यति नालायक प्रतिपक्षी भाग्यमानी प्रधानमन्त्रीले मात्र पाउँछ



काठमाडौं, ६ चैत

केपी ओलीलाई बधाई दिनुपर्ने अनेक कारण छन् । प्रधानमन्त्री बनेकोमा सबैले बधाई दिए । नेपाली कांग्रेस जस्तो कमजोर प्रतिपक्षी पाएकोमा पनि बधाई दिनुपर्ने भयो । प्रतिपक्षीका रुपमा कांग्रेसको लुते सुरुआतमा झन् धेरै बधाई दिनुपर्ने भयो ।

अहिलेको कांग्रेस जुन गति र मतिमा छ, यस्तो प्रतिपक्षी भाग्यमानी प्रधानमन्त्रीले मात्र पाउँछ । बधाई केपी ओलीजी । हुनत यो बधाई ब्यंग्य जस्तो लाग्ला तर यो तितेकरेला जस्तो सत्य हो ।

सत्तामा रहँदा कांग्रेसले केके गर्यो त्यसको चर्चा नगरौं । प्रतिपक्षी बनेपछि कांग्रेसले ‘आन्दोलन’ थालेको छ । आन्दोलनको विषय छ– गणेश लामालाई रिहा गर ।

गणेश लामालाई कारवाही नगर्नु रे, कारवाही गर्नु गलत हो रे । गणेश लामालाई पक्राउ गरेर ओली सरकारले दमनकारी नीति लियो रे । यहाँ गणेश लामा को हुन् भनेर थप वेलिविस्तार लगाइरहन नपर्ला । ख्यात व्यक्ति हुन् गणेश । कांग्रेसले प्रदेश सभामा उम्मेदवार बनाएको थियो । यस्तो ख्यात व्यक्तिलाई पक्राउ गरेर ओली सरकारले दमनकारी नीति लियो भनेर कांग्रेसले आन्दोलन थालिसक्यो काभ्रेबाट ।

प्रतिक्षा यो छ कि गणेश लामालाई रिहा गर भनेर थालिएको आन्दोलनमा विश्वप्रकाश शर्मा, गगन थापा र धनराज गुरुङजस्ता कांग्रेसको भविष्य भनेर कहलिएका नेताहरु कहिले सामेल हुन्छन् ?

हेल्मेट खोई ओली ?

लोकतन्त्रमा प्रधानमन्त्रीले सदासर्वदा अदृष्य हेल्मेट लगाएर बस्नुपर्ने हुन्छ । लोकतन्त्र भनेको जति सत्तापक्ष हो, त्योभन्दा धेरै प्रतिपक्ष हो । लोकतन्त्र तबमात्र शशक्त हुन्छ जब सत्तापक्षभन्दा प्रतिपक्ष गतिलो हुन्छ ।

कांग्रेस कति गतिलो छ ? गत चुनावसम्म कांग्रेस गतिलो थिएन । गति न मतिको थियो । त्यसैले चुनावमा विष्यमयकारी विजोग भोग्यो । पराजित पार्टी प्रतिपक्षी बनेपछि सुध्रन्छ भन्ने अपेक्षा गरिन्छ । कांग्रेस सुध्रने अपेक्षा गरिनु स्वाभाविक हो । तर, कांग्रेस सुध्रने बाटोमा गयो त ? अहँ, गएन ।

सत्तापक्ष तर्सनु र झस्कनुपर्ने, डराउनुपर्ने खालको प्रतिपक्षी हुनुपर्छ । तर, प्रतिपक्षीको चालामाला देखेर प्रधानमन्त्री केपी ओली पक्कै तर्संदैनन्, खित्का छाडेर हाँस्दा हुन् ।

ओली हाँसिरहन्छन्, हँसाइरहन्छन् । प्रतिपक्षी कांग्रेसलाई देखेर उनी पहिलो पटक शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेता बन्दा हाँसे होलान् । शेरबहादुरले समालेको कांग्रेसको गति देखिसकेका ओलीले देउवा नै प्रतिपक्षी दलको नेता बनुन् भनेर भाकल गरेका थिए होलान् । ओलीको भाकल पूरा भयो, देउवा नै दलका नेता बने । देउवा जस्ता हजार ठाउँ चुकिसकेका नेतालाई विरोधी दलको नेताका रुपमा पाउँदा ओली खुशी नहुने कुरै भएन ।

कांग्रेसमा गतिला मानिस नभएका होइनन् तर देउवा नै दलको नेता बने । प्रतिपक्षी दलको नेता को बन्छ भन्ने प्रधानमन्त्रीको चासोको विषय हुने नै भयो । देउवा जस्ता भुत्ते पात्र विरोधी दलको नेता बने । अर्थात्, भविष्यमा आफू विरुद्ध नैतिक प्रश्न उठाउने कुनै ल्याकत र नैतिक धरातल नै नभएका देउवा संसदीय दलको नेता बन्नु ओलीका लागि शौभाग्य हो र लोकतन्त्रका लागि दुर्भाग्य हो ।

प्रधानमन्त्रीले हेल्मेट लगाउनै नपर्ने विचित्र लोकतान्त्रिक अवस्थामा छ देश ।

ओलीको दोस्रो हाँसो

देउवा दलको नेता बन्दा ओली पहिलो पटक हाँसे । दोस्रो पटक चाहिँ कांग्रेसले मसाल जुलुस निकाल्दा हाँसे होलान् । काभ्रे कांग्रेसले गणेश लामालाई रिहा गर भन्दै निकालिएको जुलुशमा धरपकड पनि भयो । तथापि, कांग्रेसको जुलुशको विषय सुनेर ओलीको खुशीको कुनै सीमा रहेन होला ।

क्रिकेटमा बलिङ गर्नेले पहिलो ओभरमै विकेट लिएजसरी खुशी भए होलान् ओली । काभ्रे कांग्रेसको मसाल जुलुश ओलीका लागि विकेट हो । गणेश लामालाई रिहा गर भन्दै जुलुश निकाल्नु भनेको कुनै आन्दोलन होइन, यो त कांग्रेसको विकेट गिरेको हो । सत्ता र प्रतिपक्ष दुई टिमको खेलमा पहिलो ओभरमै प्रतिपक्षी कांग्रेसको विकेट गिरेको छ । कठै कांग्रेस !

देशको शौभाग्य र कांग्रेसको दुर्भाग्य के भने प्रधान न्यायाधीश गोपाल पराजुली अलि चाँडो विदा भए । गणेश लामालाई जोगाउन आन्दोलन गर्ने कांग्रेसले गोपाल पराजुलीलाई जोगाउन पक्कै आन्दोलन गथ्र्याे होला, त्यो मौका पाएन । पराजुलीलाई पुनर्वहाल गर भनेर कांग्रेसले आन्दोलन गर्यो भने अनौठो नमाने हुन्छ ।

कांग्रेसले छायाँ सरकार बनायो, देउवा छायाँ प्रधानमन्त्री बने । छायाँमा त पदको धेरै माया हुँदैन होला, त्यसैले देउवा लोकप्रिय पथमा लम्किएलान्, ओली सरकारलाई हावाकावा खेलाउलान् भन्ने धेरैको अपेक्षा थियो । ओली सरकारको भण्डाफोरमा कांग्रेसले कुनै कसर बाँकी राख्दैन भन्ने अपेक्षा अस्वाभाविक थिएन । कांग्रेसले भण्डाफोर थालेको छ तर आफ्नै । कांग्रेसले सत्तापक्षको होइन आफ्नै वस्त्र उतारेर प्रतिपक्षी धर्म निर्वाह थालेको छ ।

यति नालायक प्रतिपक्षी भाग्यमानी प्रधानमन्त्रीले मात्र पाउँछ ।

यो भाग्य कि दुर्भाग्य ?

छिमेकी भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसत्तावादी बाटोमा जाँदैछन् । चीनमा त्यहाँका राष्ट्रपति सी जीन पिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्दैछन् । चीनको राजनीतिक व्यवस्था बेग्लै हो तर भारतमा प्रतिपक्षी सहितको लोकतन्त्र हो । भारतमा प्रतिपक्षी कांग्रेस यति कमजोर छ कि मोदीको सर्वसत्तावाद तर्फको यात्रामा प्रतिपक्षले तगारो लगाउन सक्दैन र सकेन पनि ।

नेपालमा त्यस्तो होइन, संसदीय गणितका दृष्टिले कांग्रेस दोस्रो ठूलो पार्टी हो । लोकतान्त्रिक आन्दोलनको अगुवा हो । गैरवामको एकछत्र नेतृत्व उसैले गर्छ । यता, प्रधानमन्त्री केपी ओली दुई तिहाईको समर्थन प्राप्त प्रधानमन्त्री हुन् । ओली असाध्यै बलिया छन् । यति बलिया प्रधानमन्त्रीको प्रतिपक्षी पनि बलियो हुनुपर्छ । लोकप्रिय हुनुपर्छ ।

ओलीको लोकप्रियता चरममा छ । देउवाको अतित र वर्तमानका गतिविधि विचार गर्दा यसो पनि भन्न सकिन्छ – ओली असाध्यै अलोकप्रिय बनेको अवस्थामा पनि उनको लोकप्रियता देउवाभन्दा माथि नै हुनेछ ।

सत्तापक्ष असाध्यै बलियो हुनु अनि प्रतिपक्षी असाध्यै नालायक हुनु लोकतन्त्रको स्वास्थ्यका लागि हानिकारक छ । कांग्रेसजनहरु भन्छन्, एकतन्त्रको खतरा छ, तानाशाहीको खतरा छ, सर्वसत्तावादको खतरा छ । ओली तथा वाम गठवन्धनको खतरा थिएन भने पनि अब चाहिँ छ । यति लुते प्रतिपक्ष भएको लोकतन्त्रमा एकतन्त्रको खतरा हुन्छ । सत्तापक्षलाई लगाम लगाउन र चाबुक हान्न सक्ने नैतिक भौतिक ल्याकत नभएको प्रतिपक्षी भएको ठाउँमा अनेक खतरा हुन्छ ।

प्रधानमन्त्री ओली कति बलिया छन् भनेर नाप्न सकिने कुनै ठोस आधार छैन । तर, नालायक कांग्रेसलाई देखेर भन्न सकिन्छ– प्रधानमन्त्री ओली असाध्यै बलिया छन् । यति कमजोर प्रतिपक्ष भएपछि सत्तापक्ष बलियो हुने नै भयो ।

भविष्यमा ओलीले बाटो विराए, गलत काम गरे भने कांग्रेसले खबरदारी गर्ने हो । आन्दोलन गर्ने हो । कांग्रेसले भविष्यमा जायज तथा जनसरोकारका विषयमै आन्दोलन गर्यो भने पनि आन्दोलन उठ्ने छैन । किनभने उसले आइन्दा कुनै आन्दोलन गर्नुपर्यो भने ‘गणेश लामा आन्दोलन’को फोहोर धोईपखाली गर्नुपर्ने हुन्छ । कांग्रेसले धोईपखाली गर्ला त ? अहँ, लक्षण देखिएन । बरु, भविष्यमा पनि गणेश लामाहरु जस्ताकै लागि आन्दोलन गर्ने लक्षण देखियो । गणेश लामाहरुकै लागि आँशु बगाउने देखियो ।

अर्थात्, प्रधानमन्त्री केपी ओलीले अहिले जसरी एकदुई पटक मात्र होइन बारम्बार दंग गरेर हाँस्ने मौका पाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्