मोबाइलमै अलमलिन्छन् सांसद…(फोटो फिचर)



नियमावलीले संसद् बैठकमा मोबाइल प्रयोग गर्न रोके पनि सांसद र मन्त्रीहरू हाकाहाकी फोन उठाउँछन्, फेसबुक चलाउँछन् अनि फोटोसेसन गर्छन्

३ चैत्र २०७४ काठमाडौँ

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यूएस बंगला विमान दुर्घटनाका दिवंगतप्रति शोक व्यक्त गर्न मौनधारण चलिरहेको थियो । त्यति नै बेला कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमको मोबाइलको घन्टी बज्न थाल्यो । उनले फोन काटे तर पनि बज्न छाडेन ।

प्रधानमन्त्री केपी ओलीले संसद्लाई सरकारले दुर्घटनाका घाइतेको उद्धार र उपचारमा गरेको प्रगति सुनाइरहँदा पनि सत्तापक्ष र विपक्षी सांसदको मोबाइल बजिरहेकै थियो ।

कतिपय सांसद मोबाइलमै फेसबुक र अन्य अनलाइन साइट चलाइरहेका थिए । एमाले सांसद मुकुन्द न्यौपाने संसद् प्रवेश गरेदेखि अन्तिमसम्मै मोबाइलमै घोत्लिरहेका देखिन्थे । सभामुखको ठीक अघिल्लो भागमा रहेको सत्तापक्षको दोस्रो पंक्तिमा सुरेन्द्र पाण्डेसँगै बसेका थिए उनी । सँगै बसेका अरू सांसदको ध्यान पनि मोबाइलमै थियो । बैठक चलिरहँदा पाल्पाका सांसद सोमप्रसाद पाण्डेले मोबाइलमा के देखे भनी हेर्न सँगै बसेका रवीन्द्र अधिकारी र पार्वत गुरुङबीच हानथाप नै चल्यो ।

शुक्रबारको बैठकका कार्यसूची प्रधानमन्त्रीबाट सार्वजनिक महत्त्वको वक्तव्य र उपसभामुख निर्वाचन थिए । तर, उपस्थित २ सय ६१ सांसदमध्ये सत्तापक्षकाको ध्यान को–को मन्त्री बन्दै छ भन्नेमा केन्द्रित थियो । उनीहरू मोबाइलमा यिनै विषयका समाचार हेर्न व्यस्त थिए ।

उपसभामुख निर्वाचनको नतिजा आउन बाँकी थियो । सत्तापक्षको पछिल्लो पंक्तिबाट सांसद रामकुमारी चौधरी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालनजिक पुगिन् र उनलाई मोबाइलमा केही देखाइन् । दाहालले मोबाइल हेरेर टाउको हल्लाए । त्यसपछि उनी आफ्नै कुर्सीमा फर्कंदा सबैले हात मिलाएर बधाई दिए । शुक्रबारै साँझ भएको मन्त्रिपरिषद् विस्तारमा चौधरीले कृषि राज्यमन्त्रीका रूपमा शपथ लिइन् ।
सत्तापक्षको अघिल्लो पंक्तिमा रहेका भीम रावल ट्याब्लेट चलाउन व्यस्त थिए भने प्रदीप ज्ञवाली मोबाइलमा । परराष्ट्रमन्त्री बन्ने पक्का भएपछि दौरा–सुरुवाल लगाएर उपसभामुख निर्वाचनमा पुगेका ज्ञवाली घरी मोबाइलमा केही नियाल्थे त घरी कसैलाई ‘कल’ गर्थे ।

बैठक चलिरहँदा प्रधानमन्त्री ओली र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि मोबाइल प्रयोग गरिरहेका थिए । यस्ता क्रियाकलापले संसद् बैठक नभएर कुनै अनौपचारिक जमघटको झल्को दिइरहेको थियो । सांसदहरू बाध्यताले उपसभामुख निर्वाचनमा बस्नुपरेझैं देखिन्थे ।

उनीहरूको ध्यान बैठकभन्दा मोबाइलमै केन्द्रित थियो ।

संसद्मा मोबाइल चलाउनु प्रतिनिधिसभाको अन्तरिम सभा कार्यविधिविपरीत हो । कार्यविधिको नियम १४ अन्तर्गत सांसदले पालना गर्नुपर्ने नियमको (ञ) मा बैठक कक्षमा मोबाइल फोन तथा अन्य कुनै विद्युतीय उपकरण प्रयोग गर्न नहुने उल्लेख छ । सत्तापक्ष र विपक्षी दलका शीर्ष नेता, मन्त्रीहरूले नै मोबाइल चलाएपछि अन्य सांसदले समेत नियम मान्न छाडेका छन् । पहिलो र दोस्रो बैठकमा अनुशासित देखिएका सांसद पछिल्लो बैठकमा भने सभातर्फ पीठ फर्काएर कुराकानी गरिरहेका समेत भेटिए । संसद्मा उनीहरू मोबाइल स्विचअफ त गर्दैनन् नै, साइलेन्स मोडमा समेत राख्दैनन् । बरु बैठक चलिरहेकै बेला हाकाहाकी कल ‘रिसिभ’ गर्छन् ।

संसद् बैठक बस्नुअघि माओवादी केन्द्र र एमाले सांसदलाई प्रशिक्षण दिँदै पूर्वसभामुख सुवास नेम्वाङले बैठकमा मोबाइल नचलाउन आग्रह गरेका थिए । तर, संसद्मा मोबाइल चलाउनेमा यिनै दुई पार्टीका सांसद अगाडि छन् । संसद् सचिवालयको कार्य व्यवस्थाका एक कर्मचारीले सांसदले आफैंले पारित गरेको नियम मिचेर बैठकमा ‘आफ्नो हैसियत बैठकमा प्रस्तुत गरेको’ टिप्पणी गरे । ‘के गर्ने, के नगर्ने भन्ने नियम उहाँहरूले नै पारित गर्नुभएको हो,’ ती कर्मचारीले भने, ‘बैठक चलिरहँदा निदाउने, अमर्यादित व्यवहार गर्ने, मोबाइल चलाएका दृश्य टीभीमा जनताले पनि हेरिरहेका हुन्छन् ।’ सचिवालयका अर्का कर्मचारीले भने, ‘बैठकमा नियमविपरीत काम नगर्न हामीले भन्नुभन्दा जनताले नै उहाँहरूको मूल्यांकन गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्