एनटीसीले प्रिपेड ग्राहकलाई सापटी दिने



७ फागुन २०७४

काठमाण्डौ, नेपाल टेलिकम (एनटीसी)ले सोमबार ‘नमस्ते क्रेडिट’ सेवाको सुरुवात गरेको छ। टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ सेवाका रूपमा नमस्ते क्रेडिट सेवाको सफ्ट लन्च गरेको हो। कम्पनीले प्रिपेड फोन प्रयोगकर्तालाई लक्ष्य गरी यो योजना सार्वजनिक गरेको हो। एनसेलले उक्त सेवालाई यसअघि नै प्रयोगमा ल्याइसेकको छ।

उक्त सेवा सुरु भएपछि एनटीसीका प्रिपेड ग्राहकले फोनमा कुरा गर्दा गर्दै ब्यालेन्स सकिए पनि आफ्नो कललाई निरन्तारता दिन पाउनेछन्। ‘ग्राहकले कल गर्दा गर्दै पैसा सकिएर आफ्ना कुरा बन्द गर्नु पर्ने बाध्यतालाई ख्याल गरेर यो योजना ल्याएका हौं’, टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन्, ‘यसको सुरुवातसँगै ग्राहकले पैसा सकिए पनि आफ्नो कलालाई निरन्तरता दिन सक्नेछन्। यसका साथै प्रयोग भएको पैसाको कुनै ब्याजसमेत लाग्नेछैन। ग्राहकले उपयोग गरेको उक्त रकम सिम रिचार्ज गरेपछि काटिनेछ।’

राजभण्डारीका अनुसार सोमबार यसको उद्घाटन भए पनि ग्राहकले यसको प्रयोगका लागि एक महिना कुर्नु पर्नेछ। कम्पनीले सोमबार यसको सफ्ट लन्च गरेको भए पनि यसको व्यावसायिक सुरुवात भने एक महिनाभित्र गर्ने जनाएको छ। यो योजनामा रकमको सीमा कति हुने र कति मिनेटसम्म बोल्न पाउने भनि कम्पनीले कुनै निर्णय गरेको छैन।

सोमबार टेलिकमले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नमस्ते क्रेडिट सेवाको सुरूआत गरेका हुन्। उक्त अवसरमा मन्त्री बस्नेतले टेलिकमले नाफा पनि कमाउनु पर्ने र सेवा पनि दिनु पर्ने भएकाले कम्पनीले ग्राहकको गुनासो नआउने गरी गुणात्मक सेवा दिनु पर्ने बताए।

कम्पनीले फोरजी सेवा विस्तार र फाइबरमार्फत सेवा प्रदान गर्ने कार्य अगाडि बढाइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त गरे। स्रोतसाधन र प्रविधिका हिसाबले टेलिकम अन्य कम्पनीभन्दा सक्षम भए पनि निजी क्षेत्र अघि बढिसकेकाले यसमा चुनौती थपिएको उनले बताए। टेलिकमले न्युनतम सेवासुविधा पूरा गरेर प्रतिफल दिनु पर्ने उनको भनाइ छ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव प्रेमकुमार श्रेष्ठले कम्पनीमा रूपान्तरण भएपछि टेलिकम थप जिम्मेवार र पारदर्शी भएको उल्लेख गर्दै सरकारी कम्पनी भएकाले निर्णय प्रक्रियामा ढिलाइ हुने गरेको बताए। कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सेवा दिन टेलिकम सक्षम हुने विश्वास व्यक्त गरे। उनले टेलिकमले फोरजी सेवा देशभर पुर्‍याउनु पर्ने विचार व्यक्त गरे।

टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले वार्षिकोत्सवको अवसरमा सेवाग्राहीका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा गरेकी थिइन्। नमस्ते क्रेडिटका साथै कम्पनीले एडीएसल इन्टरनेटमा पनि सेवा थप गरेको छ। कम्पनीले एडीएसएल सेवाको गति बिहीबारदेखि लागू हुने गरी पाँच मेगाबाइट प्रतिसेकेन्ड पुर्‍याएको छ। क्रस बन्डलिङमा तीन महिनासम्मका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गराउने भएको छ। साथै, कम्पनीले पोस्टपेड ग्राहकलाई मात्र दिँदै आएको सीयूजी सेवा अब प्रिपेड ग्राहकलाई पनि उपलब्ध गराउने भएको छ।

कम्पनीले जीएसएम सेवातर्फ मंगलबारदेखि फागुन ८ गतेसम्मका लागि ३५ रुपैयाँमा तीन दिनका लागि अनलिमिटेड नाइट भ्वाइस प्याकेज कायम गरेको छ। त्यस्तै अनलिमिटेड अल टाइम डाटा प्याकेज कुनै पनि समय प्रयोग गर्न सकिन्छ। त्यसमा २४ घण्टाका लागि ५० रुपैयाँ शुल्क तोकेको छ। अनलिमिटेड नाइट डाटा प्याकेज एक रातको १५ रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै टेलिकमले रिचार्जतर्फ मंगलबारदेखि २९ गतेसम्म बोनस दिने भएको छ। ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म रिचार्ज गर्दा १० प्रतिशत बोनस, पाँच सय र एक हजारको रिचार्जमा १५ प्रतिशत बोनस दिने भएको छ। ल्यान्डलाइन सेवाग्राहीका लागि पनि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिने घोषणा गरेको छ।

यसका साथै कम्पनीले बिहीबारदेखि वैशाख २५ गतेसम्म छिमेकी राष्ट्र भारतमा कल गर्न दुई रुपैयाँ २२ पैसा देखि दुई रुपैयाँ ३३ पैसा प्रतिमिनेटको अफर ल्याएको छ। कम्पनीले अन्तर्राष्ट्रिय आगमन कल प्राप्त गर्ने ग्राहकलाई पनि प्रत्येक हप्ता सात मिनेटभन्दा बढी कल आएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस गर्न बोनस दिने जनाएको छ। कम्पनीले फाइबर टू होम सेवा प्रवद्र्धन गर्न बिहीबारदेखि वैशाख २५ गतेसम्म एफटीटीएस सेवाका व्यक्तिगत तथा कर्पोरेट ग्राहकलाई विभिन्न अफर ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्