मधेशी र पहाडी समुदायको एकैठाउँ होली



भद्रपुर, १८ फागुन

झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् ।

सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

वीरता जेसिज र वीरता लेडी जेसिजले फागु पूर्णिमा पर्वको अवसर पारी बिर्तामोडको अतिथि सदनमा होली मिलन समारोह आयोजना गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड नगरपालिका–१ का अध्यक्ष अग्निप्रसाद पाण्डे, ब्राम्हण समाज झापाका उपाध्यक्ष हरि भण्डारी, मारवाडी सेवा समिति, बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, रौनियार सेवा समाज, झापाकी अध्यक्ष संगीता रौनियार लगायतले सबै समुदायबीच त्यस्तै सद्भाव र मेलमिलाप आजको आवश्यकता रहेको र जेसिजले संयोजन गरेको होलीले त्यही सन्देश दिएको बताउनुभयो ।

सहभागीले अबिर र रङसँगै उत्सवका साथ सामूहिक नृत्य गरेर होली मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्