दिवंगत नेता आश्रितको शालिकमा सहयोगीको प्रचार मोह (भिडियो सहित)



दिवंगत नेता र अनावरण गर्ने पूर्वप्रधानमन्त्रीहरुको अपमान

ध्रुवप्रसाद घिमिरे

केही समयदेखि अस्ट्रेलियामा व्यवसाय गर्दै आएकी राधिका पोखरेल आफूलाई समाजसेवीका रुपमा चिनाउँछिन् । विदेशमा कमाएको केही रकम उनले आफ्नो प्रचारका लागि नेपालमा पनि बाँडेकी छिन् । उनले आफ्नै नाममा ‘राधिका ट्रस्ट’ नामको संस्था स्थापना गरेर सामाजिक काम गर्दै आएको बताएकी छिन् ।

उनले भर्खरै एमालेका दिवंगत नेता जिवराज आश्रितको सालिक निर्माणमा लिएको आफ्नो प्रचारमोह गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै छ । पूर्वप्रधानमन्त्रीहरु, वौद्धिक व्यक्तित्वहरु, परिवारजन र संचारकर्मीहरुको समेत उपस्थितिमा आफैले अनावरण गराएको आश्रितको सालिकमा उनले निकृष्ट हर्कत देखाएका छन् । उनले एक पटक अनावरण गरिएको आश्रितको शालिक उनको परिवारको सहमति विपरित भत्काएर त्यही स्थानमा अर्को बनाएका छन् । अनि, आश्रितको शालिकमा आफ्नो फोटोसहितको विवरण टांसेकी छिन् । उनको यस्तो कार्यले दीवंगत नेताप्रतिको सम्मानभन्दा अपमान भएको धेरैले महसुस गरेका
छन् ।

पहिले अनावरण गरेको शालिक भत्काउनुपर्ने कारण के थियो ?

राधिकाले समाजसेवाको नाममा आफ्नो प्रचारमुखी अनुहारलाई यही प्रकरणबाट उदाङ्गो पारेका छन् । व्यक्तिगत स्वार्थको लागि जिद्दी गरेर उनले जिवराजको शालिकलाई भत्काएर आफ्नो तस्बिर सहितको नाम टांगेर सभ्य मानिसले गर्नै नसक्ने हर्कत गरेकी छिन् । करिव डेढ वर्षअघि एमालेकी सांसद माया ज्ञवालीको घर परिसरमा बनाइएको उनका पति दिवंगत नेता आश्रितको प्रतिमाको पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, वरिष्ठ नेता वामदेव गौतमलगायत दर्जनौ सांसदहरुको उपस्थितिमा राधिका पोखरेलकै उपस्थितिमा अनावरण गरिएको थियो । पोखरलले त्यही प्रतिमालाई कसैको अनुमतिविना भत्काएर आफ्नो फोटो सजाएका छन् ।

सम्मानित नेताहरुले अनावरण गरेको जनप्रिय नेता, कुशल संगठक आश्रितको शालिकलाई आफैले भत्काउनु शहीद तथा अनावरण गर्ने नेताहरुप्रतिको घोर अपमान हो । पार्टी अध्यक्ष वर्तमान प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु र तत्कालिन सम्मानित नेताहरुलाई साँची राखेर अनावरण गरिएको शालिक पोखरेलले कसको अनुमतिले भत्काएर सम्मानित शहिदको शालिकमा आफ्नो फोटो राखेर पुननिर्माण गराईन ?

आश्रितको नाममा लालबाबु, तुलसा र यशोदा दुरुपयोग
कार्यक्रमको सम्बोधनमै राधिकाले ईश्वर पोखरेल ठूलो भएर नआएको आरोप लगाइन् । उनले लोकप्रिय नेता लालबाबु पण्डित आएको भन्दै सम्मान ब्यक्त गरिन । तीन प्रमुख नेताहरु आएको कार्यक्रममा रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, विशिष्ट अतिथिका रुपमा निम्त्याइएका परराष्ट्रविद् डा. राजन भट्टराईलगायतका नेता नआउनु पर्ने कारण नै थिएन । अन्तिम समयमा नेताहरुले राधिकाको प्रचारमुखी कार्यक्रम बुझेर कार्यक्रम बहिष्कार गरेको हुनुपर्छ । जनप्रिय नेता तथा मन्त्री लालबाबु पण्डित भने आश्रितको नामले नतमस्तक भएर गर्वका साथ कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भए । उनलाई यसअघि शालिक अनावरण भएको कुरा थाहा नभएको हुनुपर्छ ।

राधिकाले लालबाबु पण्डितको चुनावी अभियानमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेकी थिइन् । त्यतिखेर पनि उनले पत्रकार सम्मेलन गरी चेकलाई फ्लेक्समै छपाएर हस्तान्तरण गरेकी थिइन् । उनी दानमा भन्दा प्रचारको भोको रहेको कुरा त्यतिबेलै सबै पत्रकारले बुझेका थिए ।

आश्रितप्रतिको आस्थाकै कारण पवित्र आत्माले सेवा गरिरहेकी सांसद तथा एमाले नेत्री तुलसा थापा पनि थाहा नपाएर भवन निर्माण समयदेखि प्रयोग भईरहेकी रहिछन् । वास्तविकता थाहा पाएपछि नेतृ तुलशासमेत चकित परिन् । ‘मलाई त पत्रकार सम्मेलन भनेर बोलाइएको थियो,’ उनले भनिन्, ‘यस्तो कुरा थाहा पाएर छक्क परेकी छु । अनुहारको भावबाटै उनको असजिलोपना सजिलै बुझ्न सकिन्थ्यो । वक्ताको लिस्टमा रहेकी उनले आफ्नो नाम काट्न लगाईन् । अस्ट्रेलिया भ्रमणका क्रममा पोखरेलको पाहुनासमेत भएकी आयुक्त यशोदा तिमिल्सिनाले पनि जानकारी नभएर आतिथ्यता स्वीकारेको बुझियो । राधिकाका धेरै कार्यक्रममा मिडिया संयोजनको भूमिका निर्वाह गर्ने गरेकी आयुक्तको ग्रामिण तथा पारिवारिक सम्बन्ध हुन सक्ने पनि धेरैको अनुमान थियो ।

शालिकमा राधिकाको फोटो राख्न नमान्दा आश्रित पत्नीलाई धम्की
राधिकाको समाजसेवामा सेवाभन्दा प्रचारको लोभ अति देखियो । समाजलाई योगदान दिने ब्यक्तिको शालिकमा उनैको बारेमा लेख्ने प्रचलन हुन्छ । आफूलाई समाजसेवी बताउने राधिकाले भने राजनेता आश्रितको शालिकमा आफ्नो फोटो राखेर देख्नेलाई समेत लज्जित बनाएकी छिन् ।

आश्रित परिवारले उनको यो कदमलाई स्वीकार गरेका थिएनन् । आफूले घर बनाउन सहयोग गरेको भन्दै राधिकाले आश्रित पत्नीलाई ‘मैले भनेको नमाने सांसद पद समेत उडाईदिने’ धम्की दिएको पारिवारिक श्रोत बताउँछ । राधिकाको दवाव झेल्न नसकेर मौन रुपमा माया ज्ञवालीले त्यसलाई स्वीकारेकी थिइन् । राधिकाको यस्तो लज्जाजनक ब्यवहार पार्टी कार्यकर्ता, नेता कसैलाई मन परेको छैन । आश्रितपत्नीलाई घर बनाउन सरकारले जग्गा दिएको छ, अरु धेरै सहयोगीहरुले घर बनाउन सहयोग गरेका छन् । सबैको सहयोगलाई छाँयामा पार्दै राधिकाले आफ्नो मात्र प्रचार गरेकी छिन् । अझ घर निर्माण गर्दा राधिकाले राखेको हिसावकिताबमा पार्टी कमिटी, निर्माण समिति र पारिवारिक सदस्यहरुले समेत चित्त नबुझाएको बुझिएको छ।

शालिकको पुनर्निर्माण हुने सम्भावना
राधिकाका पछिल्ला गतिविधिहरु पार्टी सदस्यहरु, परिवारका सदस्यहरु र समाजका प्रबुद्ध व्यक्तित्वहरुलाई मन परेको छैन ।  विश्वमा कहिँ नभएको प्रचलन यहाँ प्रयोग गरिएको छ । शालिकमा ब्यक्तिको योगदानको बारेमा नलेखेर बनाउन आर्थिक सहयोग गर्ने ब्यक्तिको वर्णन फोटोसहित राखेर दिवंगत नेता र अनावरण गर्नेहरुको अपमान गर्ने राधिकालाई किन सम्मान गर्नू ? धेरैको प्रश्न थियो । परिवारले निकट भविष्यमा शालिकको पुननिर्माण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्