सन्तपुर बस्तीको आर्थिक अभाव पुरा : ‘नमुना नेपाल’बारे धुर्मुसको अपिल



२३ फागुन २०७४, काठमाडौँ ।

अविरल बर्षाका कारण पिडित बनेका रौतहट, चन्द्रपुर स्थित सन्तपुरका बाढी पिडितहरुका लागि ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई सन्तपुर बस्तीको सम्पुर्ण आर्थिक अभाव पुरा भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले आफ्नो फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै सन्तपुर बस्तीका लागि आर्थिक सहयोग पुरा भएको घोषणा गरेका हुन् ।

असोज ४ गतेबाट सिलान्यास गरी काम सुरु गरिएको उक्त बस्ती माघ २४ गते हस्तान्तरण गरिएको थियो । ५ करोड ९६ लाखको लगानीमा निर्माण भएको उक्त बस्तीभित्र ४७ आवासिय घर, एक सामुदायिक भवन सहित भ्यू टावर, शौचालय, धाराहरु, चिड्रेनपार्क, पार्किङ, मन्दिर, क्लबघर लगायतका संरचना निर्मित छन् ।

एकीकृत नमुना सन्तपुर बस्तीका लागि सहयोग पुरा भएको घोषणा गर्दै धुर्मुसले अब नमुना नेपालका लागि सहयोग गर्न पनि अपिल गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले सन्तपुर बस्ती निर्माण अघिनै उक्त परियोजनाको अवधारणा सार्बजनिक गरिसकेको थियो । ‘नमुना नेपाल’ विश्वलाई नेपाल चिनाउनका लागि समेत महत्वपुर्ण रहेको भन्दै धुर्मुसले लेखेका छन् ‘यो परियोजना सफल भईसकेपछि हामी देशैभरी रहेका पिडितहरुका पिडाहरुलाई मल्हम पट्टि लगाउन सक्ने अवस्थामा पुग्ने छौं नैं, त्यसको अलवा हरेक जिल्लामा सयौं ‘नमुना बस्ती’ निर्माण गर्न सक्षम हुनेछौं ।’

नमुना नेपाल निर्माण पछि धुर्मुस सुन्तली फाउण्डेशनले हजारौं पिडितहरुलाई सोझै सहयोग गर्न सक्ने अवस्थामा पुग्ने बताउँदै उनले नमुना नेपाल बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले संयोजन गर्ने भएपनि नेपालीहरुलेनै बनाउने खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्