किसुनजीको सम्झना



राजनीतिप्रति थोरै पनि संवेदनशील हुने हर नेपालीलाई अहिलेको राजनीतिमा देखिएको बेथिति भोग्दा कृष्णप्रसाद भट्टराई (किसुनजी) को सम्झना आउनुपर्ने हो। भर्खरका युवा पुस्ताका बारेमा त जान्दिनँ, ०४६ को जनआन्दोलनपछि नेपालको राजनीतिलाई नियाल्ने कुनै पनि नेपाली नागरिक सामान्यतः किसुनजीलाई बिर्संदैन होला। आन्दोलन सफलताको एक वर्षभित्रै संविधान जारी गरी तोकिएकै समयमा आमनिर्वाचन गर्नु चानचुने दायित्वको विषय थिएन।

मनमोहन भट्टराई

किसुनजीले जुन सरकारको नेतृत्व गर्नुभयो, त्यो सरकार जम्मा एघारजनाको थियो र त्यसमा नाना प्रकृतिका राजनीतिक दल, स्वतन्त्र भनिने र राजाका नजिकका हरेक किसिमका मान्छेको उपस्थिति थियो। जम्मा एघारजना मन्त्रीभित्र यी सबै व्यक्ति र पार्टी अटाएका थिए। संविधान लोकतन्त्रलाई स्वाभाविक विकासको दिशामा कसरी लैजाने भन्ने चिन्तनमा बसेको थियो। मुलुकलाई निरंकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा लैजानु, कथित निर्दलीय व्यवस्थाबाट बहुदलीय संसदीय व्यवस्थामा लैजानु, बढी समावेशी लोकतन्त्रको दिशामा अग्रसर तुल्याउनु, विविध भाषाभाषी र जातजातिको सम्मानका लागि क्षेत्रीय सन्तुलनका लागि गरिएका प्रयत्नहरूलाई बिर्सनु हुँदैन।

चित्त नबुझ्नेहरूले किसुनजीको एकबर्से प्रधानमन्त्री काललाई सीधै आलोचना गर्न पनि सकेनन्। त्यो एकबर्से कार्यकाल छिमेकी मुलुकका लागि पनि त्यति प्रितिकर नभएको देख्न सकिन्छ। आज राष्ट्रवादको ठूला कुरा गर्नेहरूले किसुनजीको देशभक्तिबाट केही कुरा सिके भने राष्ट्रवाद नाराको नभएर कूटनीतिक व्यवहारको विषय बन्न सक्छ। सँगै राष्ट्रिय स्वाभिमानको संरक्षण कसरी गर्न सकिन्छ भन्ने बुझ्न पनि सहज हुनेछ। तर यी सबै कुरा बुझ्नका लागि व्यक्तिभित्रको नैतिक साहस, निष्ठाप्रतिको समर्पण, हर प्रकृतिको लोभलालचबाट मुक्तिलगायत केही गुण आवश्यक पर्छन्। त्यस्तो नेता सामान्यतः किसुनजीपछि नेपालले जन्माउन सकेन।

आज मुलुक बेथितिमा पुगेको छ, यो बेथितिका लागि किसुनजीको पालामा जारी ०४७ को संविधानको असफलता भनेर देखाउने प्रयत्न पनि नभएका होइनन्। ०४७ को संविधान जारी त किसुनजीको नेतृत्वमा भयो, तर त्यसलाई कार्यान्वयन गर्ने अवसरबाट स्वयं किसुनजी वञ्चित हुनुभयो। जुन नैतिक धरातल र देशप्रेमलाई किसुनजीले उच्चतम प्राथमिकतामा राख्नुभयो, त्यसैमा स्खलनको सुरुवात भएका कारण छिमेकीलाई त्यो संविधान अग्राह्य सावित भयो। किसुनजीपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएर भारत भ्रमणका क्रममा गरिएको टनकपुर सम्झौतापछिको नेपालको राजनीतिमा नजानिँदो किसिमले विदेशी हस्तक्षेपको सुरुवात भएकै हो।

०४७ को संविधानको दोष किसुनजीलाई दिइए पनि त्यसविरुद्ध हतियार उठाउनेलाई किन उठाइयो भन्ने प्रश्न गर्दा आजसम्म चित्तबुझ्दो जवाफ पाइएको छैन। नेपालको कथित विद्वत् समाज यो ०४७ को संविधानको असफलताका कारण ०५२ देखि मुलुकमा सशस्त्र विद्रोह सुरु भएको मान्यता राख्छ। ०४७ को संविधानले ०४८ मा निर्वाचन गरायो। चार वर्ष बित्दानबित्दा संविधानको असफलता कसरी देखियो भन्ने प्रश्न आज पनि उत्तिकै मूल्यको छ, जति त्यसबेला पनि थियो।

०४७ को संविधानको दोष किसुनजीलाई दिइए पनि त्यसविरुद्ध किन हतियार उठाइयो भन्ने प्रश्नको आजसम्म चित्तबुझ्दो जवाफ पाइएको छैन।

लोकतन्त्रमाथि प्रश्न किन र कसरी उठ्यो, यसमाथि या त पर्याप्त सोच र अन्वेषण भएको छैन या यसलाई सोधको विषय हो भने स्वीकार गर्न तयार भएन, नेपालको बौद्धिक या प्राज्ञिक समाज। ०४६ को आन्दोलनमा मान्छेले सहादत प्राप्त गरेकै हुन्, ठूलो नरसंहार भने भएको होइन। त्यसबेला शासन सत्ताको वरिपरि रहेका व्यक्ति र स्वयं राजदरबारका लागि स्वाभाविक रूपमा संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाको पुनर्बहाली आफ्नो रुचिको विषय थिएन। यसको अभ्यास हुँदै जाँदा जेजस्ता विचार भारत भ्रमणका बेला किसुनजीबाट प्रकट भए, त्यो भारतका लागि पनि त्यति प्रितिकर हुन सकेन। परिणामतः ०५२ मा जनयुद्धका नाममा सशस्त्र, तर लुटाहा प्रवृत्तिको आन्दोलन मुलुकमा भयो।

हो, किसुनजी कांग्रेसको एउटा वृत्तका लागि पनि प्यारो व्यक्ति हुनुभएन। ०४६ मा हराइसकेको कम्युनिस्ट आन्दोलनलाई गणेशमानको जिद्दीमा सँगै लिएर नेतृत्वदायी भूमिका गर्दा पनि उहाँलाई कम्युनिस्टले रुचाएनन्। उहाँको दुइटै मात्र माग थियो, ०४६ आन्दोलनमा—संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था। त्यसलाई राजाले स्वीकार गर्दागर्दै पनि राजासँगै रहेका राजनीतिक तत्वहरूले रुचाएनन्। आन्दोलनकै बीचमा भारतबाट आएका सन्देशलाई राजाले पनि स्वीकार नगरेकै हो। सुनिएअनुसार यस विषयमा राजाले किसुनजी र गणेशमानको राय मागकै पनि हो। राष्ट्रवादको कुरा गर्ने हो भने त्यसबेला आन्दोलनरत पक्ष र राजाको स्वार्थ एकै ठाउँमा मिलेको थियो। आन्दोलन पक्षको त्यो सह पाइसकेपछि राजा बरु आन्दोलनकारीसित मिल्नु नै असल हुन्छ, आन्दोलन दबाउनका लागि अर्को शक्तिको आड लिनु उचित हुँदैन भन्ने निष्कर्षमा पुगेकै हुन्, यो कुरा सोसलिस्ट इन्टरनेसनलका तत्कालीन अध्यक्ष बिली ब्रान्टले जर्मनीको बोर्नमा पंक्तिकारलाई बताएका हुन्।

किसुनजी सधैं निष्ठाको राजनीति गर्नुहुन्थ्यो। कांग्रेसका चार नेताहरूको चर्चा सामान्यतः हामी सधैं गर्छौं, बीपी, सुवर्णशमशेर, गणेशमान र किसुनजी। उहाँहरूका तस्बिर सजाइन्छ, तिनमा माला तथा खादा ओढाइन्छ र कांग्रेसका निर्माता भनेर चिनिने चार नेताको चर्चा सामान्यतः सधैं गरिन्छ। अरू थपिँदै गएका तस्बिरहरूको चर्चा नगरौं। यी चारमध्येमा पनि किसुनजी बेग्लै प्रकृतिको हुनुहुन्थ्यो। बीपीजस्तो तीक्ष्ण एवं कुशाग्र, सुवर्णजस्तो सम्भ्रान्त र गणेशमानजस्तो सुरो पनि होइन, उहाँ निष्ठा, आदर्श, संयमले विभूषित। अब त सबैले भन्छन्— सन्त नेता।

मुलुकको राजनीतिलाई जुन दिशा दिने र बीचमा नखल्बलियोस् भन्ने आदर्शगत चिन्तनका साथ उहाँले राजनीतिको स्वाभाविक विकासक्रमको सरल बाटो जे अपनाउनुभयो, त्यसले धेरैको चित्त बुझेन पनि होला। आज २७ वर्ष बितिसक्दा पनि हामी राजनीतिक संक्रमण भन्ने शब्दबाट माथि उठ्न सकेनौं। हामीले जतिसुकै संक्रमणको अन्त्य र स्थिरताको प्रत्याभूतिको रूपमा अहिले राजनीतिलाई हेर्ने प्रयत्न गरे पनि यो यति सरल भने छैन। ‘इभोल्युसन’ बाट विस्तारै जनतामा जागरुकता आउँदै संवैधानिक व्यवस्थामा गरिनुपर्ने सुधारले जुन स्थिरता ल्याउँछ, त्यो तथाकथित क्रान्तिको उन्माद या विजयको उद्वेगले ल्याउन सक्दैन। निष्ठा र आदर्शविनाको राजनीतिले समाज अगाडि बढाउन पनि सक्दैन।

एक्लो व्यक्ति निरीह हुन्छ भनेर हामी बेलाबखत भन्ने गर्छौं। कतिपय राजनीतिक दलहरू त्यसकारणले जमात निर्माण गर्नमा हर प्रकृतिको सन्धिसम्झौता गर्न तयार हुन्छन्। तर विश्व इतिहास नियाल्ने हो भने पूर्वकालदेखि बीसौं शताब्दीको उत्तरार्ध र एक्काइसौं शताब्दीसम्म पनि व्यक्ति नै राजनीतिक परिवर्तनको केन्द्रमा रहेका छन्। कृष्ण हुन, एलेकजेन्डर हुन्, नेपोलियन हुन्, जुलियस सिजर हुन् या आजका युगका महात्मा गान्धी, माओत्से तुङ, जवाहरलाल नेहरू, आन्द्रे साखारोभ, नेल्सन मन्डेला, बीपी कोइराला धेरैधेरै इतिहासका यस्ता पात्रहरू छन्, जसको वरिपरि नै राजनीतिक परिवर्तन कहिले उतार त कहिले चढावमा भएको देखिन्छ।

‘इभोल्युसन’ बाट विस्तारै जनतामा जागरुकता आउँदै संवैधानिक व्यवस्थामा गरिनुपर्ने सुधारले जुन स्थिरता ल्याउँछ त्यो तथाकथित क्रान्तिको उन्माद या विजयको उद्वेगले ल्याउन सक्दैन। निष्ठा र आदर्शविनाको राजनीतिले समाजलाई अगाडि बढाउन पनि सक्दैन।

घरभित्र थुनिएका साखारोभले थुनाभित्रैबाट कम्युनिस्ट शासन हल्लाएका थिए। माओको कोपभाजनमा परेका देङ सिआयो पिङ नयाँ चीन निर्माण गर्न सफल भए। किसुनजी यीमध्येसितै तुलनीय व्यक्तित्व हो। एक्लो पर्नुभयो तर अनुचित कुरासित कहिल्यै सम्झौता गर्नुभएन। संवैधानिक राजतन्त्र उहाँको विश्वासको विषय हो, अन्तिम बेलासम्म पनि उहाँले म संवैधानिक राजतन्त्रवादी नै हो भन्न छोड्नुभएन, तर मुलुकमा राजतन्त्रको विरुद्धमा एउटा आन्दोलनको सुरुआत भइसकेको थियो। आफ्नो निष्ठासित कुनै हालतमा अन्यथा सम्झौता नगर्ने उहाँको स्वभावले अन्तिम दिनतिर उहाँ कांग्रेसबाट पर हुन खोज्नुभएको पनि देखियो। अरू नेताहरूभन्दा उहाँको पृथक स्वभावका कारणले उहाँलाई सायद कांग्रेसभित्र अटाइरहन गाह्रो भयो अथवा अरू कसैको हठधर्मिताविरुद्ध लड्नका लागि उहाँलाई कुनै रुचि रहेन।

किसुनजी स्वभावले नितान्त सरल, कुनै पनि कुरोले कहिल्यै पनि न आवेगमा आएको देखियो न आवेशमा, न कहिल्यै कुनै उपलब्धिले पुलकित न कुनै पराजयले निराश। उहाँ यस्तो एउटा व्यक्तित्वको रूपमा निखारिँदै आउनुभयो पछिल्लो समयमा कि खुसी र दुःख दुवैका बीचमा निरपेक्ष भावमा रहेको एउटा सन्तका रूपमा सबैले उहाँलाई स्वीकार गर्न बाध्य हुनुपर्‍यो। पंक्तिकारले यस्तो पनि दिन देख्यो— उहाँलाई हराउन ज्यान फालेर लागेका मान्छेहरू पनि आर्यघाटमा आफैंमा चितामा बस्छु जस्तै गरी रोइकराइ गरेको। विकृत कांग्रेसको त्यो अवस्था आइपुग्दा पनि किसुनजी यो सबै अवस्थालाई आफ्नो छातीभित्र वेदनालाई राख्दै हाँस्नुहुन्थ्यो या भित्रभित्रै रुनुहुन्थ्यो। त्यो उहाँ अघिल्तिर बस्ने कुनै पात्रले बुझ्न सक्दैनथ्यो। आउँदो पुस्ताले उहाँबाट दुइटा मात्र कुरा सिके हुन्छ— राजनीतिक निष्ठा र आदर्श। समय परिस्थितिअनुसार सैद्धान्तिक मान्यता फरक हुन सक्छन्, तर दार्शनिक सोचमा अडिग भएर कोही बस्न सक्यो भने त्यसैले जीवनको सार्थकता स्थापित गर्छ।

अहिलेको कांग्रेस किसुनजी, बीपी, सुवर्ण र गणेशमानजस्तो पनि होइन। बेथितिको चरमचुलीमा पुगेको छ कांग्रेस यतिबेला। अहिले सुवर्णजीभन्दा धनी कांग्रेस भइसके होलान् तर प्रजातन्त्रको रक्षार्थ एक कौडी खर्च गर्न कोही तयार छैन। क्रान्तिकारीहरू गणेशमानभन्दा सुरवीर होलान् तर वैभवले त्यो सबै ओझेलमा परेको छ। किसुनजीकै आदर्श बोक्ने पनि कांग्रेस होलान्। तिनलाई त डाँडापरिको घामजस्तै व्यवहार गर्न थालिएको छ। बीपीको दाँजोमा नपुगे पनि त्यसलाई आदर्श मान्नेहरू र राजनीति व्यवहारले चल्छ आदर्शले होइन भनेर अपव्याख्या गर्नेहरू पनि होलान्। सधैं पूजा गरेजस्तो गरेर माल्यार्पण गर्ने यी तस्बिरबाट आजका कांग्रेसी पुस्ताले केही सिकेजस्तो देखिँदैन। सत्तासीनहरू तस्बिरमा माल्यार्पण गर्न जाँदा पनि एकएक तस्बिर देखेर झस्किनुपर्ने हो, तर त्यो भाव पनि कसैमा देखिँदैन। अन्त्यमा यति मात्र भनूँ, किसुनजीप्रति हार्दिक श्रद्धासुमन ! (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्