउने कसरतमा पूर्वराजाको राजावादी पार्टीसँग छलफल



काठमाडौं, ६ चैत

तीन राप्रपाबीच एकता हुनुपर्ने भनि दोस्रो तहका नेताहरुबीच पछिल्लो समय विभिन्न चरणमा छलफल भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले समेत चासो देखाएका छन् । गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्नु पार्टी फुटकै कारण रहेको राप्रपाभित्र तीब्र बहस हुँदै आएको छ । यही बेला हाल प्रदेश नम्बर १ को झापामा रहेका पूर्वराजाले तीन राप्रपाका दोस्रो तहका नेतासँग पार्टी एकताबारे छलफल गरेको भेटमा सहभागि एक युवा नेताले लोकान्तरलाई जानकारी दिए ।

नाम उल्लेख नगर्न आग्रह गर्दै ती नेताले आइतबार साँझ आफूहरुको पूर्वराजासँग भेटवार्ता भएको बताए । भेटका क्रममा पूर्वराजाले राजतन्त्र र हिन्दुराष्ट्रमा आस्था राख्ने पार्टीहरु कमजोर बन्न पुगेको भन्दै मिलेर अघि बढ्न दवाव दिएका थिए । पूर्वराजाले कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तहका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

भेटमा सहभागि नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डामा जनता रहेको भएपनि पार्टी कमजोर बन्दा सशक्त बनाउन नसकिएको धारणा राखेका थिए । पुरानै पुस्ताको नेतृत्वमा एकता गर्न सकस हुने अवस्था रहेकाले दोस्रो तहका युवा नेतालाई नेतृत्व दिएर एकता गर्दा जनतामा पनि सकारात्मक सन्देश जाने र पार्टी मिलाउन पनि सहज हुने धारणा पूर्वराजासँगको भेटमा राखेको ती नेताको भनाई छ । छलफलमा सहभागिको धारणा सुनेपछि पूर्वराजाले सबै राप्रपा एक होउन् भन्ने आफ्नो चाहना रहेको भन्दै एकतामा लाग्न सुझाव दिएका थिए ।

स्रोतका अनुसार कमल थापा नेतृत्वका राप्रपाका बुद्धिमान तामाङ, प्रह्लाद शाह, राणा नेतृत्वको राप्रपाका सुरेश आचार्य, सगुन सुन्दर लावती, लोहानी नेतृत्वको राप्रपाका तारानाथ लुइँटेललगायतका दर्जन नेतासँग पूर्वराजाले छलफल गरेका हुन् । भेट पूर्वराजाको स्वामित्वमा रहेको झापास्थित हिमालयन चिया बगानमा भएको थियो । पछिल्लो समय पूर्वराजाले प्रमुख दलहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्