‘स्वर्ण वर्ष छात्रवृत्ति’ प्रदान



काठमाडौँ, २५ फागुन

नेपालस्थित भारतीय राजदूतावासले नेपाल र भारतबीचको दौत्य सम्बन्ध भएको ५० वर्ष पुगेको अवसरमा स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ बाट आज दुई सय नेपाली विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

नेपालको उच्च शिक्षाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन हजारदेखि रु चार हजारसम्मको छात्रवृत्ति प्रदान गरिएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले सो पुरस्कार प्रदान गर्नुभयो ।

दुई देशको सम्बन्ध थप घनिष्ट तुल्याउन दूतावासले सन् २००२ मा वार्षिक एक सय जनाबाट शुरु गरेको सो छात्रवृत्ति संख्या सन् २०१२ दोब्बर गरिएको हो । नेपाल र भारतबीच सन् १९५१ मा आर्थिक सहकार्य शुरु भएको थियो ।

कार्यक्रममा सचिव वैरागीले नेपालले लिएको समृद्धिको लक्ष्यका लागि यस्ता छात्रवृत्तिले सहयोग गर्ने भन्दै मुलुकको आर्थिक र सामाजिक विकासका लागि आफ्नो सीप र क्षमता प्रयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

राजदूत पुरीले दुवै देश मिलेर विश्व बजारमा संयुक्त उपलब्धि हासिल गर्न सकिने भन्दै नयाँ/नयाँ क्षेत्रमा विद्यार्थीको प्रवेशले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभयो ।

भारत सरकारले चिकित्सा, विज्ञान, कृषि, मानविकी, पशु विज्ञान, औषधि विज्ञान, कम्प्युटर विज्ञान गरी नेपाल र भारतमा कूल वार्षिक करिब तीन हजार विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्