को बन्ला सबै मन्त्रालयलाइ चलाउने गरी पावरफूल बिना बिभागीय मन्त्री ?



काठमाडौं, ६ चैत

प्रधानमन्त्री कार्यालय अन्तरगत रहने शक्तिशाली ‘विनाविभागीय’ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहकार्य थालेका छन् ।

प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली र चुस्त बनाउन प्रधानमन्त्री कार्यालयमा विनाविभागीय मन्त्री राख्ने सरकारको तयारी छ ।

राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति सुद्धिकरण विभाग जस्ता निकायलाई हेर्नेगरी प्रधानमन्त्री कार्यालयमा विनाविभागीय मन्त्री राख्ने ओलीको तयारी छ । संघ र प्रदेश सरकारबीच समन्वयनको भूमिका पनि सोही मन्त्रीले गर्नेछन् । संघीय व्यबस्था अपनाएका देशमा यस्तो मन्त्रालय राख्ने प्रचलन रहेको छ ।

शक्तिशाली विनाविभागीय मन्त्रीका लागि एमाले भित्र उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र नेता सुरेन्द्र पाण्डेको चर्चा छ । तीन मध्ये पूर्व अर्थमन्त्री पौडेलको सम्भावना बलियो रहेको एमाले स्रोतले जनायो ।

रुपन्देहीबाट लगातार तीनवटा चुनाव जितेका पौडेल ओली सरकारमा अर्थमन्त्रीका दावेदार थिए । यसअघि ओलीले प्रदीप ज्ञवालीलाई सो मन्त्रालयको जिम्मा लिन आग्रह गरेका थिए ।

ज्ञवाली परराष्ट्र मन्त्री बनेपछि विश्वासपात्र पौडेललाई सो मन्त्रालय दिने तयारी रहेको एमाले स्रोतले जानकारी दियो । सरकार बाहिर रहेपनि ओलीको कोर टिममा पौडेल छन् ।

भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिको एजेण्डा पूरा गर्न ओलीले प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउन लागेका हुन् । संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउने क्रममै विनाविभागीय मन्त्रीले शपथ लिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्