रूसमा पुटिनको २० वर्षे राज



भलाद्मिर पुटिन चौथो कार्यकालका लागि रूसी राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी अब सन् २०२४ सम्म राष्ट्रपतिको पदमा रहने छन्। यो कार्यकालसँगै पुटिनको रूसमा २० वर्ष लामो राज पूरा हुनेछ।

आइतबार ६ वर्षका लागि अत्याधिक बहुमतसहित पुटिन फेरि राष्ट्र चुनिएका हुन्। उनले ७६ प्रतिशत बढी मत पाएको रूसी निर्वाचन आयोगले जनाएको छ।

उनका प्रतिष्पर्धी पावेल ग्रुडिनिनले १२ प्रतिशत मत पाएका छन्।

यो जितसँगै यो शताब्दिका पहिलो एक चौथाइ शताब्दि पुटिनले रूसमा शासन गर्ने भएका छन्।

समर्थकलाई सम्बोधन गर्दै पुटिनले यो जित कठिन परिस्थितिमा आफूले पाएको विश्वासको मत भएको बताएका छन्।

‘यो एकता कायम राख्नु निकै महत्वपूर्ण छ, हामी हाम्रो महान मातृभूमिको भविष्यबारे सोच्नेछौं,’ पुटिनले भने।

६५ वर्षीय पुटिन २००० को मेमा पहिलो पटक रूसी राष्ट्रपति बनेका थिए।

रूसी स‌ंविधानमा लगातार दुई पटकभन्दा धेरै राष्ट्रपति बन्न नपाउने प्रावधान छ। सन् २००८मा आफ्नो दोस्रो कार्यकाल सकिएपछि उनले आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाए। र आफू प्रधानमन्त्री बने।

मेदभेदेभ राष्ट्रपति बने पनि सत्ताको साँचो भने पुटिनसँगै थियो। किनभने पार्टी र राज्यका सर्वशक्तिमान पुटिन नै थिए। उनले मेदभेदेभको कार्यकालको अन्तिमतिर संविधान संशोधन गर्न लगाएर राष्ट्रपतिको कार्यकाल ४ बाट ६ वर्ष पुर्‍याए।

त्यसपछि २०१२ मा उनी ६ वर्षका लागि राष्ट्रपति निर्वाचित भए। उनी फेरि राष्ट्रपति निर्वाचित भएपछि पुटिन कहिलेसम्म रूसो राष्ट्रपति हुनेछन् भन्ने अनुमान सुरू भएका छन्। दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने चिनियाँ संविधानको प्रावधानलाई राष्ट्रपति सी चीन फिङले भर्खरै संशोधन गराएका छन्। यो संशोधनसँगै सी लामो समयसम्म राष्ट्रपति रहने बाटो खुलेको छ।

चीनजस्तै लामो साम्यवादी इतिहास भएको रूसमा पनि पुटिन आजीवन राष्ट्रपति रहन चाहन्छन् भन्ने अडकल हुन थालेका छन्। उनी राष्ट्रपति निर्वाचित भएपछि एक पत्रकारले उनलाई सोधे- फेरि ६ वर्ष राष्ट्रपति हुने हुनुभो नि?

पुटिनले यो आफैंमा रमाइलो प्रश्न भएको बताए।

‘के तपाईं म १०० वर्षको हुँदासम्म पनि यहीँ हुन्छु भन्ने सोच्नुहुन्छ?,’ पुटिनले भने, ‘ अहँ, त्यतिञ्जेल म यहाँ बस्दिनँ।’ (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्