प्रधानन्यायाधीशको कार्यशैलीप्रति न्यायाधीशहरू असन्तुष्ट



फाल्गुन २३, २०७४
काठमाडौँ , प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको कार्यसम्पादन र शैलीप्रति सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले असन्तुष्टि जनाएका छन् । आफ्नो योग्यता र जन्ममितिसम्बन्धी विवादबाट जोगिन पराजुलीले अदालतको प्रतिष्ठालाई दाउमा राखेको भन्दै उनीहरूले असन्तुष्टि जाहेर गरेका हुन् । यस्तो प्रवृत्ति नसच्चिएमा आफूहरू औपचारिक रूपमै मुख खोल्न बाध्य हुने उनीहरूको भनाइ छ ।
‘एउटा मान्छेको व्यक्तिगत समस्याका कारण सिंगो न्यायालय बदनाममात्रै होइन, ध्वस्त हुने अवस्थामा पुगेको छ, अब यो अवस्था धेरै दिन चल्नु हुँदैन,’ असन्तुष्टमध्येका एक न्यायाधीशले कान्तिपुरसित भने, ‘उहाँ जति छिटो न्यायसम्पादनबाट अलग हुन सक्नुभयो, अदालतको मर्यादा त्यति छिटो जोगिनेछ ।’

प्रधानन्यायाधीश भनेको न्यायाधीशहरूमध्येको अगुवामात्रै भए पनि पराजुलीले सिंगै अदालत आफूखुसी चलाएको, न्यायका मूल्यमान्यता बिर्सेर चल्ने गरेको र त्यसको विरोध हुँदा प्रतिशोधपूर्ण निर्णय लिने गरेको भन्दै पराजुलीप्रति सर्वाेच्चका न्यायाधीशहरू असन्तुष्ट भएका हुन् ।

‘आफूविरुद्ध मुद्दा लड्यो रे भन्दैमा अधिवक्ताहरूलाई फोनै गरेर ज्यान मार्ने धम्की दिने काम प्रधानन्यायाधीशबाट भएको सुन्दा हाम्रो शिर निहुरिएको छ,’ एक न्यायाधीशले भने, ‘राज्यलाई टाट पल्टाउने गरी राजस्वका मुद्दामा व्यापारीलाई फाइदा पुग्ने गरी अन्तरिम आदेशको अपव्याख्या गर्दै भटाभट आदेश आएको देख्दा अदालतै भास्सिएजस्तो भएको छ । यसरी कति दिनसम्म चल्ने ?’

प्रधानन्यायाधीशको जन्ममिति र शैक्षिक योग्यताका प्रमाणपत्रका सम्बन्धमा धेरै पटक प्रश्न उठेको र त्यसलाई सञ्चारमाध्यमले समाचार बनाएको प्रकरणलाई अदालतको अवहेलनासँग जोडेर प्रेसमाथि पूर्व–प्रतिबन्धसमेत लगाउने गरी आएको आदेशप्रति पनि उनीहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।

‘कति पटक हामीले अनौपचारिक तबरले यसो नगर्नुस् भनेर भन्यौं पनि, तर उहाँ यसबारे सच्चिन त के सुन्नसमेत तयार हुनुहुन्न,’ एक अर्का न्यायाधीशले भने, ‘न्यायालय भनेको आफ्नो प्रतिशोध साँध्ने ठाउँ होइन, उहाँले अति आवेशमा आएर आफ्ना आलोचकहरूविरुद्ध आदेशहरू गर्नुभएको छ, जो न्यायको कसीमा कतैबाट पनि सही जँच्दैन । आफ्नो हातमा डाडुपन्युँ भयो भनेर जे पनि गर्न पाइन्छ र ?’

प्रधानन्यायाधीशमाथि उठेका प्रश्नहरू व्यक्तिगत सवाल भएकाले त्यसलाई अवहेलनासँग जोडेर हेर्नु नै न्यायका कसीमा खोटयुक्त भएको भन्दै न्यायाधीशहरूले केहीअघि फुलकोर्टमा आफूहरूले त्यसो नगर्न उनलाई सुझावसमेत दिएको बताए ।

‘उहाँले सुरेन्द्र भण्डारीलाई मैले धम्की दिएकै थिइनँ, यसमा बचाउ गर्नुपर्‍यो भनेर हामीलाई समेत प्रयोग गर्न खोज्नुभयो,’ ती न्यायाधीशले भने, ‘त्यो हामीले गर्न सक्ने कुरा थिएन, गर्न पनि हुन्थेन, त्यसैले विरोध गर्‍यौं । यति भएपछि उहाँले बुझ्नुपर्थ्यो कि पूरा न्यायिक वृत्तमात्रै होइन, सहकर्मीसमेतले आफ्नो कार्यसम्पादनमा कैफियत जनाइरहेका छन्, तर पनि उहाँले पूर्वाग्रहले प्रेरित भएर आवेशप्रेरित व्यवहार प्रदर्शन गरिरहनुभएको छ, जो एक न्यायाधीशका लागि सुहाउने कुरा होइन ।’ (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्