संघर्ष मृत्युको मुखदेखि मन्त्रीको कुर्सीसम्म बिना मगर



काठमाडौं, ४ चैत

दुई तिहाईभन्दा बढीको विश्वास रहेको केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारमा माओवादी केन्द्रको तर्फबाट बिना मगर खानेपानी मन्त्री बनेकी छन् । जनयुद्धकालमा मृत्युको मुखैमा पुगेर फर्किन सफल बिना मगर मुलुकका दुई ठूला पार्टी एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धनबाट मन्त्री बन्न सफल भएकी हुन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बिना मगर मन्त्री बनेपछि वर्तमान सरकारमा मगर समुदायको उपस्थितिलाई अझै दरिलो बनाएकी छन् । राज्यको दमन, सामाजिक विभेद र शोषणलाइ नजिकबाट भोगेकी बिना मगर १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै सांसदमा निर्वाचित भएर उनी मन्त्री समेत बनेकी छन् । कञ्चनपुर– १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी बिना मगर प्रतिनिधिसभामा कञ्चनपुरबाट पुग्ने पहिलो छोरीको रेकर्ड पनि बनाएकी छन् ।

राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल बिना मगरले १० वर्षे जनयुद्धमा सहभागी हुँदा २७ महिने नारकीय हिरासत जीवन बिताएकी छिन् । त्यतिबेला मृत्युको मुखबाट बचेर फर्किएकी बिना मगर अहिले प्रतिनिधिसभामा निर्वाचित भएर जिल्लाको विकासमा पनि उत्तिकै सक्रिय रहँदै आएकी छन् ।

पुनर्वासको अरनिको प्राविबाट शिक्षा आर्जन गर्न थालेकी बिनाले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरिन् । देश र समाज बुझ्ने क्रममा वर्गीय चेतनाको विकास हुँदै जाँदा बिना मगर विद्रोही बन्दै गइन् । राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्यका साथ बिना मगर २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी)को आन्दोलनमा सक्रिय भइन् । जनयुद्धको सुरूवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन पनि सुरु गरिन् । सुरुमा माओवादी आन्दोलनमा बिना मगरको सहभागिता जनकलाकारका रुपमा रहेको थियो । यही सिलसिलामा २०५६ सालमा बिना मगरले महिलाहरूको हकअधिकार प्राप्तिका लागि क्रियाशील अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्ष बनेर संगठनको विस्तार र महिला अधिकार स्थापित गर्नेतिर भूमिका निर्वाह गरिन् ।

राजनीतिको आगामी यात्रा र उच्च शिक्षा आर्जन गर्न बिना मगर काठमाडौं हानिइन् । काठमाडौंमा पनि तत्कालीन अखिल क्रान्तिकारीमा आवद्ध हुनुका साथै भूमिगत नेकपा माओवादीको पूर्णकालीन सदस्यको रूपमा काम गर्न थालिन् । क्याम्पस जीवनमा जुझारू नेतृको रूपमा स्थापित हुँदै बिना मगर राजधानीमा पनि लोकप्रिय हुँदै गइन् । रत्नराज्य क्याम्पसको स्ववियू सदस्य पदमा पाएको अत्यधिक मतले बिना मगर विद्यार्थीमाझ लोकप्रिय रहेको सावित भयो । उनी २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिन् ।

माओवादी आन्दोलन उत्कर्षमा पुग्दै गर्दा तत्कालीन सत्ताले संकटकाल घोषणा गर्यो । त्यो बेलामा पनि बिना मगर राज्यसत्ताको केन्द्र काठमाडौंमा माओवादी आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेकी थिइन् । राज्यले चलाएको ब्यापक धरपकड र दमन चलिरहँदा बिना मगरलाई २०६० सालमा तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गर्यो । “मानव बधशाला”का रुपमा चिनिएको भैरवनाथ गणमा उनले २७ महिना गुजार्नुपर्यो । बेपत्ताको अवस्थामा रहेकी बिनाले जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा बिना मगरले २७ महिनासम्म पाशविक यातना भोग्न वाध्य भइन् ।

सेनाको हिरासतमा रहँदा बिनालाई करेन्ट लगाउने, पानीमा डुबउने, पाइपले पिट्ने लगायतका अमानवीय यातना दिइएको थियो । सेनाको ब्यारेकमा २७ महिनासम्म कहिल्यै पेटभरि खान नदिइएको बिना बताउँछिन् । शरीरभरि यातनाका घाउहरू पाकेका र फोहोरले शरीरभरि जुम्रा परेका थिए । ६ महिनासम्म त नुहाउन पनि दिइएको थिएन । नियमित समयमा दिसापिसाबसम्म गर्न पाइँदैनथ्यो । कठ्याङ्ग्रिदो चिसो रातमा पनि एकसरो लगाएको कपडामा चिसो भूइँमा सुत्नु पर्दथ्यो । तत्कालीन शाही नेपाली सेनाको हिरासतमा रहँदा २७ महिनासम्म चौबीसैं घण्टा आँखामा कालोपट्टि र हात पछाडिपट्टि बाँधेर राखिएको थियो । बिना मगरसँग हिरासतमा रहेका धेरै सहयोद्धाहरू अझैं पनि बेपत्ताकै सूचीमा छन् । उनी सेनाको प्राविधिक कमजोरीले मात्र बाँच्न सफल भएकी थिइन् । आफ्ना धेरै सहयोद्धाहरुलाई बेपत्ता पार्न लैजाने सिलसिलामा ट्रकमा अट्ने ठाउँ नभएपछि बिना मगर संयोगवश ब्यारेकमै छुटेकी थिइन् । जसको प्रतिफल बिना जीवित रहन सफल भइन् । पुनः दोस्रोपटक पनि भैरवनाथ गणबाट बेपत्ता पार्ने मनसायले बिना मगर लगायतका बन्दीहरूलाई शिवपुरी ब्यारेकमा सारिएको थियो । त्यो बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको खोज र दबाबका कारण बेपत्ता पार्ने योजनालाई सेनाले स्थगित गरेर स्थान परिवर्तन गरी गोरखा ब्यारेक लगेको थियो । पछि मानवअधिकारवादी र परिवारको खोजबाट बिना मगर गोरखा ब्यारेकमा रहेको थाहा भएको थियो ।

यही समय मुलुकमा २०६२(६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गरिएको थियो । त्यसपछि अदालतले गैरन्यायिक हिरासतबाट बिना मगरलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर बिना मगर रिहा भएकी थिइन् । पार्टी बृहत शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पार्टीले बिना मगरको कार्यक्षेत्र काठमाडौं नै तोक्यो । उनले २०६४ सालमा पुनः अखिल क्रान्तिकारी काठमाडौंको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिन् । आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुका साथै प्रतिकूल परिस्थितिलाई अनुकूलतामा बदल्न सक्ने क्षमता भएकी बिनालाई अखिल क्रान्तिकारीले २०६४ सालको स्ववियू निर्वाचनमा सरस्वती क्याम्पस लैनचौरमा सभापतिको उम्मेदवार बनायो । अनेकौं प्रतिकूलताबीच नेविसंघ र अखिलको संयुक्त प्यानललाई भारी मतका साथ पराजित गरेर बिना मगर स्ववियू सभापतिमा विजयी भएकी थिइन् ।

विद्यार्थी आन्दोलनबाट बिदा भई पार्टी आन्दोलनमा प्रवेश गरेपछि बिना मगरले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाइन् । बिना मगरले आफ्नो जन्मभूमि कञ्चनपुरबाटै पार्टी राजनीति गर्ने निर्णय गरिन् । बाल्यकालमा आफूले देखेको अभाव र समस्याले बिना मगरमा कञ्चनपुरको दक्षिणी क्षेत्रको विकास गर्ने सोच र इच्छा छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर– १ बाट झिनो मतले पराजय व्यहोरिन् । निर्वाचनमा आफू पराजित भएतापनि उनी कञ्चनपुरका जनताको सेवामा निरन्तर समर्पित रहिन् । उनीहरुका सुख, दुःख, विकास, निर्माण लगायतका कामहरुमा अहोरात्र खटिरहिन् । आफ्नो क्षेत्रको विकास निर्माणमा दत्तचित्त भएर खटिएकी बिना मगर २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कञ्चनपुर– १ बाटै भारी मतान्तरले विजयी भइन् ।

निर्वाचनको प्रचारकै सिलसिलामा २०७४ मंसिर ३ गते एक्कासी पति प्रकाश दाहालको मृत्युले पतिशोकमा परिन् । झण्डै विक्षिप्तजस्तै भएकी बिना मगर आफूलाई सम्हाल्दै फेरि चुनावी प्रचारमा जुटिन् । जे भएतापनि यसपालि बिनाको भागमा जित पर्यो । प्रदेश नम्बर ७ बाट खानेपानी मन्त्री बनेकी बिनाको काधमा सिङ्गो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्र र समग्र नेपाली जनताको मुहार फेर्ने र समृद्ध नेपालको निर्माणका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गहन जिम्मेवारी आइपरेको छ ।

प्रतिक्रिया दिनुहोस्