जुत्ता सिलाएरै छोराछोरीलाई उच्च शिक्षा, राजधानीमा घर



जुम्ला, ९ फागुन

नन्दे सार्कीले जुत्ता सिलाउने पुख्र्यौली पेसालाई व्यवसायिक बनाउँदा आम्दानीको राम्रो स्रोत बनेको छ । सार्कीले जुत्ता सिलाउन थालेको १५ वर्ष भयो । डेढ दशकदेखि उनले यो पेशाबाट परिवार मात्रै पालेका छैनन्, प्रदेश ६ को राजधानी सुर्खेतमा पक्की घर समेत बनाएका छन् ।

भगवती गाउँपालीका –६ दैलेखमा जन्मिएका ४० वर्षीय सार्की २०५५ सालदेखि जुत्ता सिलाउने पेशामा आवद्ध छन् । कालिकोट जिल्लाबाट सुरु भएको उनको पेशा २०५८ देखि जुम्लामा स्थापित भयो ।

सुरुमा जुत्ता सिलाएर कमाएको आम्दानीले परिवार चलाउन गाह्रो भएपनि अहिले उनी निकै खुसी छन् । हरेक महिना उनी जुत्ता सिलाएरै ९० हजार बढी कारोबार गर्छन् । सोहि आम्दानीले उनले सुर्खेतमा तीन तले पक्की घर निर्माण गरेका कुन् ।

जुत्ता सिलाइकै आम्दानीबाट सार्कीले छोराछोरीलाई उच्चशिक्षा अध्ययन गराएका छन् । ‘जेठो छोरो हेल्थ असिष्टेन्ट पढ्दैछ । माइली छोरी आइएसीएजी अध्ययन गर्दै छ । अन्य दुई छोराछोरी जुम्लाकै नाम चलेका नीजि विद्यालयमा अध्ययन गरिरहेका छन्,’ उनले खुसी हुँदै भने ।

‘सुरुमा जुत्ता सिलाउने पेसाबाट सन्तुष्ट थिइँन, यो पेसालाई सबै हेलाँ गर्थे, कमाइ पनि खासै राम्रो थिएन, व्यवसाय बिस्तारै फस्टाउँदै गयो’ उनले भने, ‘पुख्र्यौली कामलाई व्यवसायिक बनाएर सफल भएकोमा मलाई गर्व छ’ ।

अहिले नन्दे सार्कीले उत्पादन गरेका जुत्ताका नियमित ग्राहक जुम्लामा धेरै छन् । ‘ग्राहक नै परिवारजस्तो लाग्छ, एक दिन पसल बन्द गर्दा पनि परिवारसँग छुटेजस्तो लाग्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्