युवाको आवश्यकतालाई ध्यानमा राखेर नीति बनाउनुपर्ने



काठमाडौँ, १ चैत

युवा नीतिलाई युवाको प्रमुख आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने सुझाव सांसदले दिएका छन् ।

राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘युवासम्बन्धी रणनीतिक योजना तर्जुमाका लागि संघीय संसद्का सांसद’ सँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले युवाको आवश्यकतालाई ध्यानमा राखी युवा नीतिलाई परिमार्जन गर्नुपर्ने सुझाव दिएका हुन् ।

सो अवसरमा संघीय संसद् सदस्य नरबहादुर धामीले युवालाई रोजगार कसरी बनाउने भन्नेमा नीति केन्द्रित हुनुपर्ने बताउँदै युवालाई स्वदेशमा नै रोजगार दिनेखालको नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य पदम गिरीले विधमान युवा नीतिमा सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै युवालाई सीपमुलुक बनाउनेतर्फ नीति उन्मुख हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

राष्ट्रियसभा सदस्य हरिराम चौधरीले युवा लक्षित कार्यक्रमलाई समेट्नेखालका नीति ल्याउनुपर्नेमा जोड दिदैं पहुँचको अभाव र राजनीतिक हस्तक्षेपका कारण वास्तविक युवा  कार्यक्रमबाट वञ्चित हुनुपरेको धारणा व्यक्त गर्नुभयो ।

पूर्वसभामुख ओनसरी घर्तीले युवालाई स्वदेशमा नै बसेर रोजगारी उपलब्ध गराउनेखालको कार्यक्रम ल्याउनुपर्ने बताउँदै युवालाई आत्मनिर्भर र देशको अर्थतन्त्र बलियो बनाउनेखालका कुरा नीतिमा समेट्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

“अहिले युवाको समस्या जल्दोबल्दो छ, ती समस्यालाई समाधान गर्नका लागि युवा सांसदले नै अग्रसरता लिनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकूद  मन्त्रालयका सचिव महेशप्रसाद दाहालले राष्ट्रिय समृद्धिको अभियानमा युवालाई परिचालन गर्नेखालको नीति ल्याइने जानकारी दिदैं अब बन्ने नीतिमा युवाको मुद्दालाई समेटिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का अधिकारलाई संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँड गरेर युवाका कार्यक्रमलाई अगाडि लैजानुपर्ने चर्चा गर्दै संघका परिषद्ले नीतिगत तहमा काम गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्नेजस्ता कार्य गर्ने छ भने प्रदेश र स्थानीय तहमा रहेका परिषद्ले युवाको विकाससँग सम्बन्धित भएर काम गर्ने छ भन्नुभयो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अहिले भएको ऐन नीति नियमले युवाका आवश्यकतालाई पूरा गर्न नसकिएको भन्दै अब बन्ने नीतिले युवाका अधिकांश मुद्दालाई सम्बोधन गर्ने बताउनुभयो ।

“अहिले विभिन्न मन्त्रालयबाट युवाका काम हुने गरेका छन्, जसले गर्दा युवाको काम राम्रोसँग हुन पाएको छैन”, उहाँले भन्नुभयो, “ती कामलाई परिषद्बाट नै एकीकृत ढंगले गराउन सक्ने हो भने धेरै युवाका मुद्दामा काम गर्न सकिन्छ ।”

संघीय संरचनाअनुसार परिषद्को नीतिगत परिवर्तन आवश्यक भएकाले कार्यक्रम आयोजना गरिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।

कार्यक्रममा ४० वर्षभन्दा कम उमेरका करीब ४० सांसदको सहभागिता थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्