यस भ्यालेनटाइन सप्ताहका लालजोडी



काठमाडौँ : कामरेड ओलीले गुलावको फूल किन्नुभो । एकफेर सुँघ्नुभो र भन्नुभो, हन के फूल राख्या यो ? सुँघ्दै पसिना गनाउने । अलि हरर बास्नेदार छैन ? परफिम् जस्तो । अगरबत्ती जस्तो । चमेली बास्ना छुटाउने खालको ।

साउजीले भन्नुभो, यो स्पेशल बास्ना हो कामरेड । महान कामरेडलाई दिने खालको भन्नुभो, त्यसैले त्यस्तै खालको मगाएको हजुर । किसानको बारीबाट । सर्वहाराका नेतालाई पसिनाको बास्ना मन पर्छ भनेर । भएन र ?

तोइट ! ओलीजीले भन्नुभो, यस्तो नि बास्ना हुन्च ? यस्ले त रिंगाटा छुटाउँछ । नाथ्री फुटाउँछ । पार्टी एकता भाँड्छ । यस्तो माकःफुइँ गन्धको नि फूल राख्ने हो ? फूल त देख्दा मार्क्सवादको फ्लेवर आओस् । सुँघ्दा सत्ता लेभलको परम् आनन्द मिलोस् । कुर्सीमै बसेजस्तो । फननन घुमेको जस्तो । रोमाञ्चक । आहा !

त्यस्तो फ्लेवरको फूल त छैन कामरेड, साउजीले भन्नुभो, हुन्च भनेर सुनेको पनि आजै हो ।

ओलीजीले भन्नुभो, हैन, तपाईंले गैंडै देख्नुभा छैन कि के हो ? गैंडा देखेको मान्छेले त यसो भन्न नपर्ने हो । देखेको छैन भने एकपटक सौराह जानुस् । गैंडा हेर्नुस् । जाने फुर्सद छैन भने सयको नोटमा हुन्च । त्यै हेर्नुस् । खैर केही छैन । अहिलेलाई यसमा अत्तर छरेर अलि उत्ताउलो बास्नेदार बनाम् । अत्तर चैं हत्तपत्त नउड्ने खालको है ।

० ० ०

ढ्वाक ढ्वाक ढ्वाक !

कामरेड प्रचण्डले ढोका खोल्नु भो र भन्नुभो, ओली कामरेड पो ?

अनि देउवाजी हुनु पऱ्यो त ? ओली जी ले भन्नुभो, हेप्पी भेलेन्टाइन सप्ताह कमरेड ! आज रोज डे रे । गुलाव दिन आ को ।

हाहाहाहा !

प्रचण्डजी एक हल हाँस्नुभो र भन्नुभो, माझीलाई माछाको कोसेली ! हँसाम्नु हुन्च तपाईं । जसको नामै पुष्प छ, उसैलाई गुलाव पुष्प उपहार ? पुष्पकमललाई पुष्पगुलाव । हिहिहि ।। ! नयाँ ढंगले अघि बढिरहेको बेलामा निश्चित रुपमा नयाँ ढङ्गको पो उपहार दिनुपर्छ त !

अनि रोज डे छ, के हुक्का दिनु त नयाँ ढङ्गको भन्दै ? कामरेड ओलीले भन्नुभो, हुक्का त हुक्का डेमै दिम्ला । आज रोज डे । गुलावै लिनुस् । बरु सुगन्ध उड्ला । छिटो समाउनुस् ।

कामरेड प्रचण्डले भन्नुभो, रोज डे भए रोज होइन, रोजेको दिनुस् । म नि तपाईंलाई रोजेको दिन्छु ।

कामरेड ओलीले सोध्नुभो, के रोज्नुहुन्छ ?

प्रचण्डजीले भन्नुभो, प्रधानमन्त्री ठूलो दलले खानुपर्छ । म अध्यक्ष रोज्छु । त्यै दिनुस् । तपाईं के रोज्नुहुन्छ ?

ओलीजीले भन्नुभो, म त दुबै रोज्छु । अध्यक्ष पनि, प्रधानमन्त्री पनि । दुबै दिनुस् ।

प्रचण्डजीले सोध्नुभो, दुबै तपाईंलाई दिएर मलाई चैं के नि ?

तपाईं यही गुलाव लिनुस् । काइताको छ, ओलीजीले भन्नुभो, मैले ठ्याक्कै दुई घण्टा लगाएर छानेको । सुन्दर, सुगन्धीत !

तपाईंको फूल तपाईं नै राख्नुस् , प्रचण्डजी कड्किनुभो, यसरी नि पार्टी एकता हुन्च ?

त्यसो भए यसो गरम्, ओलीजीले भन्नुभो, प्रधानमन्त्री त मलाई भैगो । अध्यक्षको लागि एउटो सिक्का माथि हुऱ्याम । गाई कि त्रिशूल गरौं । गाई परे नि मलाई । त्रिशूल परे नि मलाई ।

प्रचण्डजीले सोध्नुभो, अनि ठाडो परे चैं मलाई ?

ओलीजीले भन्नुभो, हैन । त्यो जोखिम पनि नउठाम् । सिक्का खस्दा हिलो अथवा गोबरमा पऱ्यो भने गाडिएर ठाडै पनि रहन सक्छ । त्यसैले ठाडै परे नि मलाई नै ।

प्रचण्डजीले सोध्नुभो, अनि मलाई चैं ?

ओलीजीले भन्नुभो, हुऱ्याएको सिक्का खसेन । हावामै अडिरह्यो भने तपाईंलाई । हावामै गाई देखिएर अडिए नि तपाईंलाई । त्रिशूल देखेर अडिए नि तपाईंलाई । ठाडै अडिए नि तपाईंलाई । टस गरम् ?

तपाईंको टस मलाई टेस परेन हेर्नुस प्रचण्डजीले भन्नुभो, कहीँ नपाएर हावामा नि अडिन्छ सिक्का ? हावा कुरा !

ओलीजीले भन्नुभो, ईश्वरले तपाईं अध्यक्ष भएको देख्न चाहे भने अडिन्छ !

प्रचण्डजीले भन्नुभो, ईश्वरको त तपाईंको जत्तिको नि विश्वास छैन । ती पोखरेलजीले त उहिल्यै भन्या( अध्यक्ष, प्रम सप्पै तपाईं ९ओलीजी० नै हुनुपर्च भनेर ।

बरु यसो गरौं, प्रचण्डजीले उपाय फुराउनुभो, एउटो गुलेली ल्याम् !

किन ल्याउने गुलेली ? ओलीजीले भन्नुभो, स्पष्ट बहुमत आछ । सरकार बन्ने पक्का छ । अझै नि गुलेलीले सत्ता कब्जा गर्न पर्छ ?

प्रचण्डले भन्नुभो, गुलेली सत्ता कब्जा गर्न होइन ।

ओलीजीले भन्नुभो, क्यार्न त ?

टस गर्न ।

गुलेलीले नि टस हुन्छ ?

गरेसी हुन्च ।

कसरी ?

गुलेलीमा सिक्का चढाउने । अनि पूरै तन्काउने, प्रचण्डजीले बताउनुभो, त्यसपछि बागमतीतिर टुइँक्याउने । पानीमै पुग्ने गरी ।

ओलीजीले उत्सुक हुँदै सोध्नुभो, अनि के हुन्च ?

प्रचण्डजीले मुस्कुराउँदै भन्नुभो, अनि सिक्का भेटिए तपाईं अध्यक्ष । नभेटिए म ।

तोइट ! ओलीजीले भन्नुभो, गुलेलीले पार्टी कब्जा गर्न खोज्ने ?

० ० ०

आज त प्रपोज डे रच, प्रचण्डजीले भन्नुभो, हेप्पी प्रपोज डे कामरेड । पार्टी एकता गरौं । यही प्रस्ताव राखें ।

सेम टु यु कामरेड, ओलीजीले भन्नुभो, हुन्च । गरिहालौं । अध्यक्ष, प्रधानमन्त्री दुबै मैलाई गरम् । अर्को प्रस्ताव राखें ।

धत् ! यस्तो नि प्रपोज हुन्च ? प्रचण्डजीले भन्नुभो, योभन्दा त देउवाजीको प्रस्ताव गतिलो थियो ।

ओलीजीले अत्तालिँदै सोध्नुभो, के भन्थे ?
प्रचण्डजीले सुनाउनुभो, प्रधानमन्त्री बनिदिनुस् भन्नुन्थ्यो । ल्याप्च्यै लाएर दिने रे पाँच वर्षलाई ।

मेरी आम्मै ! ओलीजीले भन्नुभो, कान कुल्ला गरेर आउनुस् । बुद्धि बिग्रिन सक्छ यस्ता कुरा सुन्दा मात्रै पनि ।

० ० ०

हेप्पी चकलेट डे कामरेड ! ओलीजीले हातमा २५० ग्रामको क्याड्बरी थमाउँदै भन्नुभो, लौ लिनुस्, आज चकलेट डे रच !

चक्लेट खान्नँ सुगर छ ! प्रचण्डजीले भन्नुभो, अध्यक्ष दिनुस्, सुगरफ्री ।

० ० ०

प्रचण्डजी चियर्स ! देउवाजीले भन्नुभो ।

आज टेडी बियर डे रच । मैले टुबोर्ग बियर पो ल्याएछु । आउनोस् दन्काम् । ज्योतिषले आज बियर खाए प्रधानमन्त्री बनिन्छ भन्याछन् !

यता आउनुस् यता, प्रचण्डजी बोल्न नभ्याउँदै ओलीजीले तानेर पर लग्नुभो । सम्झाउनुभो, रौसी, बियर खानु हुन्न कामरेड ! कलेजो झिरिप हुन्च ।

० ० ०

आउनोस् कामरेड ’ आज हग डे रे । हामी हग गरौं ।

कामरेडहरु अँगालोमा बाँधिनुभो ।

हन कामरेड किन हाँस्नुभा ? ओलीजीले सोध्नुभो ।

कुर्सी सम्झेर काउकुती लाग्यो ! प्रचण्डजीले भन्नुभो ।

ओलीजीले भन्नुभो, कुर्सी सम्झिनु हुन्न, मती भ्रष्ट हुन्च । मार्क्सवाद सम्झिनुस्, लेनिनवाद सम्झिनुस्, भण्डारीज्यूको जबज सम्झिनुस्, मेरो राष्ट्रवाद सम्झिनुस् । कुर्सी म सम्झिन्छु । तपाईं नसम्झिनुस् । कुर्सी सम्झ्यो भने चित्त शुद्ध हुन्न । चित्त सुद्ध नभई साम्यवादमा पुग्न सकिन्न ।

० ० ०

आज प्रमिस डे रे कामरेड ! प्रचण्डजीले भन्नुभो, म पार्टी एकता गरी छाड्ने प्रमिस गर्दछु ।

म पनि पार्टी एकता गरी छाड्ने प्रमिस गर्दछु, ओलीजीले थप्नुभो, साथै अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने प्रमिस पनि गर्दछु

प्रचण्डजीले नि अड्डी लिनुभो, म पनि दुइटामध्धे एउटो कालले छोड्ला, नछोड्ने प्रमिस गर्दछु

० ० ०

आज किस डे रच,ू ओलीजीले प्रमको कुर्सीलाई चुम्नुभो र भन्नुभो, किस डे चुमेर मनाउनुपर्छ । अब पालो अध्यक्ष कुर्सीको ।

पख्नुस कामरेड ! प्रचण्डजीले रोक्नुभो, तपाईं जुठो नहाल्नुस् । त्यो मेरो हो ।

० ० ०

फेरि त्यही दिन अर्थात भ्यालेन्टाइन साङ्गेको अघिल्लो दिन महाशिवरात्रि परेछ । अब यो लालजोडी वामपन्थी सरकारको शिवबुटी फुइँक्याउँदै एकता आनन्द लिन्छन् कि पद बाँडफाँडको वैरागले एकतामोह भङ्ग भई चिम्टा, कमण्डलु बोकी बाबाजीको पछि लाग्छ्न्, जगको चासो यसैमा छ । कामरेडहरुको प्रणय दिवस नि यसैमा निर्भर छ । यस सुपरजोडीलाई हेप्पी भ्यालेन्टाइन डे ! (१२ खरी)

प्रतिक्रिया दिनुहोस्