सामसुङ एस ९ र एस ९ प्लस



स्पेनमा गएको साता ‘मोबाइल वल्र्ड कांग्रेस २०१८’ आयोजना भयो। मोबाइलको कुम्भ मेलाको रूपमा वार्षिक रूपमा आयोजना हुने मेलामा यो वर्ष दर्जनौं कम्पनीले आफ्नो उत्पादन, सेवा र भविष्यमा आउन सक्ने विभिन्न प्रोडक्टको कन्सेप्ट प्रस्तुत गरे। चार दिनसम्म आयोजना भएको मेलामा यो वर्ष पनि सामसुङको उत्पादन सबैको आकर्षण बन्यो। सामसुङले गत वर्ष जस्तै यो वर्ष पनि आफ्नो सिग्नेचर प्रोडक्ट ‘सामसुङ ग्यालेक्सी एस सिरिज’ अन्र्तगत ‘एस ९’ र ‘एस ९ प्लस’ सार्वजनिक गर्‍यो।

प्रविधि र बनावटको उत्कृष्ट सम्मि श्रण सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस दुवै स्मार्टफोनलाई कम्पनीले नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरेको छ। स्मार्टफोनको क्यामरालाई रिडिजाइन गर्नुका साथै स्मार्टथिंग एप, ३.१ डिफेन्स ग्रेड सेक्युरिटीजस्ता फिचर समावेश गरिएका छन्। हेर्दा ‘एस ९’ र ‘एस ९ प्लस’ मा धेरै कुरा एकै देखिन्छ। तर, पनि यी दुई फोनमा केही अन्तर छ। कम्पनीले यी दुई फोनलाई अन्तर तुल्याउने क्रमको सुरुवात स्क्रिनबाटै गरेको छ। सामसुङ ग्यालेक्सी एस ९ प्लस फोनमा ६.२ इन्चको क्वाड एचडी प्लस कब्र्ड सुपर एमोलेड स्क्रिन छ। एस ९ मा भने ५.८ इन्चको क्वाड एचडी सुपर एमोलेड स्क्रिन रहेको छ। एस ९ प्लसको पिक्जेल प्रतिइन्च (पीपीआई) ५६८ छ भने, एस ९ को पीपीआई ५३१।

एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम, अक्टाकोर क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर समावेश गरिएको यी दुवै फोनमा १० एनएम ६४ बिट एक्स्ट्राकोर चिपसेट छ। कम्पनीले एस ९ को पछाडि १२ मेगा पिक्सलको एक वटा र एस ९ प्लसमा १२÷१२ को दुईवटा क्यामरा प्रयोग गरेको छ। उक्त क्यामरामा कम्पनीले एफ १.५ र एफ २.४ गरी दुईवटा अपेचरसहित उपलब्ध गराएको जनाएको छ। स्मार्टफोनमा सेल्फीका लागि एफर १.७ अपेचर लेन्ससहितको ८ मेगापिक्सेलको क्यामरा छ। स्मार्टफोनमा प्रयोग भएको क्यामराले उत्कृष्ट फोटोका साथै फोरके भिडियोसमेत लिन सकिनेछ। सामसुङ ग्यालेक्सी एस ९ चार जीबी र्‍याम र एस ९ प्लस ६ जीबीको र्‍यामका साथ सार्वजनिक भएको छ। फोन ६४, १२८ र २५६ जीबी गरी तीनवटा इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ।

वायरलेस चार्जिङको सुविधाका साथ ल्याइएको यी दुई स्मार्टफोनको ब्याट्री क्षमतामा भने केही भिन्नता छ। कम्पनीले सामसुङ ग्यालेक्सी एस ९ फोनमा तीन हजार एमएएच क्षमताको ब्याट्री प्रयोग गरेको छ। अर्कोतर्फ सामसुङ ग्यालेक्सी एस ९ प्लसमा तीन हजार पाँच सय एमएएचको ब्याट्री राखिएको छ। यसले ब्याट्रीको हिसाबमा सामसुङ ग्यालेक्सी एस ९ भन्दा एस ९ प्लसको ब्याट्री बलियो र टिकाउ छ भन्न सकिन्छ।

उल्लेखित फिचरका साथै दुवै स्मार्टफोनमा आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सरलगायत सुविधा छन्। फोनलाई पानीबाट बचाइराख्न आईपी ६८ वाटर रेसिस्टेन्सबाट सुरक्षित गरिएको छ। डस्ट फ्री यी फोन कालो, खैरो, नीलो, पर्पल रङमा उपलब्ध छन्। स्मार्टफोनमा कनेक्टिभिटीका लागि गिगाबिट एलटीई, ड्युल ब्यान्ड वाईफाई, यूएसबी टाइप सी पोर्ट, ब्लुटुथ ५.०, ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ। सार्वजनिक गरेसँगै प्रि-बुकिङका लागि खुला गरिएको यी दुवै स्मार्टफोन मार्च १६ बाट ग्राहकको हातमा पुग्नेछ। कम्पनीले उल्लेख गरेअनुसार एस ९ को बजार मूल्य ७२० तथा एस ९ प्लसको ८४० डलरबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्